नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संस्था अखिल (क्रान्तिकारी) ले गरेको शैक्षिक हड्तालले बिहीबार देशभरका अधिकांश शिक्षण संस्था बन्द रहे।
प्रहरी नियन्त्रणमा रहेका आफ्नो संगठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई बिना शर्त रिहाइको माग गर्दै अध्यक्ष चिरञ्जीवी ढकालले विज्ञप्ति जारी गर्दै शैक्षिक हड्तालको घोषणा गरेका थिए।
विद्यार्थी विभागसमेत हेरिराखेका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्रलाई प्रहरीले माघ १७ गते मोरङबाट हतियारसहित नियन्त्रणमा लिएपछि उनको रिहाइको माग गर्दै अध्यक्ष ढकालले माघ १८ गते विज्ञप्ति निकालेर रिहाइ गर्न माग गरेका थिए।
प्रहरीले आफ्ना कोषाध्यक्षलाई रिहाइ नगरेको विरोधमा पूर्व निर्धारित कार्यक्रमअनुसार बिहीबार सरकारी तथा निजी विद्यालय र क्याम्पसमा पठनपाठन ठप्प गराएको हो।
क्रान्तिकारीले शैक्षिक आमहड्तालको चेतावनी दिएको पाँच दिनपछि विद्यालय र क्याम्पस बन्द भए।
नेकपा र क्रान्तिकारीले यो वर्ष मात्रै पटकपटक बन्द गर्दा शैक्षिक संस्था, यातायात र अन्य क्षेत्रमा प्रभाव पारेको छ।
माघ ५ मा विप्लव नेतृत्वको नेकपाले कार्यकर्ता रिहाइको माग गर्दै सुर्खेतमा दुइटा गाडीमा आगजनी गरे। चामल बोकेको ना ६ ख ७३१३ नम्बर र इटा बोकेको ना ४ ख १७३२ नम्बरको ट्रकमा आगजनी गरेर क्षति पुर्याइदिए।
प्रवक्ता विश्वकर्मालाई प्रहरीले पक्राउ गर्दै अदालतले छाड्दै पुन: पक्राउ गर्ने श्रृंखला जारी रहँदा साउन २९ मा नेकपाले देशभर बन्द गर्यो। बन्दको निशाना यातायात र शैक्षिक संस्था परे।
नुवाकोट शिवपुरी बोहरे खोलामा बा ४ ख ८५१६ नम्बरको ट्रक जलाइदिए। नवलपरासीको भृकुटीचोकमा ना २ ख ८४८७ र ना २ ख २५८४ नम्वरका ट्रकमा आगजनी भयो।
नेकपाले जिल्ला बन्द पनि गर्ने गरेका छन्। पार्टीका रोल्पा सेक्रेटरी सन्तोष सुवेदीको रिहाइको माग गर्दै असोज १० मा रोल्पा बन्द गर्दा सवारी साधन चलेनन्।
साउन २९ मा पनि नेकपाले नेपाल बन्द गरेको थियो। त्यसबेला बन्दकर्ताले मकवानपुर थाहा नगरपालिका ११ देउरालीमा स्कुल बस पेट्रोल हालेर जलाइदिएका थिए।
चितवन अध्यक्ष रमेश लामिछाने, सदस्य सरोज भट्टराईलाई प्रहरीले पक्राउ परेको बिरोधमा रिहाइको माग गर्दै असारमा क्रान्तिकारीले चितवन बन्द गरेको थियो। त्यसबेला पनि शैक्षिक संस्था र यातायात चलेनन्, बजार खुलेन।
नेकपाले यो वर्षको सुरूमै पनि बन्द आह्वान गरेको थियो। वैशाख ३० मा गरेको बन्द अवज्ञा गरेको भन्दै धादिङको धुनीबेशी चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुइटा ट्रकमा आगजनी गरे भने भरतपुरको भाटभटेनीमा बम हानेका थिए।
