शनिबार डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाले वीरगन्जमा एउटै माला पहिरिएर कांग्रेस राजनीतिमा कोइराला परिवारभित्र एकता जारी रहेको सन्देश दिएका छन्। जिपी कोइराला फाउन्डेसनको कार्यक्रममा उनीहरूले कांग्रेस राजनीतिमा कोइराला परिवारबीच ध्रुबीकरण रहँदै आएको तथ्य गलत भएको थप सन्देश पनि दिन खोजेका छन्।
उनीहरूले वर्तमान नेतृत्वबाट कांग्रेसको भविष्य नरहेको पनि बताएका छन्। शशांक, शेखर र सुजाता एकैठाउँ रहेर कांग्रेस नेतृत्वको रुपान्तरण आवश्यक छ भनी सन्देश दिन खोजेको यो पहिलो कार्यक्रम भने हैन।
उनीहरूले वर्तमान नेतृत्वबाट कांग्रेसको भविष्य बन्न नसक्ने भन्दै विकल्पमा आगामी महाधिवेशनबाट कोइराला परिवारकै एक जना नेतृत्वमा लड्ने बताउँदै आएका छन्। तर, को उठ्ने भन्नेमा परिवारभित्र सहमति खोजिरहेको उनीहरूले जनाएका छन्।
चौधौं महाधिवेशनमा नेतृत्व दाबी कोइराला परिवारका तीन सदस्यकै छ। तर, उनीहरू कसको पक्ष बलियो बन्छ त्यसैको नेतृत्व लिएर अघि बढ्ने बताइरहेका छन्। वीरगन्जमा पनि उनीहरूले यसै भनेका छन्।
पछिल्लो समय यी तीनै नेताले कांग्रेसको गिर्दो साख जोगाउन आफूहरू एकैठाउँ रहेको बताइरहेका छन्। वीरगन्जमा कोइराला परिवारका तीन ‘प्रभावशाली’ नेता एउटै मालामा उनिँदा कार्यकर्ता खुसी देखिन्थे। भावी नेतृत्व दाबी गरिरहेका ‘पारिवारीक’ तीन नेता एकै मालामा उनिँदा कार्यकर्तामाझ मनोवैज्ञानिक उत्साह पैदा भएको थियो।
कोइराला परिवारबाट नेतृत्व उम्किएको झन्डै तीन वर्षसम्म कांग्रेसले आफ्नो छवि सुधार्न सकेको छैन। स्व. सभापति सुशील कोइरालापछि नेतृत्वमा आएका शेरबहादुर देउवाका कारण पार्टीले चुनावमा हारेको र कम्युनिस्टहरूले ‘अधिनायकवाद लादेको’ आरोप कोइराला परिवारका नेताले लगाउने गरेका छन्।
कांग्रेस पराजय हुनुमा देउवा नेतृत्वको कार्यशैली प्रमुख रहेको भन्दै शेखर कोइराला आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन्। यो आरोपमा कांग्रेसका युवा नेताहरूको समर्थन छ। ‘कांग्रेस पराजित हुनुमा नेतृत्व नै पहिलो हो,’ नेता रामहरि खतिवडाले भने, ‘कांग्रेसमा एकताको सन्देश कोइराला परिवारको घरबाट सुरु भएको छ।। पार्टीबाट पनि यही किसिमको सन्देश आओस्।’
खतिवडाले ‘समय बाँकी छ’ भन्दै भने, ‘बाग्मतीमा पानी बगिरहेको छ, तर यो कतिञ्जेल बग्न सक्छ, हेर्न बाँकी छ। कसैले खुट्टा नझिकोस्, नकमाओस्, हामी महाधिवेशनमा युवाहरूको एकताबाट नेतृत्व चयन होस्।’
कोइराला परिवार एक ठाउँ रहेको सन्देश दिन खोजेको वीरगन्जको कार्यक्रम अर्को रणनीति पनि थियो। संघीय संसद चुनावमा मधेसमा कांग्रेसले आफ्नो पुरानो सिट जोगाएको छैन। पुरानो धरातल फिर्ताका लागि पनि कोइराला परिवारले मधेसमा यो सन्देश छोडेको अनुमान गरिएको छ। अहिले मधेसमा कांग्रेसको भविष्य हेरेर टिप्पणी हुने गरेको छ।
