राष्ट्रिय सभाले बिहिबार नै चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ।
सामान्यतया विधेयकहरू दफावार छलफलका लागि समितिमा पठाउने चलन छ। तर चिकित्सा शिक्षा विधेयक भने विधायन व्यवस्थापन समितिमा नपठाइ राष्ट्रिय सभाको पूर्ण बैठकमै छलफल गराएर पारित गर्न लागिएको हो।
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत गोविन्द केसीको माग वेवास्ता गर्दै सरकारले विधेयक अगाडि बढाउन लागेको हो।
चिकित्सा शिक्षा विधेयक आफूसँग भएको सम्झौताविपरीत आउन लागेको भन्दै डाक्टर केसी १६ औं अनसनमा छन्।
प्रतिनिधि सभामा नाराबाजीबीच पारित भएको विधेयक राष्ट्रिय सभामा समेत छोटो प्रक्रियाबाट अगाडि बढाउन लागिएको हो।
राष्ट्रिय सभाको कार्यसूचीमा समेत बिहिबार नै विधेयक पारित गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रस्ताव पेश गर्ने उल्लेख छ। विधेयक समितिमा पठाइए संशोधनकर्ताहरूसँग समितिले छलफल गर्नेछ। तर पूर्ण बैठकमै विधेयक अगाडि बढ्दा संशोधनकर्ताहरूले धारणा पनि पूर्ण बैठकमै राख्नेछन्। साथै, उनीहरूका संशोधन निर्णयार्थ पेश हुनेछ। नेकपाको स्पष्ट बहुमत रहेको अवस्थामा राष्ट्रिय सभामा विधेयक परिमार्जनको सम्भावना छैन।
राष्ट्रिय सभाका सांसदहरूले चिकित्सा शिक्षा विधेयकमा बिहिबार साढे १२ बजेसम्म संशोधन दर्ता गर्न पाउनेछन्।
नेकपाका सांसदहरूले विधेयक छिटो छिटो अगाडि बढाउने भन्दै कुनै पनि संशोधन दर्ता नगर्ने भएका छन्। नेकपाका एक सांसदले सेतोपाटीसँग भने, ‘हामी त छिटो छिटो विधेयक पारित होस् भन्ने चाहन्छौं। हाम्रो पार्टीका तर्फबाट कसैको पनि संशोधन दर्ता हुँदैन।’
नेपाली कांग्रेसले पनि आफूहरूको संसदमा विरोध रहेको उल्लेख गर्दै बुधबारसम्म कुनै पनि संशोधन दर्ता गराएको छैन।
तर सरकारले गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा स्थापित अस्पताल केन्द्र मातहत राख्ने निर्णय गरेसँगै कांग्रेसको संसदमा अवरोध हट्ने भएको छ।
‘हामी विरोधमा भएकाले संशोधन नराख्ने निर्णय गरेका थियौं। तर अब अवरोध हट्ने भएकाले हामी भोलि बिहानै संशोधन दर्ता गराउँदै छौं’, कांग्रेसका एक सांसदले सेतोपाटीसँग भने।
राष्ट्रिय सभाको विधेयक शाखामा चिकित्सा शिक्षा विधेयकमाथि हालसम्म एकमात्र संशोधन दर्ता भएको छ।
राजपाका वृषेशचन्द्र लालले विधेयकमाथि संशोधन दर्ता गराएका हुन्।
‘विधेयकमाथि धेरै संशोधन दर्ता गराएर हामी विधायन समितिमा ल्याएर परिमार्जन गर्ने प्रयास गर्नेछौं’, कांग्रेस सांसदले सेतोपाटीसँग भने।
तर राष्ट्रिय सभामा नेकपाका सांसदले भने बिहिबार साँझसम्म चिकित्सा शिक्षा विधेयक पारित हुने जानकारी दिए।
‘भोलि साँझसम्म विधेयक पारित हुन्छ’, ती सांसदले भने, ’राष्ट्रपतिले पनि पारित भएलगत्तै विधेयक प्रमाणिकरण गर्नुहुन्छ।’
राष्ट्रिय सभाको बैठक बिहिबार २ बजे बस्दैछ।