स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले छिट्टै मेडिकल कलेज सञ्चालन गर्न कर्णाली प्रदेश अस्पताललाई सुझाव दिएका छन्।
शनिबार अस्पतालको अवलोकन गर्दै मन्त्री यादवले मेडिकल कलेज सञ्चालनका लागि राज्यका तर्फबाट गर्न सकिने सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको भन्दै प्रक्रिया अगाडि बढाउन आग्रह गरे।
मेडिकल कलेज सञ्चालनमा ल्याउन सके जनशक्ति उत्पादन र अस्पतालको सेवा प्रभावकारी बन्न सक्ने भएकाले यसमा ढिलाइ नगर्न उनले आग्रह गरे।
‘मेरो सुझाव छ तपाईहरू छिट्टै नर्सिङ सुरू गर्नुस्, राज्यका तर्फबाट गर्न सकिने सहयोगका लागि के गर्नुपर्छ सके जति म गर्छु,’ मन्त्री यादवले भने।
उनले मेडिकल सञ्चालनका लागि बारम्बार राज्यलाई घच्घच्याइरहन समेत अस्पताललाई सुझाव दिएका छन्।
उनले शनिबार प्रदेश अस्पतालको निरीक्षणसँगै, अस्पतालबाट दिइने सेवा, सुविधा, भौतिक पूर्वाधार, आधुनिक सामग्रीलगायतका विषयमा जानकारी लिएका छन्।
अस्पतालको बारेमा मन्त्री यादवलाई जानकारी गराउँदै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बर खड्काले अस्पतालमा जनशक्ति अभाव मुख्य समस्या भएकाले उपलब्ध गराउन पहल गरिदिन आग्रह गरे। उनका अनुसार हाल अस्पतालमा २८ जना कर्मचारीको अभाव छ। त्यसमा पनि बढीजसो विशेषज्ञहरू नभएको उनले जानकारी दिए ।