प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले भने सचिवालयले उपलब्ध गराएको सुबिधाको गाडी फिर्ता गरेर भारतीय नम्बर प्लेटको गाडी चढ्दै आएका छन्।
चौधरीले गाडी खरिदबारे आफैं नेतृत्वको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएपछि नैतिकताको आधारमा भन्दै सचिवालयले उपलब्ध गराएको लु. १ झ ४४१ नं. को गाडी पुस २७ गते फिर्ता गरेका थिए।
सभापती चौधरीले समितिको बैठकमा आउँदा जाँदा वा प्रदेशसभा बैठकमा आउँदा जाँदासमेत डिएल १२ सिएल ७५०५ नम्बरको भारतीय बलेरो गाडी प्रयोग गर्दै आएका छन्।
चौधरीले गाडी फिर्ता गर्ने क्रममा सञ्चारकर्मीसँग छानबिन भईरहेको गाडी चढेर हिड्न नैतिकताले नदिएको भन्दै प्रतिक्रिया दिएका थिए ।
सरकारी सुविधाको गाडी फिर्ता गरेका सभापति चौधरीलाई भने पटक पटक आलोचना भईरहेको भारतीय नम्वर प्लेटको सवारी साधनमा सयर गर्न भने नैतिकताले दिएको छ? भन्ने प्रश्न उठेको छ।
प्रदेश सभामा निर्वाचित भएदेखि नै सभापति चौधरीलगायत सत्तापक्षका केही सांसदहरु भारतीय नम्वरप्लेटको गाडी प्रयोग गर्दै आएका छन्।
उनीहरूले प्रयोग गरेको सवारी साधनका सम्वन्धमा ट्राफिक प्रहरीसमेत मुक दर्शक बन्दै आएको छ।
यता प्रदेश सभा सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका प्रतिपक्षी दलका नेताले बिहिबारबाट अर्को गाडी लिएका छन् ।
सार्वजनिक लेखा समितिले गाडी खरिद प्रकरणमा छानबिन गरेको भन्दै फिर्ता गरेका नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले अर्को गाडी लिएका हुन्।
गाडी बुझाएको अर्को दिनदेखि नै गाडीको माग गर्दै आएका पोखरेललाई सचिवालयले यसअघि उपसभामुख कृष्णी थारूले प्रयोग गर्दै आएको बा २ झ १९४८ नम्वरको गाडी उपलब्ध गराएको छ।
‘आज माननीय गाडी चढेर जानुभयो,’ सचिवालयका एक कर्मचारीले सेतोपाटीसँग भने।
हरेक दिन गाडी चाहियो भनेर दवाव दिईरहेका पोखरेललाई सचिवालयले गाडी दिन ढिलाई गरेपछि गत मंगलबारको सदन नै अवरुद्ध गरिएको थियो।
आवरणमा अरू कुनै विषय देखाएर सदन अवरूद्ध गरेको भए पनि सहमतिका लागि आयोजना गरिएको बुधबारको बैठकमा नेता पोखरेललाई गाडी दिने सहमति भएपछि अन्य बिषय स्वतः टुंगिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।
केही दिनअघि बुटवलमा आयोजना गरिएको बिरोध सभामा नेपाली कांग्रेस रूपन्देहीका सभापति अव्दुल रज्जाकले छानबिन भईरहेको गाडी किन चढेको? भनेपछि पोखरेललाई गाडी फिर्ता गर्न दबाब परेको थियो ।
जिल्ला सभापतिको निर्देशनसँगै सोझा पोखरेलले भावावेशमा आएर छानबिन भईरहेको गाडी नचढ्ने भन्दै सचिवालयलाई फिर्ता दिएका थिए। नेता पोखरेललाई सचिवालयले लु. १ झ ४४७ नं. को गाडी उपलब्ध गराएको थियो ।