नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको दावी गरेका छन्।
पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको वक्तव्य दुवै अध्यक्षको सहमतिमा ड्राफ्ट भएको र यसलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको भन्दै यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको उनले बताए।
‘भेनेजुएला प्रकरणले नेकपाभित्र विवाद रहेको कुरा सतहमा आएपनि यथार्थमा पार्टीभित्र यो प्रकरणलाई लिएर कुनै विवाद छैन, सचिवालय बैठकले नै यस विषयमा पार्टीको धारणा स्पष्ट पारिसकेको छ,’ उनले भने।
लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २० औं साधारणसभा एवम् दशौं अधिवेशनको आईतबार रुपन्देहीको मणिग्राममा उद्घाटन गर्दै महासचिव पौडेलले यस्तो बताएका हुन्।
पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै सरकारका बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताए।
यद्यपि सरकारका काम कारबाहीलाई लिएर रचनात्मक ढंगले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने उनले बताए।
‘सरकारको काम कारबाहीको विषयमा पार्टीभित्र र बाहिर विभिन्न ढंगले सुझाव राख्न सकिन्छ, सरकार र पार्टीले यसरी आउने सुझावलाई रचनात्मक रुपमा ग्रहण गर्छ’, उनले भने ।
पौडेलले सरकारका काम कारवाहीलाई अझै प्रभावकारी ढंगले अघि बढाइने पनि जानकारी दिए। शान्तिका नाममा धन्धा गर्न चाहनेहरुले पार्टीभित्र विवाद छ भनेर देखाउन खोजेको जिकिर गर्दै महासचिव पौडेलले अब त्यो संभव नभएको बताए । ‘शान्तिका नाममा धन्धा गर्नेहरुको उद्देश्य अव पूरा हुन सम्भव छैन, सरकार आफ्नो गतिमा अगाडि बढ्छ’, पौडेलले भने ।
महासचिव पौडेलले मुलुकको विकासलाई तीव्रता दिन अब ठूला आयोजनाहरुको काममा ढिलाई गर्न नदिइने बताए । बुटवल–सुनौली ६ लेन सडक निर्माण गर्न धेरै वर्ष लागेको प्रसंग उल्लेख गर्दै उनले यसको अनुभवबाट पाठ सिक्दै अबका आयोजनाहरु तीव्रताका साथ अगाडि बढाइने स्पष्ट पारे ।
पौडेलले अब केही हप्ताभित्र बुटवल नारायणगढ सडक बिस्तारको काम पनि सुरु हुने जानकारी दिंदै सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि डिपिआर निर्माणको काम अगाडि बढिरहेको बताए।
स्वीस सरकारले डिपिआरको काम गरिरहेकाले आगामी बैशाखभित्र डिपिआर सकिने र आउँदो बजेटमा कामको निश्चित समयसीमा तोकेर सुरुङ मार्ग निर्माणको प्रस्तावलाई समेटिने पौडेलको भनाई छ।
कार्यक्रममा बोल्दै प्रदेश पाँच सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारका कामकारवाहीलाई रचनात्मक ढंगले आलोचना गर्न र तथ्यमा आधारित रहेर खबरदारी गर्न आग्रह गरे।
प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जनआन्दोलन, शान्ति र समृद्धिको एजेण्डामा सञ्चारमाध्यमले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै मुलुकको शान्ति र सम्मृद्धिमा थप भूमिका खेल्न आग्रह गरे।
संस्थाका अध्यक्ष मोहन चापागाईँको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, संस्थाका पूर्वअध्यक्ष अर्जुन ज्ञवाली, उपाध्यक्ष दुजेन्द्र बस्नेत, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस अवसरमा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ निवासी ५६ वर्षिय श्रमिक महिला उमाकला बि.क.लाई २० वर्षदेखि परम्परागत आरन पेशा गर्दै आएको भन्दै नगद आठ हजारसहित सम्मान गरिएको थियो । त्यसैगरी पुर्वअध्यक्षहरु भरतराज भुसाल, अर्जुन ज्ञवाली, शशिधर पौडेल, कृष्णप्रसाद नेपाल, डिआर घिमिरे, लक्ष्मण ज्ञवाली र कृष्णप्रसाद अर्याललाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
यसैबीच रेडियो लुम्बिनीको २० औं साधारणसभा तथा दशौं अधिवेशनबाट दुजेन्द्र बस्नेत अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा दुर्गाप्रसाद पाण्डे, कोषाध्यक्षमा अर्जुनराज उपाध्याय, सञ्चालक सदस्यहरुमा इन्द्रबहादुर सुनार, रामबहादुर बस्नेत, शारदा अर्जेल, रामचन्द्र पाण्डे, विष्णु प्रसाद पाण्डे, लोकनाथ पाण्डे, रामप्रसाद ढकाल, दिनेश रायमाझी, केशवराज गौतम उपाध्याय, टंकप्रसाद पाण्डे, देवी वाग्ले र मधुकला कुँवर चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे र सदस्यद्वयमा इश्वरी शर्मा र त्रिलोचन ज्ञवाली रहेका छन् ।