नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान सभापति नैनसिंह महरले आफू अनुकूलका नेतालाई जिम्मेवारी दिएको चिठी सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि विवाद भएको छ।
सोमबार महरले नेविसंघ सभापतिबाट राजीनामा घोषणापछि सामाजिक सञ्जालमा महरको हस्ताक्षरसहितका चिठी एक पछि अर्को देखा पर्न थालेका छन्।
क्याम्पस, जिल्ला सभापति, केन्द्रीय सदस्यमा नियुक्त गरिएको भन्ने महरको हस्ताक्षरसहितको पत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ति छन्। अधिवेशन हुन नसकेका विवादित जिल्लामा एकपछि अर्कोले आफू सभापति भएको पत्र सार्वजानिक गर्न थालेपछि विवाद उत्पन्न भएको हो।
नेविसंघ विधानअनुसार जिल्लामा एक जना सभापति हुन्छ। तर, धादिङ, सप्तरी, मोरङलगायत जिल्लामा एकभन्दा बढी सभापतिले आफू नै आधिकारिक सभापति भएको दाबी गरेपछि विवाद देखिएको हो।
सभापति महरले हस्ताक्षर गरेर माघ १९ मा दिएको पत्रमा धादिङ सभापति सुवास विसुराल उल्लेख छ। तर, भीम भट्ट र श्रीराम खतिवडाले पनि आफू सभापति भएको पत्र सार्वजनिक गरेका छन्।
भट्टलाई माघ ९ मा केन्द्रीय सदस्य लक्षमणदत्त पन्थ र खतिवडालाई नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारीले सभापति भएको पत्र दिएपछि विवाद भएको हो।
यस्तै सप्तरीमा पनि दुई जना सभापति छन्। पार्थो सरकारले आफू नै नेविसंघ आधिकारिक सभापति भएको पत्र सार्वजानिक गर्दा उता घनानन्द यादवले पनि आफूलाई सभापतिको जिम्मेवारी दिएको पत्र सार्वजनिक गरेपछि यहाँ पनि विवाद छ।
यस्तै मोरङमा पनि तीन जनाले आफू नै सभापति भएको दाबी गर्दै आएका छन्। तत्कालिन सभापति महरको हस्ताक्षरित पत्रमा विक्रम श्रेष्ठ, प्रशान्त निरौला र देवचन्द्र घिमिरे तीनै जनालाई सभापतिमा नियुक्त भएको उल्लेख छ।
यता नेविसंघ सभापति महरले आफ्नो कार्यकाल सकेर कामचलाउ हुँदा पनि विधान र पार्टीको निर्देशन विपरीत आफूअनुकूलका नेतालाई जिम्मेवारी तोकेर चिठी दिएको भन्दै नेविसंघका निवर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरु रुष्ट छन्।
नेविसंघ निवर्तमान महामन्त्री सरोज थापाले कार्यकाल सकिएपछि सभापति महरले बाँडेको चिठीको कुनै औचित्य नहुने दबी गरे। सभापतिले कति जनालाई कुन पदमा जिम्मेवारी दिएको हो भन्नेसम्म यकिन छैन।
‘नेविसंघ १५१ सदस्यीय हो। फोरम लोकतान्त्रिकबाट आएका १५ जनालाई केन्द्रीय सदस्य सहमतिमै थपिएको थियो,’ उनले भने, ‘केन्द्रीय समिति पूर्ण भइसके पनि कुन आधारमा सभापतिले थप केन्द्रीय सदस्य मनोनित गर्नुभयो?’
सभापतिले क-कसलाई कुन-कुन पद दिएर पत्र बाँडेको हो भन्ने पनि यकिन नभएको थापाले बताए। ‘कसैको फोन आयो भने पनि बधाई दिनुपर्ने अवस्था छ। को के पदमा मनोनित भएको भन्ने नै थाहा छैन,’ उनले भने, ‘बधाई नदिए रिसाउलान् भन्ने डर।’
सामाजिक सञ्जालमा आएका चिठीले नेविसंघ संगठन विगार्ने उनले बताए। ‘क्याम्पस र जिल्लामा नेविसंघ संगठनमा विवाद ल्याउने गरी पत्र बाँड्न हुन्थेन,’ उनले सेतोपाटीसँग भने।
तर नेविसंघका निवर्तमान सभापति महरले फेसबुकमा आएका सबै पत्र आफूले नबाँडेको दाबी गरे। उनले जिल्ला अधिवेशन गराउनका लागि र रिक्त रहेका क्याम्पसहरुमा मात्र संगठनलाई चुस्त बनाउन एक महिनाअघि पत्र दिएको बताए।
‘फेसबुकलाई मात्रै आधार मान्ने हो भने मेरो भन्नु केही छैन। एक महिनाअघि दिएको चिठी अहिले फिसबुकमा राखिएर मेरो आलोचना गरिएको छ,’ उनले भने, ‘मेरो हस्ताक्षर नक्कल गरेर पनि ५०/६० वटा पत्र फेसवुकमा राखिएका रहेछन्, म यो विरूद्ध साइबर क्राइममा जान्छु।’
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कार्यकाल सकिने बेला महरले बाँडेका चिठी कार्यान्वयन नहुने निर्णय गरेको छ। दुई वर्षे कार्यकाल गत भदौ २ मा सकिए पनि १२ औं अधिवेशन गराउन थपेको पाँच महिनामा पनि महरले अधिवेशन गराउन सकेका थिएनन्।
नेविसंघको अधिवेशन गराउन अब तदर्थ समिति बनाउने तयारीमा कांग्रेस छ। नेविसंघका नेताहरुले ३२ वर्षे उमेरहद कायम राखेर तदर्थ समिति बनाउन माग गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य गगन थापा, प्रदीप पौडेलले तदर्थ समितिलाई ६ महिना समयावधि दिने र त्यो अवधिमा महाधिवेशन गराइसक्नुपर्ने धारणा राख्दै आएका छन्।