प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले हतारमा निर्णय गरी फुर्सदमा पछुताउने गरी प्रदेशको स्थायी राजधानी नतोकिने बताएका छन्।
कुनै ठाउँ विशेषको आग्रहबाट मुक्त भएर मात्र सबैले गर्व गर्ने र स्वीकार गर्नसक्ने गरी प्रदेशको राजधानी बनाउने भन्दै सबै क्षेत्रको सुझावको आधारमा समय लिएर प्रदेशको नामाकरण र राजधानी तोकिने बताएका हुन्।
प्रदेश ५ सरकारको स्थापना दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राजधानी तोक्न छिटो गर्ने नाममा अर्को काठमाडौं नबनाईने स्पष्ट पारे।
‘हाम्रो प्रदेशको भविश्यको राजधानी सबैले आहा! कति राम्रो भन्ने प्रकारको हुनुपर्छ, हतार गरेर काठमाडौं जस्तो अर्को अस्तव्यस्त राजधानी बनाउनु अहिले जरूरी छैन,’ उनले भने।
प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले राजधानीको टुंगो लगाउने विषय प्रदेशसभाको जिम्मेवारी भएको दोहोर्याउँदै यसलाई सडक र चोकको बहशको विषय नबनाउन पनि आग्रह गरे।
‘राजधानी कहाँ बनाउने, कस्तो बनाउने भन्ने विषय प्रदेश सभाको हो, प्रदेशसभाका सदस्यहरुले गरेको राजधानीको निर्णय प्रदेशका सबै जनताले स्वीकार गर्नुपर्छ, त्यसैले राजधानीको विषयमा सडक र चोकमा बहस नगरौं।’
उनले बिभिन्न राजनीतिक दलका नेताले ठाउँ विशेष तोकेर गर्ने चर्चा गलत भएको भन्दै निर्वाचनका बेला जसले जे भने पनि अब त्यो विषय प्रदेश सभाको भएको बताए।
मुख्यमन्त्री पोखरेलले संविधानमा संयुक्त अधिकारका रुपमा रहेका विषयमा संघीय सरकारले कानुन निर्माण नगर्दा प्रदेशले समयमा काम गर्न नसकेको गुनासो गरे। ‘संघीय कानुनहरू संशोधन नभएका कारण र साझा सूचीमा आधारित कानुनहरू नबनेका कारण हाम्रो गति केही रोकिन पुगेको छ, तर प्रदेशको तर्फबाट कानुन निर्माणको हिसाबले व्यवस्थित योजनाका साथ अगाडि बढेका छौं,’ उनले भने ।
मुख्यमन्त्री पोखरेलले आवधिक योजना तर्जुमाको लागि विकास परिषद् गठन गरि प्रदेशको आवधिक योजनाको अवधारणा स्वीकृत गरिसकेको र यस वर्ष प्रदेशको प्रोफाईल तयार गरिसक्ने भन्दै प्रदेशको संरचनागत आधार तयार गर्ने हिसाबले यो वर्ष सफल रहेको दाबी गरे।
उनले पहिलो वर्ष उपलब्धीपूर्ण भएको भन्दै चालु वर्षलाई कानुन निर्माण र योजना निर्माणको वर्षका रूपमा लिइएको बताए।
उनले नेपाल बनेन भनेर चिन्ता नगर्न पनि आग्रह गरे। ‘नेपाल बनेन भनेर धेरै चिन्ता लिनुपर्दैन, नेपाल बन्दै छ, हामीले बनाउँदै छौं नेपाल,’ मुख्यमन्त्री पोखरेलले दाबी गरे।
भौतिक श्रोत साधन र जनशक्तिको अभावमा पनि प्रदेश पाँच सरकारको एक वर्ष सफलउन्मुख रहेको उनले बताए। संघीयताको प्रमुख आधारका रुपमा प्रदेश सरकार अगाडि बढेको उल्लेख गर्दै यो वर्ष संघीयताको फाउण्डेशन बनाउने वर्ष भएको बताए।
उनले संघीयताले खर्च नबढाएको दाबी गर्दै बरू संघीयताले जनताको जीवनस्तर उकासेको र खर्च घटाएको दावी गरे। ‘एकथरीहरू संघीयताले सरकारको खर्च बढाएको तर्क गर्छन् हामी त्यो मान्दैनौं’, उनले भने, ‘हो संघियतापछि करिब १५ प्रतिशत कर्मचारी वृद्धि भएका छन् यसले सरकारको प्रशासनिक खर्च केही बढेको छ, तर जनताको खर्च र समय त घटाएको छ नी त्यो पाटोबाट किन नसोच्ने।’
त्यही कामको लागि हिजो काठमाडौं जानुपर्नेमा आज जिल्लामै हुनेगरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले जनताले बेहोर्नुपर्ने खर्चको कटौती भएको छ भन्ने सन्देश दिने हो भने संघीयता बोझिलो होईन जनताको बाध्यात्मक खर्चलाई कटौती गरेको बताए ।
उनले पहिलो एक वर्ष प्रदेश सरकारलाई खोज्ने र देखिने अवस्थामा पुर्याएको दावी गर्दै अबका वर्षहरू काम गरेर देखाउने वर्षका रुपमा हुने बताए।
उनले जनताको जीवनस्तरसँग शान्ति र सम्वृद्वि जोड्ने गरी प्रदेश सरकारले आफ्ना गतिविधि बढाएको बताए। उनले हिमाल, पहाड र तराइसँग जोडिएको प्रदेश पाँच मिनी नेपालको रुपमा रहेको उल्लेख गर्दै यो प्रदेशको समृद्विले सम्रग देशको समृद्विको आधार तयार गर्ने बताए।
लुम्बिनीलाई आम जनताको जीवनसँग जोडेर विकासका लागि प्रदेश सरकार जिम्मेवारका साथ अगाडि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनीको पर्यटनको जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने बताए।
बुटवल उपमहानगरपालिकाले पनि आफ्नो ६० औं स्थापना दिवसलाई प्रदेश सरकारको स्थापना दिवससँगै संयुक्त रुपमा मनाएको हो । दिवसका अवसरमा विभिन्न सांस्कृतिक झांकी समेत प्रदर्शन गरिएका थिए ।
सो अवसरमा प्रदेश सरकारले एक वर्षमा गरेका कार्यप्रगति विवरण सहितको प्रदेश सरकारको एकवर्ष पुस्तक सार्वजनिक गरिएको थियो । उक्त पुस्तकलाई प्रदेश प्रमुख उमाकान्त झा र मुख्यमन्त्री पोखरेलले संयुक्त रुपमा सार्वजनिक गरेका थिए।