प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा खटिएका मर्यादापालक फेरबदलमा प्रदेश सरकारको भूमिका नरहेको स्पष्ट पारेका छन्।
बिहिबार प्रदेश सभाको बैठकमा चालू अधिवेशनका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री केसीले मर्यादापालक संघीय सरकारमार्फत् सम्बन्धित अड्डाले प्रदेश सभामा खटाएको भन्दै मर्यादापालक राख्ने वा हटाउने विषय प्रदेश सरकारको नभएको स्पष्ट पारेका हुन्।
गत माघ ७ गते मर्यादापालक भुइँमै सुत्न बाध्य भएको गुनासोसहित समाचार सार्वजनिक भएपछि मिडियामा गुनासो गरिएको भन्दै सह मर्यादापालक प्रकाश मल्ल र यज्ञ बहादुर खत्रीलाई प्रदेश सभाबाट दंगा प्रहरी नियन्त्रण गण एवं प्रदेश सभा सुरक्षा तथा समन्वयन ईकाइमा फिर्ता पठाइएको थियो।
सांसद बसुरुद्दिन खाँनले सभाको बैठकमा मर्यादापालकले गुनासो गरेकै कारण फिर्ता पठाएकोबारे सरकारको जवाफ माग गरेका थिए। मन्त्री केसीले मर्यादापालक राख्ने वा हटाउने कार्यक्षेत्र संघीय सरकारमार्फत् सम्बन्धित अड्डाले गर्ने बताए।
त्यस्तै विशेष समयमा बोल्दै सांसद ईन्द्र प्रसाद खरेलले प्रतिपक्ष नेपाली कांग्रेसले संसदीय मूल्यमान्यता भुलेको बताए।
प्रदेश सभाको तेस्रो अधिवेशन अन्तर्गत १३ औं र १४ औं बैठकमा कांग्रेसले संसदमा वर्गीय चेतना देखाएको समेत उनले बताए।
उनले सभाको रोष्ट्रममा उभिएर जिन्दावाद मुर्दावादको नारा लगाएर प्रतिपक्ष गैरजिम्मेवार बनेको बताए।
उनले प्रदेश सभा तानाशाहले नचलाएको भन्दै रोष्ट्रममा बोल्दा प्रतिपक्षले ख्याल गरेर बोल्नुपर्ने बताए।
गत २२ गतेको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा सभामुख पूर्णबहादुर घर्ती र विपक्षी नेपाली कांग्रेसका सदस्यबीच भनाभन भएको थियो ।
प्रतिपक्षी दलका सांसदहरूले प्रदेश सभाभित्रै ‘सभामुख मुर्दावाद’को नारा लगाएका थिए।
त्यस्तै अर्का सांसद सन्तोष कुमार पाण्डेले दुई तिहाइ सरकारसँग भए पनि सहमतिबाट सरकार चलाउनुपर्ने बताए।
उनले दुई तिहाइबाट सरकार निर्माण गर्ने र सहमतिबाट चलाउनुपर्ने भए पनि एकलौटी ढंगले सरकारले काम कारबाही गरेको बताए।
त्यस्तै संसदमा प्रदेश नं. ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ। संसदको अर्को बैठक शुक्रबार १ बजे बस्नेछ ।