वाइड बडी जहाज खरिदमा भएको अनियमितताबारे गहिरो छानबिन गर्न नेपाली कांग्रेसले माग गरेको छ।
जहाज खरिद अनियमिततामा सभापति शेरबहादुर देउवाको नाम पनि जोडिएपछि कांग्रेसले वाइड बडी मुद्दा ओझेलमा पारेको आरोप लागेको थियो। देउवा प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयको पनि जिम्मेवारी लिएको र त्यसबेला जहाज खरिदमा संलग्न रहेको भन्दै समाचार आएका थिए।
बुधबार पत्रकार सम्मेलन गरेर कांग्रेसले जहाज खरिदमा भएको भ्रष्टाचारमा गम्भीर र गहिरो छानबिन गर्न सरकार तयार हुनुपर्ने बताएको छ।
'वाइड बडीमा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्ने समिति बनेको छ। त्यसले सत्यको जगमा उभिएर सत्यको खोजी गरोस्,' प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'अर्बौंको घोटालामा गम्भीर र गहिरो छानबिन हुनुपर्छ।'
कांग्रेसले संसद र सार्वजनिक रूपले वाइड बडीमा भएको भ्रष्टाचारबारे छानबिन गर्न सरकारसँग माग गर्दै आएको पनि उनले बताए।
वाइड बडी अनियमितताबारे खोजबिन गर्न कांग्रेस केन्द्रीय समितिमा छलफल गरी विधिवत माइन्युटसमेत गरेको शर्माको भनाइ छ।
'वाइड बडीबारे अध्ययन गर्ने, खोजबिन गर्ने, पत्ता लगाउने र दण्डित गरिने कर्मलाई केन्द्रीय समितिबाट माइन्युट पनि गरेका छौं,' प्रवक्ता शर्माले भने। सरकारले वाइड बडीमा भएको भ्रष्टाचारबारे तदारुकताका साथ छानबिन नगरे माघ २१ गते देशैभर हुने प्रदर्शनबाट पुन: आवाज उठाउने उनले बताए।
दुई तिहाइ समर्थनप्राप्त सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले 'भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ' भने पनि भ्रष्टाचार नरोकिएको भन्दै शर्माले प्रश्न गरे, '३३ किलो सुन काण्डका दोषी कहाँ गए?' बूढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीबाट बनाउन सक्ने राष्ट्रिय योजना आयोजका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले संयोजकत्वको कार्यदलले दिए पनि सरकारले चिनियाँ कम्पनीलाई दिएकोमा निर्णय सच्याउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
'रहस्यमयी ढंगले, एकाएक, रातारात प्रधानमन्त्रीज्यूलाई कुन दिव्य ज्ञान प्राप्त भयो र बूढीगण्डकी आयोजना चीनको गेजुवा कम्पनीलाई दिनुभयो?,' शर्माले प्रश्न गरे, 'नेपालीले डिजेल, पेट्रोलबाट ५ रुपैयाँका दरले संकलन गरेको अर्बौं पैसाबाट बूढीगण्डकी बनाउने क्षमता हुँदाहुँदै किन चीनलाई दिइयो? यसभित्र केही न केही घोटाला छ।'
निजगढ विमानस्थल छिटो बनाउनुपर्ने पक्षमा कांग्रेस रहे पनि अनावश्यक रूख काट्न नहुने शर्माले बताए।
'जति काट्न आवश्यक छ त्यति संख्यामा मात्रै रूख काटिनुपर्छ। दोब्बरभन्दा धेरै रूख काट्ने प्रस्ताव अस्वीकार्य छ,' उनले भने।
३३ किलो सुन काण्डमा गृहमन्त्रीले ठूला माछा फेला पर्ने बताए पनि ती ठूला माछा पक्राउ गर्न नसकेकोमा कांग्रेसले सरकारको आलोचना गरेको छ।
'३३ किलो सुन काण्डका ठूला माछा कुन ओढारभित्र लुकाइएको छ?,' शर्माले प्रश्न गरे, 'खोज्नलाई प्रतिपक्षले सहयोग नगरेको पो हो कि? कसको असहयोगले नभेटिएको हो?'
प्रदेश ५ को प्रदेशसभा सचिवालयले गाडी खरिदमा गरेको अनियमितता पनि छानबिन गर्न कांग्रेसले माग गरेको छ।
'गाडी खरिद गर्दाका कागजात अख्तियारलाई पनि उपलब्ध गराइएन भन्ने सूचना आएको छ,' उनले भने, 'अध्ययन गरेर कडिकडाउ कारबाही गरियोस्।' खरिद गरेका ११ गाडीमध्ये प्रतिपक्षी दलका नेता बलदेव पोखरेलले चढ्ने गाडी छानबिनका लागि सहयोग गर्न भन्दै फिर्ता गरिसकेको पनि उनले बताए। संघीयताको सफल कार्यान्वयन गर्न सरकारले ढिलासुस्ती गरेको कांग्रेसको आरोप छ।
'प्रदेशको राजधानी, नाम टुंगो भएको छैन। शक्तिको बाँडफाँट गर्नेलगायत विषय अधुरा छन्,' उनले भने, 'सिडियोले गृहमन्त्रीको कि मुख्यमन्त्रीको आदेश मान्नुपर्ने हो अझै टुंगिएन।'
प्रधानमन्त्री ओलीको कम्युनिष्ट राजनीतिक दर्शनको स्कुलिङले शक्तिलाई केन्द्रीकृत गरेको कांग्रेसको आरोप छ।
'प्रधानमन्त्रीजीमा शास्त्रीय धङ्धङ्ती भएर संघीयता कार्यान्वयन गर्न सरकार अगाडि नबढेको हो कि भन्ने ठहर हाम्रो छ,' प्रवक्ता शर्माले भने।
एक वर्षको अवधिमा सरकारले गरेका नराम्रा कामबारे ७७ जिल्लामै माघ २१ मा प्रदर्शन गर्ने उनले बताए।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ महिनामा पनि दोषी पत्ता नलगाएको, भ्रष्टाचार, हत्या, हिंसा र मूल्यवृद्धि बढेकोलगायत मुद्दामा देशव्यापी विरोध गर्ने उनले बताए।
सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताल पुन: केन्द्रमार्फत् राख्ने निर्णय गरेको भन्ने समाचार आए पनि कांग्रेसलाई औपचारिक जवाफ नआएको उनको भनाइ छ।
संसद अवरूद्ध गर्ने माग सरकारले पूरा गरिदिएछ अब के गर्नुहुन्छ? भन्ने प्रश्नमा प्रवक्ता शर्माले भने, 'अस्पतालको निर्णय सच्याएको जानकारी आएको छैन। संसदमा उठ्ने कि बस्ने भन्ने निधो पछि गरौंला।'