आगामी दिनमा मधेसको भोट आफूतिर तान्न कोइराला परिवारका नेताहरूको सक्रियता छ। शेखरलाई बिरासतमै हार व्यहोरेको चित्त बुझेको छैन। कोइराला परिवार मधेसमा गुमेको भोट समेटेर अगाडि बढ्नुपर्छ भन्नेमा ‘सहमत’ छन्।
चौधौं महाधिवेशनमा सभापति लड्न सबैभन्दा बढी दौडमा शेखर छन्। केही समयअघि महामन्त्री शशांकले पनि सभापतिमा आकांक्षा देखाउँदै आफू पनि सभापतिमा लड्न तयार रहेको बताएका थिए।
तेह्रौं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिन खोजेका शेखर शशांकले चाहना देखाएपछि ‘ब्याक’ भएका थिए। चौधौं महाधिवेशनमा शेखर शशांकलाई नेतृत्व छोड्न भन्दै आएका छन्।
‘हामी तीनमध्ये सहमतिमा एक लड्छौं,’ महामन्त्री कोइरालाले सेतोपाटीसँग भनेका थिए।
शशांक अहिले भन्छन्, ‘नेतृत्व परिवर्तन आवश्यक छ, देउवा नेतृत्वबाट कांग्रेसले तमाम समस्या समाधान गर्न सक्दैन। यस विषयमा हामी परिवारका तीनै जनाबीच छलफल चलिरहेकै छ। तीनमध्ये एक जना सभापतिमा लड्छौं। जसलाई कार्यकर्ताले विश्वास गर्छन्, उही लड्छ।’
कम्युनिस्ट सरकारबाट भइरहेका गतिविधिमा तीखो प्रहार गर्ने कोइराला परिवारका शेखर हुन्। कम्युनिस्ट सरकारसँग लतारिनुमा शेखर कांग्रेस नेतृत्वको कमजोरी औंल्याउँछन्। भन्छन्, ‘देउवा नेतृत्वबाट कांग्रेसलाई पार लगाउन सकिएन भने हामी अर्को पाँच वर्ष पनि प्रतिपक्षमै बस्नुपर्ने छ।’
कोइराला परिवारका तीन जनै सदस्यले आगामी महाधिवेशनमा देउवा नेतृत्वलाई परास्त गर्न खोजेको संकेत दिन खोजेका छन्। यो मामिलामा उनीहरूले युवा नेताहरूलाई साथ लिन खोजेका छन्।
शेखर नयाँ पुस्ताका नेतालाई साथमा लिएर नेतृत्वमा आउन खोजेका छन्। उनले युवा नेता गगन थापासँग सहकार्यको हात बढाएका छन्। यसबारे शेखर भन्छन्, ‘हामी युवापुस्तालाई लिएर अघि बढ्न चाहन्छौं, कोइराला परिवारमा हामी पहिले पनि एक थियौं, आज पनि र भोलि पनि एक छौं। हाम्रो लिगेसी र बिरासत छ। हामी मिलेर पार्टी चलाउँछौं।’
युवा नेता थापाले पनि युवा नेतृत्व लिएर अघि बढ्ने विषयमा डा. शेखर कोइरालासँग संवाद जारी नै रहेको बताएका छन्। ‘पार्टी सञ्चालन पद्धति, पार्टीको भविष्य र आगामी महाधिवेशनमा कसरी अगाडि बढ्ने विषयमा डा. कोइरालासँग पटक–पटक संवाद भइरहेको हो,’ नेता गगन थापाले भने, ‘छलफल जारी नै छ। महाधिवेशनको समय बाँकी रहेकाले यसबारे विस्तृतमा छलफल हुने नै छ।’
कोइराला परिवारकै अर्की सदस्य सुजाताले अहिले पार्टीलाई बचाउने विषय ठूलो भएको भन्दै नेतृत्वमा को आउँछ प्रधान नहुने बताइन्। उनले भनिन्, ‘हामीहरुको बीचमा एकता छ, सल्लाह नभई हुँदैन, सल्लाह भएर मात्र हामी महाधिवेशनमा जान्छौं। जसको बलियो प्रभाव छ, उही लड्छ, हामीबीच त्यही सल्लाह छ।’
उनले पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको भन्दै आगामी महाधिवेशनबाट यो अन्त्य हुने बताइन्। उनले भनिन्,‘हामी तीन जनाले भाषण गरेर हिँडेका मात्र हैनौं र हिँड्दैनौं, हामीलाई नेतृत्व परिवर्तन आवश्यक छ, पदका लागि हैन पार्टी बचाउन हामी लागेका छौं।’