प्रदेश ५ सरकारले प्रदेश विकास परिषद् गठन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा विकास परिषद् गठन गरेको हो।
समितिमा प्रदेश सरकारका मन्त्रीहरू, सम्बन्धित मन्त्रालयका सचिवहरू, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सभाका विभिन्न समितिका सभापतिहरू, जिल्ला समन्वय समितिका सभापतिहरू, स्थानीय तहका १५ जना प्रमुख तथा समाजमा विशिष्ट योगदान पुर्याएका २५ जना विज्ञहरू सदस्य रहने प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।
बैठकले गुल्मीको रुरु गाउँपालिकाको केन्द्र र नाम तथा प्युठानको झिमरुक गाउँपालिकाको केन्द्र परिवर्तनका सम्बन्धमा सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएकोमा त्यसलाई संघीय सरकारमा सिफारिस पठाउने निर्णय गरेको छ।
गुल्मीको रुरु गाउँपालिकाको नाम रुरु क्षेत्र र केन्द्र घ्युबेँसीमा सार्ने र प्युठानको झिमरुकको वडा नम्बर ५ मच्छिबाट वडा नम्बर ४ भ्यागुतेमा सार्न सिफारिस गरिएको छ।
सोही बैठकले फागुन ३ गते प्रदेश स्थापना दिवस विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ।
स्थापना दिवस मनाउन मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा व्यवस्थापन, भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रवक्ता वैजनाथ चौधरीको संयोजकत्वमा प्रचार प्रसार समिति र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको संयोजकत्वमा प्रभातफेरी तथा स्थानीय व्यवस्थापन समिति गठन गरेको छ। यसअघि नै प्रदेश स्थापना दिवसमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ।