नेपाली कांग्रेस केन्द्रीय समितिमा अहिले एउटा बहस छ- केन्द्रीय नेता गाउँबाटै चुनाव जितेमात्र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था विधानमा राख्ने कि नराख्ने?
पुस पहिलो साता सकिएको महासमिति बैठकले पनि टुंग्याउन नसकेको यो विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक तीन पटक बसिसक्यो। सोमबार पनि यही एजेन्डा छलफल हुनेछ।
केन्द्रीय समितिमा अहिलेसम्म धारणा राखेका नेताहरूले मिश्रित धारणा दिएका छन्। कसैले बुथबाट निर्वाचित हुने व्यवस्थाको पक्षमा वकालत गरेका छन् त केहीले सिधै क्षेत्रीय प्रतिनिधि हुने पूरानै व्यवस्थाको निरन्तरता चाहेका छन्।
महासमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले यो विषयमा पछि छलफल गर्ने गरी टुंग्याएका थिए।
७७ मध्ये ५० भन्दा बढी जिल्ला सभापतिले केन्द्रीय सदस्य सिधै महासमिति सदस्य हुने व्यवस्था विधानबाटै हटाएर तलबाट निर्वाचित/चुनिएर आउनु पर्ने माग गरेका थिए।
कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले महासमिति बैठक समापन गर्दा सभापति देउवाले तलबाटै चुनिएर आउनु पर्ने व्यवस्थाका पक्षमा रहेको बताए पनि प्रतिवद्धताबाट पछि हट्न खोजेको आरोप लगाए।
यही विषयमा छलफल गर्न शनिबार काठमाडौं उपत्यकामा १५ भन्दा बढी जिल्ला सभापतिले बैठक गरे।
‘केन्द्रीय नेता बुथबाटै निर्वाचित हुने व्यवस्था विधानमा नराखेसम्म हामी आवाज उठाइरहन्छौं,’ केसीले सेतोपाटीसँग भने, ‘१४ औं महाधिवेशनसम्म पनि जिल्ला सभापतिले यो एजेन्डा छाड्ने छैनन्।’
विधान संशोधन गर्ने अधिकार केन्द्रीय समितिलाई नहुने दाबी उनले गरे।
जिल्ला सभापतिजस्तै केन्द्रीय नेता बुथबाटै निर्वाचित हुनु पर्ने पक्षमा केन्द्रीय सदस्य पनि उभिएका छन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल, धनराज गुरूङलगायत तलबाट निर्वाचित भएर आउनु पर्ने व्यवस्था विधानमा राख्ने पक्षमा छन्।
सभापति देउवा, बरिष्ठ नेता पौडेल भने केन्द्रीय सदस्यहरू क्षेत्रीय प्रतिनिधि हुँदै महासमिति सदस्य हुने पूरानै व्यवस्थाको पक्षमा छन्।
सभापति देउवाले ‘केन्द्रीय नेतालाई तलै हराइदिने, राजनीति नै सिध्याइदिने खेल हुन सक्ने’ भएकोले सोच विचार गरेर विधानमा यस्तो व्यवस्था गर्नुपर्ने धारणा राख्दै आएका छन्।
केन्द्रीय सदस्य प्रदीप पौडेलले भने बुथबाट निर्वाचित हुने व्यवस्थाले पार्टी बलियो बनाउने तर्क गर्छन्। ‘नेताहरु आफू सुरक्षित हुने बाटोमा हुनुहुन्छ,’ उनले भने, ‘निर्वाचित भएर आउने व्यवस्था नै प्रजातान्त्रिक व्यवस्था हो, मनमा हार्ने डर पाल्नु हुन्न।’
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बुथबाटै आउनुपर्ने र स्वत: क्षेत्रीय प्रतिनिधि हुने व्यवस्थाका पक्षमा केन्द्रीय सदस्यले मिश्रित धारणा राखेको बताए।
‘अहिल्यै कुन व्यवस्था राख्ने भन्ने टुंगो लागेको छैन, छलफल जारी छ। सोमबार छलफलपछि निर्णयमा पुग्छौं,’ उनले भने।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बोल्न चाहेका केन्द्रीय सदस्यले धारणा राखेपछि उचित निर्णयमा पुगिने बताए।
महासमिति बैठकका बेला जिल्ला सभापतिले केन्द्रीय सदस्य स्वत: क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था हटाउन हस्ताक्षरसमेत बुझाएका थिए।
केन्द्रीय समितिले छलफल गरी पारित गर्ने सहमतिपछि सर्वसम्मत महासमिति बैठक टुंग्याइएको थियो।
बुथबाट चुनिएर आउनु नपर्ने व्यवस्था संघीय विधानमा राख्न सके सभापति देउवा थप बलियो हुन्छन्।
केन्द्रीय सदस्य, प्रतिनिधिसभा, प्रदेशसभामा टिकट पाएकाले तलबाटै चुनिएर आउनु पर्ने व्यवस्था विधानमा नराख्न ‘लविङ’ गरिराखेका छन्।