बिहिबार राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक पारित गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रस्ताव गरे।
उनले पक्षमा हुने सांसदहरूलाई ‘हुन्छ’ भनेर ध्वनी मत दिन आग्रह गरे भने विपक्षमा हुने सांसदहरूलाई ‘हुन्न’ भनेर ध्वनि मतका लागि आग्रह गरे।
सत्तापक्षका सांसदहरूले ‘हुन्छ’ भनेर ध्वनि मत दिए। तर, ‘हुन्न’ भनेर एक जना सांसदले पनि मत दिएनन्।
सामान्य अवस्थामा अध्यक्षले ‘हुन्न’ भन्ने आवाज नआउँदा विधेयक सर्वसम्मत भएको घोषणा गर्छन्। तर, ‘हुन्न’ भन्ने आवाज नआउँदा समेत बिहिबार विधेयक बहुमतले मात्र पारित भयो।
कारण हो-कांग्रेसका सांसदहरू आफ्नो स्थानमा उभिरहनु।
नेपालको संसदीय व्यवस्थामा बिहिबार नयाँ नजिर कायम भएको छ। प्रतिपक्षको अवरोधका बीचमा बिहिबार चिकित्सा शिक्षा विधेयक पारित भएको हो।
बिहिबारको राष्ट्रियसभा बैठकमा कांग्रेस सांसदहरूले आफ्नो असन्तुष्टि जनाएपछि पनि आफ्नो स्थान छाडेनन्।
उनीहरूले न नारा लगाए, न वेल घेराउ गरे। उनीहरूले बैठक पनि बहिष्कार गरेनन्। बरु आफ्नो स्थानको ठीक अगाडि बैठक अवधिभर उभिरहे।
एक घण्टा पाँच मिनेटसम्म चलेको राष्ट्रिय सभामा उनीहरूले यथास्थानमा उभिएर विरोध प्रकट गरेका हुन्। जसका कारण विधेयक पारितका लागि भएको मतदानमा समेत विधेयक सर्वसम्मत हुन सकेन।
नेपालको संसदीय व्यवस्थामा प्रतिपक्षीहरूले वेल घेराउ, नाराबाजी, बैठक बहिष्कार गर्दै आएका छन्। तर, राष्ट्रिय सभामा बिहिबार प्रतिपक्षी सांसदहरूले उभिएरै विरोध जनाए।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चिकित्सा शिक्षा विधेयक छलफलका लागि पेश गर्दा पनि उनीहरू उभिरहे। मन्त्रीले विधेयक छलफलमा पेश गरे।
संशोधनकर्ता वृषेशचन्द्र लालले आफ्नो संशोधनमाथि धारणा राखे। तर, कांग्रेसका संशोधनकर्ताहरू भने धारणा राख्न रोष्ट्रममा गएनन्। कांग्रेसका तर्फबाट राधेश्याम अधिकारी र सरिता प्रसाईले संशोधन दर्ता गराएका थिए। तर अध्यक्षले डाक्दा समेत उनीहरू रोष्ट्रममा चढेनन्। बरु आफ्नो संशोधन बैठक अवरोध भएको अवस्थामा पेश नगर्ने तर्क गरे।
बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिए।
उनले विधेयकमा भएको व्यवस्था व्याख्या गर्न समय लगाए। पोखरेलले समय लगाएपछि कार्यव्यवस्थामा रहेका कर्मचारीले ‘छिटो गर्न’ चिट समेत दिए। प्रतिपक्षी सांसदहरू उभिँदा खुट्टा गलेर लखतरान देखिएका थिए। यद्यपी शालिन विरोधले संसदीय व्यवस्थामा नयाँ नजिर बसेको छ।