‘मैले राजनीतिको एउटा असल मित्र गुमाएँ, गाउँका विकासप्रेमी नेता।’
बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झँदै नेपाली कांग्रेसका देवराज चालिसे यसै भन्छन्।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पोखरा क्षेत्र नम्बर–२ का प्रमुख प्रतिद्वन्द्वी थिए, अधिकारी र चालिसे। तत्कालीन एमाले उम्मेदवार अधिकारी २७ हजार २ सय ७ मत ल्याएर विजयी भए। यो उनका निकट प्रतिद्वन्द्वी चालिसेको भन्दा झन्डै ९ हजार मत बढी थियो।
फरक पार्टीका फरक नेताबीच भिडन्त स्वाभाविक भए पनि त्यो चुनाव चालिसेलाई ‘मित्रवत्’ लाग्छ।
‘प्रतिद्वन्द्वी वा प्रतिस्पर्धी भएर चुनाव लडेको अनुभवै भएन,’ चालिसेले बुधबार सेतोपाटीसँग भने, ‘अर्को पार्टीको नेता भए पनि उहाँ मिलनसार, भद्र र राजनीतिक संस्कार भएका नेता हुनुहुन्थ्यो।’
उनै नेताको मृत्युको खबरमा दु:ख प्रकट गर्दै चालिसे भन्छन्, ‘यो देशले रवीन्द्र अधिकारीका रूपमा राजनीतिको आशलाग्दो भविष्य गुमायो।’
तेह्रथुमको पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएको हो। उनीसहित उक्त दुर्घटनामा सात जनाको ज्यान गएको छ।
मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडा विमानस्थल सम्भाव्यता अध्ययन गरी फर्किने क्रममा पाथीभरा दर्शन गरेर काठमाडौं आउँदै थिए।
अधिकारी सानै उमेरबाट राजनीतिमा लागेका हुन्। कम्युनिस्ट राजनीतिमा संगठित हुँदा उनी ११ वर्ष उमेरका थिए। २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहपछि पञ्चायतले स्कुल तहमा पनि विद्यार्थी संगठन स्वीकार गरेको थियो। माध्यमिक विद्यालयमा विद्यार्थी युनियनको चुनाव हुने गर्थ्यो।
२०३८ सालमा शान्ति उदय मावि स्कुलमा ७ कक्षा पढ्दै गर्दा सबैभन्दा बढी मत पाएर अधिकारी अनेरास्ववियुका स्कुल कमिटी सदस्य निर्वाचित भएका थिए।
एसएलसीपछि उनी २०४२ सालमा पृथ्वीनारायण क्याम्पस भर्ना भए। त्यसपछि उनको राजनीतिक सक्रियता झनै बढ्यो।
२०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीका अध्यक्ष भए। २०४५ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सदस्य निर्वाचित अधिकारी २०४५ सालमा अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष बने।
यही क्रममा २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य भए। केन्द्रीय सदस्य रहँदै २०४९ सालमा पृथ्वीनारायण क्याम्पसका स्ववियु सभापति भए।
कम्युनिस्ट पार्टीले छेडेको पञ्चायतविरूद्धको आन्दोलनमा उनको विशेष सक्रियता देखिन्थ्यो। २०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो। ‘आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रका लागि पञ्चायतको अन्त्य’ नारासाथ उनी २०४६ को जनआन्दोलनमा क्रियाशील भएका थिए।
पञ्चायतविरोधी आन्दोलनमा लागेको भन्दै तत्कालीन सरकारले २०४६ सालमा अधिकारीलाई पक्राउ गरेको थियो। उनी त्यतिबेला आठ महिना जेल परेका थिए।
राजाको प्रत्यक्ष शासनकालमा प्रतिगमनविरोधी आन्दोलनमा पनि उनी पटक-पटक पक्राउ परेका थिए।
