प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई निजी कम्पनीको शोरूम उद्घाटन गर्न हेलिकप्टर लिएर ओखलढुंगा गएका छन्।
रुम्जाटारस्थित यामाहा कम्पनीको शोरूम उद्घाटनका लागि मुख्यमन्त्री राई आइतबार समिट एयरको हेलिकप्टर चढेर ओखलढुंगा गएका हुन्।
प्रदेश सांसद अमिरबाबु गुरुङको लगानी रहेको रुम्जाटार अटो मोबाइल्सको शोरूम उद्घाटन गर्न उनी सांसदहरूसहित रुम्जाटार गएका हुन्।
ओखलढुंगा प्रहरीका अनुसार राई शोरूम उद्घाटन गर्न दिउँसो झन्डै १ बजे हेलिकप्टर लिएर पुगेका थिए। राईले सुरूमा शोरूम उद्घाटन गरे। त्यसपछि रुम्जाटारमा बन्दै गरेको बौद्ध गुम्बा अवलोकन गरी अपराह्न ४ बजे काठमाडौं फर्केका थिए।
‘मुख्यमन्त्रीज्यू, समिट एयरको हेलिकप्टरमा सांसदहरूसँग सोलुखुम्बु हुँदै यहाँ आउनुभएको थियो,’ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले सेतोपाटीसँग भने, ‘शोरूम उद्घाटनपछि बौद्ध गुम्बा निरीक्षण गरेर सोही हेलिकप्टरमा काठमाडौं फर्किनुभएको थियो।’
मुख्मन्त्री राई काठमाडौंबाट सांसद गुरुङ र यामाहा कम्पनीका एक प्रतिनिधिसाथ सुरूमा सोलुखुम्बु पुगेका थिए।
सोलुखुम्बुमा पहिलोपल्ट हेलिकप्टर ल्याण्ड भएको थियो। त्यहाँबाट सांसद प्रदेश सांसद उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारी हेलिकप्टरमा चढेका थिए। दुबै नेपाल कम्युनिस्ट पार्टीका सांसद हुन्।
हेलिकप्टर दोस्रोपटक रुम्जाटार विमानस्थलमा ल्याण्ड भएको थियो। काठमाडौं–सोलुखुम्बु–ओखलढुंगा साधारण अवस्थामा झन्डै डेढ घन्टा हो। पहिलोपल्ट हेलिकप्टर सोलुखुम्बुको पतालेमा ल्याण्ड भएको थियो।
हवाई कम्पनीहरूका अनुसार मौसमअनुसार समय घटबढ हुन्छ। आइतबार मौसम खराब थियो। यस हिसाबले काठमाडौंबाट पुगेर फर्किने समय कम्तीमा तीन घन्टा हुनुपर्छ। हेलिकप्टर कम्पनीहरूको न्यूनतम् चार्टर दरअनुसार तीन घन्टाको पाँच लाख रुपैयाँ पर्न जान्छ।
समिट एयरले मुख्यमन्त्रीसहितको टोलीले चढेको हेलिकप्टरले कति समय लगाएको र कसले चार्टर खर्च व्यहोरोको भन्ने खुलाएन।
‘आइतबारको मौसम खराब रहेका कारण साधारण दिनभन्दा बढी समय लागेको हुनुपर्छ,’ समिट एयरका सुमन पाण्डेले भने, ‘कम्तीमा तीन घन्टा हेलिकप्टर उडेको हुनुपर्छ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार तीन किसिमका हेलिकप्टर चार्टरको शुल्क निर्धारण गरिएको छ।
त्यसमा साना, मझौला तथा ठूला हेलिकप्टर पर्छन्। साना हेलिकप्टरको प्रतिघन्टा एक हजार, मझौलाको पन्ध्र सय र ठूलाको छ हजार अमेरिकी डलर भाडा तोकिएको छ।
मुख्यमन्त्री चढेको हेलिकप्टर मझौलामा पर्छ। तर, हेलिकप्टर सञ्चालन गर्ने कम्पनीले यो भाडादरलाई अनिवार्य मानेका भने छैनन्, उनीहरूले तोकिएको भन्दा बढी नै भाडा लिन्छन्।
झन्डै १० करोड लगानीमा खोलिएको शोरूमको सञ्चालक पृष्ठभूमिमा राजन घले, बालकृष्ण गुरुङ र ध्रुब गुरुङ छन्।
शोरूमका लागि सांसद गुरुङले १० रोपनी जग्गा उपलब्ध गराएका छन्। सांसद गुरुङले शोरूम उद्घाटनका लागि हेलिकप्टर चार्टर गर्दाको भाडा यामाहा कम्पनीले व्यहोरेको बताए।
उनले शोरूममा आफ्नो लगानी नरहेको तर जग्गा चाहिँ उपलब्ध गराएको बताए।
‘मेरो पुर्ख्यौली जग्गा थियो, अटोमोबाइल्स कम्पनी खोल्दा आफ्नो ठाउँको विकास हुने भएकाले मैले महिनाको एक लाख पच्चीस हजार रुपैयाँ भाडामा जग्गा उपलब्ध गराएको हुँ,’ सांसद गुरुङले भने।
मुख्यमन्त्री राई शनिबार काठमाडौं आएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चतरा भ्रमणमा पुगेकी थिइन्।
उनीसँगै हेलिकप्टरमा राई साँझ काठमाडौं आएका थिए। भोलिपल्ट शोरूम उद्घाटनका लागि राई हेलिकप्टरमा ओखलढुंगा गएका थिए।
हेलिकप्टरमा सोलुखुम्बु हुँदै ओखलढुंगाबाट काठमाडौं फर्किएपछि राई आइतबारै विराटनगर फर्किएका थिए। शोरूम उद्घाटन गर्न हेलिकप्टर चार्टर गरेर ओखलढुंगा गएको विषयमा मुख्यमन्त्री राई सेतोपाटीको सम्पर्कमा आएनन्।
उनका प्रेस संयोजक ध्रुव सुवेदीले मुख्यमन्त्री ‘व्यस्त’ रहेकाले कुराकानीका लागि उपलब्ध हुन नसकेको सेतोपाटीलाई बताए।