यी सबै बन्द र हड्ताल नेता रिहाइको नाममा गरिएका छन्। विद्यालयलाई २०६८ जेठ ११ मा शान्ति क्षेत्र घोषणा गरे पनि राजनीतिक दलले आफूअनुकूलका माग राख्दै शैक्षिक संस्था बन्द गरेका छन्।
बिहीबार प्याव्सन, एनप्याव्सनअन्तर्गत रहेका र सरकारी विद्यालय तथा क्याम्पसहरू अधिकांश बन्द हुँदा विद्यार्थी पढ्नबाट बञ्चित रहे।
एनप्याव्सनका अध्यक्ष राजु सापकोटाले पठनपाठन रोकिने गरी बन्द हड्ताल गर्नु दुखद भएको बताए।
‘डरले आफैं विद्यालयहरु बन्द भए,’ उनले सेतोपाटीसँग भने, ‘संस्थागत रूपमा हामीलाई हड्ताल छ भन्ने जानकारी पनि थिएन। एउटा विज्ञप्तिको भरमा विद्यालय बन्द भयो।’
शैक्षिक हड्ताललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर रूपमा नलिँदा मारमा शैक्षिक संस्था पर्ने गरेको उनले बताए।
‘पाँच दिन अघि विज्ञप्ति निकालेर माग राखेका रहेछन् तर सरकार, शिक्षा मन्त्रालयले विद्यालय खोल्ने वातावरण सिर्जना गरिदिएन,’ उनले भने, ‘बन्द भनिसकेपछि सुरक्षाका कारण पनि जोखिम लिएर पठनपाठन गर्न समस्या हुन्छ।’
बालबालिका र विद्यालय शान्ति क्षेत्र घोषणा गरे पनि कार्यान्वयन नभएकोमा उनले असन्तुष्टि जनाए।
‘बन्द गर्ने प्रवृत्तिमा सुधार आएन। आफ्ना माग पूरा गर्न विद्यालय बन्द गर्ने प्रवृत्ति हट्नुपर्छ,’ उनले भने,‘विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गर्न नसक्ने हो भने खारेज गरे भइगो।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले क्रान्तिकारीले शैक्षिक हड्ताल गरेको भन्ने बिहीबार बिहानसम्म मन्त्रालयलाई जानकारी नभएको बताए।
‘हामीले दिउँसोमात्रै विद्यालय खुलेनन् भन्ने सुन्यौं, यसबारे जानकारी नै थिएन,’ अर्यालले सेतोपाटीसँग भने, ‘हड्तालले गर्दा केही विद्यालय खुले केही खुलेनन्।’
नेता गिरफ्तारीको विषयमा लिएर विद्यालय बन्द गर्नु दुखद भएको उनले बताए। ‘राजनीतिक विषयलाई लिएर पढाइ बन्द गर्न नहुने हो गरिएछ यो दुखद हो,’ उनले भने, ‘पढ्न पाउने हकलाई बञ्चित गरिनु हुन्न। शैक्षिक हड्ताल स्वीकार्य हुने विषय पनि होइन।’
बालबालिका र विद्यालय शान्ति क्षेत्र घोषित भए पनि राजनीतिक दल र तीनका कार्यकर्ताले इमान्दारिता प्रस्तुत गर्न नसक्दा कार्यान्वयन गर्न नसकिएको उनले स्वीकारे।
‘शैक्षिक हड्ताल गर्ने संगठन कुनै न कुनै रूपमा शान्ति क्षेत्र घोषणा गर्दाका बेला हस्ताक्षर गरेका थिए,’ उनले भने, ‘आफ्नै प्रतिवद्धता र हस्ताक्षर भुलेर हड्ताल गर्नु राम्रो भने होइन।’
मुलुकमा सरकारी र निजी गरी ३६ हजार हाराहारीमा विद्यालय छन्। कक्षा १ देखि १२ सम्म ७३ लाख विद्यार्थी छन्। सरकारी र निजी स्तरबाट खुलेका क्याम्पसमा पनि लाखौं विद्यार्थी अध्ययनरत छन्।