सभामुख कृष्णबहादुर महराले बुधबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक सुरू गरे।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु बसेको कुर्सीबाट जर्याकजुरूक उठे।
सभामुख महराले सोधे- माननीय सदस्यहरूको विरोधको कार्यक्रम त मलाई सिध्दिसकेकोजस्तो लाग्छ। कोही बोल्न चाहनुहुन्छ?
त्यसपछि उनले सांसद मीनेन्द्र रिजाललाई बोल्न समय दिए।
रिजालले आफ्ना नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामका खुलेका अस्पताल केन्द्रबाट सरकारले हटाउन खोजेको पूरानै कुरा दोहोर्याए।
उनले सदन अवरोध गरेपछि सरकारले दुइटा अस्पताल पुन: केन्द्र मातहत ल्याएको उल्लेख गरे।
रिजालले चिकित्सा शिक्षा विधेयक परिमार्जन हुनु पर्ने बताए। अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गरे।
रिजाल यतिमा रोकिएनन्। सरकारले सीमा नाघेर परराष्ट्र नीतिमा बोलेको उनले आरोप लगाए। भेनेजुयलाबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै रिजालले दुनियाँलाई लल्कार्दै सत्ता हिँडेको बताए।
रिजालले नेकपालाई ब्यंग गरे। चुनावअघि मिलेका एमाले र माओवादीले चुनावमा अपार सफलता पाएको प्रसंग निकालेर रिजालले एउटा गीत सुनाए।
रिजालले गाएको गीत यस्तो थियो- नयाँ-नयाँ जवानी छ नयाँ-नयाँ रंग, प्रधानमन्त्रीजी आफ्नो रूप हेरी आफैं हुनुहुन्छ दंग।
सांसद रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ब्यंग गरे। ‘हरेक दिन ऐनामा हेरेर क्या गजब छु। क्या गजबसाथ देश चलाइरहेको छु भनेर प्रधानमन्त्रीजी दंग हुनुपर्छ। यो बाटोबाट चल्दैन। लोकतन्त्रको बाटो होइन,’ उनले चेतावनीको शैलीमा भने, ‘इतिहासको हेरू-आफ्नो रूप हेरेर दंग पर्नेहरू अन्तत अधिनायकवादको बाटो लिएर आएका छन्। अधिनायकको बाटोमा सरकारलाई हामी हिँड्न दिने छैनौं।’
डाक्टर केसीको जीवन रक्षा गर्न उनले सरकारसँग माग गरे। सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको नाम नलिई रिजालले भने, ‘सरकारका एउटा मन्त्री केसीसँग किन कुरा गर्ने भन्नुहुन्छ। सरकार गृहमन्त्रीको आलोचना गर्नेलाई पर्चा तारिक बुझाउँछ। मन्त्रीजीको वाक र प्रकाशन स्वतन्त्रता त्यही होला। प्रेस र अभिव्यक्ति स्वतन्त्रता त्यही होला।’
सरकारको आलोचनामा उनले थप शब्द खर्च गरे।
‘डाक्टर केसीसँग वार्ता गर्दा दुई तिहाइको अहंकार र दम्भको शासनको शिर झुक्छ भन्ने लागेको होला। सरकार ठीक बाटोमा छैन। निर्मलाको हत्यारा पत्ता लागेको छैन।’
सरकारको आलोचनापछि रिजालले सभामुख महराले खेलेको भूमिकाको पनि विरोध गरे।
‘सभामुख सभाको अनुहार हो। सभामुखज्यू उच्च आसनमा हुनुहुन्छ। उचाइ अहमका लागि होइन टाढासम्म देखियोस् भन्ने हो। सानो आवाज सुन्न सकियोस् भन्ने हो,’ रिजालले भने।
माघ ११ गते अवरोधकाबीच पनि चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न दिएको भन्दै कांग्रेसले सभामुखले टतस्थ भूमिका खेल्न नसकेको आरोप लगाउँदै आएको छ।
रिजालले दुइटा अस्पताल केन्द्रमै राख्ने निर्णय सरकारले सच्याए पनि चिकित्सा शिक्षा विधेयक परिमार्जन र डाक्टर केसीको जीवन रक्षा गर्ने काम बाँकी नै रहेकोले सदन अघि बढ्न नदिने अडान राखे।
२४ मिनेट बोलेका रिजालले अन्तिममा संवादबाट काम थाल्न र चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्नका लागि सत्ताले सहयोग गर्ने विश्वास गर्दै आफ्ना कुरा सिध्याए।
त्यसपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले केही बोल्न खोजे तर माइक खुला थिएन। सभामुख महराले सुवाललाई आफू बोलेपछि र प्रतिपक्षी दलका सांसद बसेपछि बोल्न समय दिने भन्दै बस्न भने। सुवाल बसे तर कांग्रेस सांसद उठिरहे।
सभामुख महराले कांग्रेसलाई सम्झाउन खोजे। ‘यसरी मूल मुद्दा अस्पतालको निर्णय अनुकुल भएको मैलै पाएको छु। सरकारले गरेको सकारात्मक निर्णयमा खुसीसाथ उठ्नुभएको हो कि के हो मान्य सदस्यहरू?’
मुसुक्क मुस्कुराउँदै सभामुखले थपे, ‘खुसीको बेलामा उठिराख्नुपर्दैन। बस्नुभए हुन्छ।’
तर सांसद रिजाल भने उठेकै ठाउँबाटै फेरि बोल्न थाले।
सभामुख महराले ११ गते नै चिकित्सा शिक्षा पास भइसकेको र पास भइसक्या विषयमा फेरि उठाइराख्नुपर्ने आवश्यकता नभएको बताए।
उनले पटक पटक कांग्रेस सांसदलाई बस्न आग्रह गरे पनि उनीहरु उभिरहे। सभामुखले ब्यंगको शैलीमा भने, ‘सरकारले गरेको निर्णयप्रति खुसी नै मनाएको हो उहाँहरूले। मान्य सदस्यहरू अब त विरोध पुग्यो कि।’
प्रतिपक्षीले उठेर विरोध हो कि समर्थन गरेको आफूले बुझ्न नसकेको सभामुखको भनाइ थियो।
प्रतिपक्षी दलले उठाएका सदन र सरकारसँग सम्बन्धित विषय गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सभामुख महराले सदनको बाँकी कारबाही अघि बढाउन सहयोग गर्न फेरि आग्रह गरे- मान्य प्रेम सुवाल र विरोध खतिवडाले समय मागेकोले समय दिनुपर्ने छ। विशेष आग्रह गर्छु बस्नुहोस् मान्य सदस्यहरू।
र पनि कांग्रेस सांसद उभिरहे।
प्रतिपक्षी सांसदलाई पटक-पटक आग्रह गरेपनि उभिइरहे पछि सभामुखले भने, ‘कति मिनेटपछि बस्ने भन्ने थाहा पाउन पाए त्यहीअनुसार प्रतिक्षा गर्थें।’
कांग्रेस सांसदहरू उभिइरहे।
धेरै पटक अनुरोध गर्दा प्रतिपक्षी दलका सांसद बस्न नमानेको भन्दै सभामुख महराले माघ २० गते दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरे।