प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
त्रिभूवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको आसन्न निर्वाचनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले देउवा सहित विद्यार्थी संगठनका पदाधिकारीलाई पनि आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका थिए।
सुरूमा संयुक्त बैठक बस्यो।
उक्त बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतका अनुसार, प्रधानमन्त्री ओलीले स्ववियू निर्वाचनको वातावरण राम्रो बनाउन आग्रह गरेका थिए।
सभापति देउवाले भने सरकारका कामकारबाही समस्यामुलक भएको उल्लेख गरेका थिए।
कांग्रेस सहमहामन्त्री महतका अनुसार, सरकारले आफ्ना नेताको नाम मेट्ने कोसिस गरेको, संवैधानिक परिषदका सदस्य रहने प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति विनै संवैधानिक निकायका प्रमुख सिफारिस गरेको र विपक्षीले संसद अवरोध गर्दा गर्दै जबरजस्ती चिकित्सा विधेयक पास गरेकोमा देउवाले आपत्ती जनाएका थिए।
'सभापतिज्यूले सरकारले प्रमुख प्रतिपक्षी दलसँग गरेको व्यवहार र हाम्रा भातृसंगठनका नेतालाई प्रहरीले गरेको ज्यादतिका विषयमा सभापति ज्यूले असन्तुष्टी व्यक्त गर्नुभो,' महतले भने, 'प्रधानमन्त्रीले भने आफु विधि र प्रकृयामा विश्वास गर्ने मान्छे भएको भन्ने कुरा गर्नुभो। खासै ठोस कुरा गर्नुभएन।'
सरकारले आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा तनहुँ र बाँकेमा खुलेका अस्पताल विघटन गरेको भन्दै कांग्रेसले संसद अवरूद्धमात्रै हैन ७७ जिल्लामै विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ। आफूले संसद अवरोध गरिरहँदा बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेपछि सरकारसँग कांग्रेस रूष्ट छ।
आफ्नो माउ पार्टीले गरेको घोषणालाई साथ दिँदै नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। सरकारका गतिविधिको विरोध गर्दै पछिल्लो समय नेविसंघ सडक आन्दोलनमा उत्रिएको छ। नेविसंघले सरकारविरुद्ध प्रर्दशन गर्ने, प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, मसाल जुलुस गर्नेलगायतका विरोध गर्दै आएको छ।
देउवा बोलेपछि नेविसंघ सभापति नैनसिंह महरले सरकारले नै द्वन्द निम्त्याएको बताएका थिए।
‘नेविसंघ महामन्त्रीलगायत विद्यार्थीको टाउको फुटाइएको छ। सरकारले द्वन्द्व निम्त्याएर स्ववियु चुनाव भाँड्दैछ, भन्ने कुरा राखेँ,' महरले सेतोपाटीसँग भने।
सरकार सुध्रिएर आए मात्रै स्ववियु निर्वाचनको वातावरण तयार हुने पनि उनले बताए।
विद्यार्थी नेताका गुनासा सुनेपछि विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले स्ववियु चुनावका लागि वातावरण तयार गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
फागुनमा स्ववियु चुवान गर्ने तयारी थाल्न त्रिविले क्याम्पसहरुलाई पत्राचार गरिसकेको छ।
संयुक्त बैठक पछि ओली र देउवाबीच वान टु वान बैठक पनि भएको थियो। उक्त वान टु वानमा समेत कुनै ठोस निष्कर्श ननिस्केको महतले बताए।
'उहाँले म कांग्रेसका नेताहरूको नाम मेट्ने काम गर्दिन अस्पताल सञ्चालनमा समस्या भएका कुरा पनि सुनेको छु भन्नु भयो रे,' महतले भने,'वान टु वानमा पनि ठोस कुरा भएन भन्ने सुनेँ।'