महासमिति बैठकका निर्णय र प्रतिबद्धताबाट सभापति शेरबहादुर देउवा पछि हट्न खोजेपछि सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीच विवाद भएको छ।
केन्द्रीय सदस्य स्वत: क्षेत्रीय प्रतिनिधि हुने पुरानो विधानको व्यवस्था हटाएर बुथबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था पार्टी विधानमा राख्नुपर्ने र राख्न नहुनेमा केन्द्रीय सदस्यबीच विवाद छ।
कांग्रेसमा महाधिवेशन प्रतिनिधि हुन केन्द्रीय सदस्यले चुनाव लड्नुपर्दैन। उनीहरू स्वत: क्षेत्रीय प्रतिनिधि हुन्छन्। क्षेत्रीय प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुन्छन्। यो व्यवस्था हटाउनुपर्ने तथा हटाउन नहुनेमा कांग्रेस नेताहरू विभाजित छन्।
आरक्षणको विषयमा पनि कांग्रेसभित्र लामो बहस हुँदै आएको छ। नयाँ नेतृत्व विकास गर्नुपर्ने आवाजसहित आरक्षण एक पटक मात्रै दिनुपर्नेमा केही नेता छन् भने दोहोर्याउनुपर्नेमा केही नेताको मत कायमै छ।
‘महासमिति बैठक सफल भयो भन्ने अनि महासमितिले के निर्णय गरेको थियो भन्ने पनि बिर्सने?’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘महासमिति बैठकका निर्णय, सहमति र प्रतिबद्धता उल्टाउने खेल भयो।’
महासमिति बैठकले गरेका निर्णयमाथि केन्द्रीय समितिले संशोधन गर्ने गरी छलफल हुन विधानअनुसार नमिल्ने उनले बताए। कांग्रेस विधानमा नीति, नियम बनाउने काम महासमिति बैठक र महाधिवेशन बेला मात्रै हुन्छ।
केन्द्रीय सदस्य गाउँबाट चुनिएर आउन डराएका छन्। अन्तरघात गरेर बुथबाटै हराइदिने भन्दै केन्द्रीय सदस्यहरू स्वत: क्षेत्रीय प्रतिनिधि हुने पुरानै व्यवस्थालाई सुरक्षित मान्दै यसैलाई संघीय विधानमा निरन्तरता दिनुपर्ने भन्दै ‘लबिङ’ मा रहेको उनले दाबी गरे।
महासमिति बैठकमा ५० भन्दा बढी जिल्ला सभापतिले केन्द्रीय सदस्य स्वत: क्षेत्रीय प्रतिनिधि हुने विधानको व्यवस्था हटाएर चुनावबाट आउनुपर्ने व्यवस्था राख्न माग गर्दै हस्ताक्षर बुझाएका थिए। त्यस बेला सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिका मागमा आफू सकारात्मक रहेको भन्दै प्रतिबद्धता जनाएका थिए।
शीर्ष नेताहरूले आफूले गरेको प्रतिबद्धता र महासमिति बैठकका निर्णय एक महिनामै भुलेको भन्दै सोमबार बैठकमा नेतृत्वको आलोचना भयो। केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, दीलेन्द्रप्रसाद बडु, नवीन्द्रराज जोशी, प्रदीप पौडेलले केन्द्रीय नेता बुथबाटै निर्वाचित भएर आउनुपर्ने अडान लिए भने आरक्षण एक पटक मात्रै दिनुपर्ने धारणा राखे।
केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, मीन विश्वकर्मा र शंकर भण्डारीले भने केन्द्रीय सदस्य स्वत: क्षेत्रीय प्रतिनिधि हुने व्यवस्थाको पक्षमा वकालत गरे।
‘बुथबाट चुनाव जितेर आउनुपर्ने व्यवस्था पार्टीलाई कमजोर बनाउने व्यवस्था हो, यो प्रचारमा आउन हचुवाका भरमा उठाइएकाले गलत छ,’ श्रेष्ठ, विश्वकर्मा र भण्डारीले बैठकमा भने, ‘कसैको उक्साहटमा लाग्नु हुन्न। स्वत: प्रतिनिधि हुने र आरक्षण दोहोर्याउने व्यवस्था कायम राखौं।’
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले वडामा स्वत: प्रतिनिधि हुन पाइने व्यवस्था राख्न सकिने विकल्पसहित त्यसमाथि भने चुनाव लडेरै जानुपर्ने धारणा राखे। पार्टी महाधिवेशन गर्नेदेखि, भ्रातृ संस्थाले समयमै महाधिवेशन नगरेको लगायत पार्टी सुधारका लागि उनले १२ बुँदा बैठकमा राखेका छन्।
बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमिति बैठकले गरेका सबै निर्णय कार्यान्वयनमा लैजानुपर्ने बताए। ‘महासमिति बैठकले गरेका निर्णय पार्टीले कार्यान्वयन गरेन र अपमान गर्यो भने फरक मतका रूपमा हामी पछिसम्म यो आवाज उठाइरहन्छौं,’ उनले भने, ‘महासमितिका निर्णय तोडमोड गर्न हुन्न।’