अनेरास्ववियुमा राजनीति गर्दा नै उनले कुशल संगठकको परिचय दिएका थिए। विद्यार्थीका लागि कोचिङ कक्षा, पुस्तकालय, सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शनलगायत माध्यमबाट उनले संगठन अघि बढाए। कम्युनिस्ट राजनीति र दर्शनको विस्तारमा लागिरहे। धेरै युवालाई कम्युनिस्ट राजनीतिमा आकर्षित गरे।
पृथ्वीनारायण क्याम्पसमा स्ववियुको कार्यकाल सकिएपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए। त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा भर्ना भए। त्यहाँको राजनीतिमा पनि उनको सक्रियता कायम रह्यो। उनी २०५३ सालमा त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति निर्वाचित भए। त्यही वर्ष उनी स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित भएका थिए।
अनेरास्ववियुको नेतृत्वमा रहँदा उनले शिक्षाको निजीकरण, व्यापारीकरणको विरोध र सबैका लागि गुणस्तरीय शिक्षाजस्ता आन्दोलन चलाएका थिए। राष्ट्रियताको पहरेदारीका लागि कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू-भाग डुबाउने लक्ष्मणपुर बाँधको उनी विरोध गर्थे।
उनी एमाले विद्यार्थी राजनीतिको उत्कर्षतिर लाग्दै गर्दा २०५४ मा महाकाली सन्धीको विवादमा एमाले पार्टी फुट्यो। वामदेव गौतमको नेतृत्वमा नेकपा माले गठन भयो। उनी मालेमा आबद्ध भए। मालेको अनेरास्ववियुबाट २०५६ सालमा उनी केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए।
मालेको राजनीति २०५६ को चुनावमा धर्मरायो। गौतम नेतृत्वको मालेले संसदमा एउटै सिट जित्न सकेन। माले फेरि एमालेमै मिसियो। मालेका केही नेता, कार्यकर्ता माओवादीमा लागे। अधिकारी भने मूलधारको संसदीय राजनीति रोज्दै एमालेमै फर्किए।
शाही शासनविरुद्धको आन्दोलनमा पनि अधिकारी अग्रपङ्तिमा थिए। ‘हत्यारा बस्ने दरबारमा हैन, झ्यालखानमा हो’ भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने अभियानको नेतृत्व उनैले गरेका थिए।
लगभग बाल्यकालमै सुरु भएको राजनीतिमा उनी बिनाथकान निरन्तर सक्रिय रहे। त्यो लामो सक्रियतामा पनि उनको सरलता र सहृदयतामा कहिल्यै कमी देखिएन। यिनै तीन कुरा उनको राजनीतक जीवनको सबैभन्दा बलियो पुँजीका रूपमा रहे। यसले उनलाई पार्टीभित्र र जनतामाझ निरन्तर लोकप्रिय बनायो।
त्यो लोकप्रियता विद्यार्थी संगठनमा होस् वा संसदीय राजनीतिमा एक समान कायम रह्यो।
२०६४ सालयता भएका तीनै निर्वाचनमा उनी कास्कीबाट निर्वाचित भएका थिए। संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा उनी कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी उठेको निर्वाचन क्षेत्र २ भएको थियो। उनी यहीँबाट कांग्रेस उम्मेदवार चालिसेलाई पराजित गरी निर्वाचित भएका थिए।
२०६४ र २०७० को संविधानसभा सदस्यमा विभिन्न समितिमा रहेर उनले काम गरे। जलविद्युत, फ्रिक्वेन्सी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, मेसिन रिडेबल पासर्पोर्टलगायत विषयमा विभिन्न उप-समितिमा रहेर त्यसको नेतृत्व गरी उनले काम गरेका छन्।
