गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन्।
प्रतिनिधि सभाले बुधबार गृहमन्त्री थापासँगको प्रश्नोत्तर कार्यसूचीमा राखेको छ।
कांग्रेस सांसद डिला संग्रौलाले ‘निर्मला पन्तको हत्यारा पक्राउ नपरेको’ विषयमा मौखिक प्रश्न दर्ता गराएकी थिइन्। सोही प्रश्नमाथि थापाले जवाफ दिन लागेका हुन्। तर सम्बन्धित विषयमा सांसदहरूले पुरक प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधि सभा नियमावलीले गरेको छ।
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पनि सांसदहरूले गृहमन्त्रीलाई पुरक प्रश्न सोध्न पाउनेछन्।
थापाले ती प्रश्नमाथि जवाफ दिनेछन्। संसद सचिवालयले बुधबार गृहमन्त्रीसँगै अर्थ, वन र महिला तथा बालबालिका मन्त्रालयका विषयमा सांसदहरूले दर्ता गराएको प्रश्नमाथि जवाफ दिने कार्यक्रम राखेको छ।
गृहमन्त्रालयसँग सम्बन्धित चार विषयमा मन्त्री थापाले बुधबार जवाफ दिन लागेका हुन्।
भक्तपुरमा एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरिएको विषयमा प्रहरीले गरेको इकाउन्टरका विषयमा समेत थापाले संसदमा जवाफ दिँदैछन्। कांग्रेस सांसद देवेन्द्र कँडेलले उक्त विषयमा प्रश्न दर्ता गराएका थिए।
प्रहरी इकाउन्टरमा भक्तपुरको सूर्यविनायक जंगलमा अजय र गोपाल तामाङको मृत्यु भएको थियो। स्थानीयवासीले प्रहरीले दुवैलाई कोठाबाट जंगलमा पुर्याएर हत्या गरेको बताएपछि इकाउन्टर फेक भएको भन्दै प्रश्न उठेको थियो।
गृह मन्त्रीले ‘फेक इकाउन्टर’ नगरिएको दाबी गर्दै आएका छन्।
त्यस्तै, गृह मन्त्रालयसँग सम्बन्धित अन्य दुई प्रश्नमा पनि थापाले जवाफ दिँदैछन्। अछामको मंगलसेनका नमराज विष्टको हत्यारा पक्राउ नपरेको विषय र मोरङ लेटाङको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको अनुसन्धानका विषयमा समेत थापाले संसदमा जवाफ दिन लागेका हुन्।
त्यस्तै, अर्थमन्त्री युवराज खतिवडाले नेपालका बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना कर्मचारी र डिलरलाई विदेश भ्रमणमा पठाउँदा विदेशी मुद्रा बाहिरएको भन्दै रोक्न भैरहेको पहलबारे जवाफ दिँदैछन्। कांग्रेस सांसद डिला संग्रौलाले जवाफ माग्दै प्रश्न दर्ता गराएकी थिइन्।
त्यस्तै, कांग्रेसका दिलेन्द्र बडुले स्थानीय तहमा बैंकको शाखा नपुगेको विषयमा प्रश्न दर्ता गराएका थिए। खतिवडाले त्यसमाथि पनि जवाफ दिनेछन्। वन मन्त्रालयलाई भने नेकपाका सांसद खगराज अधिकारीले पोखरामा प्राणी उद्यान बनाउने योजनाबारे प्रश्न दर्ता गराएका थिए। प्रश्नमा वन मन्त्री शक्ति बस्नेतले जवाफ दिनेछन्।
सांसद सरिता न्यौपानेले हिंसा पीडित महिलाका लागि सातै प्रदेशमा आवास निर्माणको प्रगति माग्दै प्रश्न दर्ता गराएकी थिइन्। जसमा महिला तथा बालबालिका मन्त्री थममाया थापाले जवाफ दिनेछिन्।
संसद सचिवालयले प्रतिनिधि सभामा नियमित प्रश्नोत्तर गराउने तयारी गरिरहेको छ। तर मन्त्रालयका मन्त्रीहरूले समय नमिलेको भन्दै प्रश्नोत्तर टार्ने प्रयास गर्दै आएका छन्।
हालसम्म संसद सचिवालयमा ८८ वटा मौखिक प्रश्न दर्ता भएका छन्। जसमा मन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्नेछ। त्यस्तै, सचिवालयमा हालसम्म २८ वटा लिखित प्रश्न दर्ता छन्। सबभन्दा धेरै लिखित प्रश्न सांसद प्रेम सुवालको छ।
उनले विभिन्न मन्त्रालयसँग सम्बन्धित १६ प्रश्र दर्ता गराएका छन्। २०४८ र २०५१ को संसदमा प्रश्नोत्तरको व्यवस्था हुने गरेको थियो। तर संविधानसभाको अवधिभर संसदमा प्रश्नोत्तर भएन।
नयाँ निर्वाचनपछि पुन: संसदमा प्रश्नोत्तर सुरू गरिएको हो। संसद बैठक बुधबार १ बजे बस्दैछ।