प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणको विषयमा मंगलबार सभामुख पूर्ण बहादुर घर्ती र विपक्षी प्रदेशसभा सदस्यबीच भनाभन भएको छ।
विपक्षी दलका नेता बलदेव शर्माले प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणको विषय टुंगो नलाग्दासम्म संसद चल्न नदिने अडान लिए पनि सभामुख घर्तीले नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकाललाई समय उपलब्ध गराएर बोल्न दिएपछि विपक्षी दलका प्रदेशसभा सदस्य र सभामुख घर्तीबीच झण्डै पाँच मिनेट भनाभन भएको थियो। होहल्ला बढी भएपछि सचेतक ढकालले बीचैमा प्रदेशसभाको सम्बोधन छोडेका थिए।
प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न यसअघि नै गठन भएको विशेष समितिले सक्रियतापूर्वक काम नगरेको भन्दै कांग्रेसले बैठक अगाडि नबढाउन सभामुखलाई आग्रह गरेको थियो।
मंगलबार दिउँसो १ बजेर २० मिनेटमा बैठक सुरू भएलगत्तै कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले समितिले स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्नुको साटो जालझेल गरेर लम्बाउन खोजेको भन्दै बैठक अगाडि नबढाउन आग्रह गरेका थिए।
नेपाली कांग्रेसका सदस्यहरू नाराबाजीमा उत्रदै अगाडि बढ्न खोजेपछि मर्यादापालकहरूले रोकेका थिए।
होहल्ला गर्दै विपक्षी दलका प्रदेशसभा सदस्य रोष्ट्रममा उभिएकाबेला सभामुख घर्तीले आसन ग्रहण गर्न आग्रह गरेका थिए।
विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहको वेवास्ता गर्दै आसन ग्रहण नगरेपछि सभामुख घर्तीले २४ गते दिनको १ बजेको लागि अर्को बैठक बस्ने जानकारी गराउँदै मंगलबारको बैठक स्थगित भएको घोषणा गरेका थिए।
सभामुख घर्तीले बैठकको एजेण्डामा नभएको विषयलाई लिएर प्रदेशसभा अवरोध गर्न नहुने भन्दै सहमतिको विन्दुमा पुग्नुपर्ने बताएका थिए।
सभामुख घर्तीले सत्तापक्षको धारणा आएपछि मात्रै विषयको टुंगो लाग्ने उल्लेख गर्दै स्थायी राजधानीको विषय राजनीतिक दलको विषय भएको बताए।
नेकपाका सचेतक भूमिश्वर ढकालले राजधानी कहाँ बनाउने भन्ने विषय राजनीतिक भए पनि प्रदेशसभाले टुंगो लगाउने बताए ।
प्रदेशसभाले स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न दीपेन्द्रकुमार पुनको संयोजकत्वमा समिति गठन भएको थियो।
सुझाव संकलन गर्न गठित १५ सदस्यीय समितिमा रूकुम पूर्व, नवलपरासी र बाँके जिल्लाका प्रतिनिधिहरू छैनन्। समितिमा सबै जिल्लाका सांसदहरूको प्रतिनिधित्व गराउन समितिले तयारी गरेको छ ।
कांग्रेसले यस अगाडि माघ १८ गते पनि डा. गोविन्द केसीको जीवनरक्षा र निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै बैठक अवरूद्ध गरेको थियो ।