२०७० को चुनावपछि उनी विकास समिति सभापति थिए। त्यहाँ रहँदा उनले प्रभावकारी भूमिका खेले। विकासमा उनको गहिरो अभिरुचि र सक्रिय चासो थियो। उनले नेपालको विकास र समृद्धि समेटेर पुस्तक नै लेखेका थिए।
नेकपामा अधिकारी भविष्यमा सम्भावना भएका उदीयमान नेता थिए। उनको उत्साह र ऊर्जा धेरैका लागि प्रेरणा र डाहाको विषय थियो।
‘२०७० सालको चुनावमा हामी संविधान निर्माणमा सक्रिय भएर लाग्यौं, संविधान निर्माणका लागि दबाब बढायौं, महत्वपूर्ण राष्ट्रिय मुद्दामा सहकार्य गर्यौं,’ अधिकारीलाई सम्झँदै नेकपाका युवा नेता प्रकाश ज्वाला भन्छन्, ‘एनसेलको कर उठाउने, विकास खर्च बढाउने, फास्ट ट्रयाक निर्माणमा हामीले महत्वपूर्ण भूमिका खेलेका थियौं।’
पार्टी राजनीतिमा पछिल्लो समय उनी प्रधानमन्त्री केपी ओलीनिकट मानिन्थे। २०७१ मा एमालेको नवौं राष्ट्रिय महाधिवेशन हुँदा वामदेव गौतम समूह ओली खेमामा मिसिएर चुनाव लड्यो। अधिकारी त्यहीँबाट ओली समूहमा थिए। प्रतिनिधिसभा निर्वाचनपछि २०७४ फागुनमा बनेको सरकारमा ओलीले उनलाई पर्यटनमन्त्री बनाए।
पर्यटनमन्त्रीका रूपमा पनि उनको सक्रियता जबरजस्त थियो। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन, पर्यटन वर्ष २०२० लाई सफल बनाउन, त्रिभुवन विमानस्थल विस्तार गर्न उनी सक्रियतापूर्वक लागेका थिए।
लामो समय पार्टीमा सँगै राजनीति गरेका नेकपा युवा नेता योगेश भट्टराई अधिकारीको मृत्युमा निःशब्द भए। ‘म बोल्न सक्ने अवस्थामा छैन,’ उनले भने।
विपक्षी पार्टी नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशले एक आशातीत नेता गुमाएको ट्विट गरेका छन्। ‘रवीन्द्र दाइको दुर्घटनाको खबरले स्तब्ध भएँ, मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु, देशले एक आशातीत नेता,’ थापाले ट्विटमा थापाले लेखेका छन्।
इन्द्रप्रसाद र लक्ष्मीदेवीका जेठा छोरा रवीन्द्र २०२६ वैशाख २२ गते जन्मेका थिए। पोखरा महानगरपालिका वडा ३३ गैरीगाउँमा जन्मेका थिए। हाल उनी पोखरा महानगरपालिका-५ मालेपाटन बस्थे।
रवीन्द्रका भाइ दीपेन्द्र र कमल जापानमा छन्। बहिनी सानु र आमाबाबु पोखरामै बस्छन्। दुई छोरामध्ये विराज अध्ययन सिलसिलामा भारत बैंग्लोर छन्। कान्छा छोरा आमासँग काठमाडौंमा।
पृथ्वीनारायण क्याम्पसमै पढ्दा विद्या भट्टराईसँग उनको प्रेम थियो। यही क्याम्पसमै हुँदा उनीहरू वैवाहिक सम्बन्धमा बाँधिएका थिए।
पछिल्लो समय गत बिहीबार उनी गृहजिल्ला कास्की पुगेका थिए। नातेदारका अनुसार उनी पोखरा आउँदा कार्यकर्ता-शुभचिन्तक र मतदाता निकै खुसी हुन्थे। त्यो हुनुमा उनको ‘व्यक्तित्व’ थियो। जतिबेला पुग्थे, स्थानीयका पीरमर्का र समस्या सुन्थे। तल्लो तहका मतदाता र कार्यकर्तासँग घुलमिल गर्थे।
‘उहाँ नेतृत्व सहज गर्न सक्ने, हक्की र निर्धक्क बोल्नसक्ने नेता हुनुहुथ्यो,’ नातेदार धर्मराज अधिकारीले भने, ‘उहाँ पोखरा आउँदा शक्तिको दियो बल्थ्यो। पोखराको विकासका हरेक इँटामा उहाँको स्मरण गरिन्छ।’
नेपालको राजनीतिमा पनि उनको सक्रियता र सरलताको छाप रहिरहनेछ।