कर्णाली प्रदेशाका सांसदहरूले सामाजिक सञ्जालको दुरूपयोग हुन नदिने खालको कानुन बनाउनुपर्ने औंल्याएका छन्।
प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गतको शनिबार दोस्रो सदनमा भएको ‘कर्णाली प्रदेश सार्वजनिक प्रसारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले सो कुरा बताएका हुन्।
सांसद सिता नेपालीले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरूको दुरूपयोगले समस्या निम्त्याउने भन्दै यसको लागि प्रसारसम्बन्धीको विधेयकमा नै नियमनको व्यवस्था हुनुपर्ने बताइन्।
‘सामाजिक सञ्जालहरूको महत्त्व एकातिर छँदैछ, यसलाई दुरूपयोग हुने गरेकाले यो विधेयकमा सार्वजनिक प्रसारणसँगै सामाजिक सञ्जाल नियमनको पनि व्यवस्था गर्नु जरूरी छ,’ उनले भनिन्।
सांसद अमरबहादुर थापाले पनि सामाजिक सञ्जालमा नियमनको व्यवस्था गरिनुपर्नेमा जोड दिए।
सामाजिक सञ्जालको फाइदासँगै प्रयोगकर्ताले जथाभावी सन्देश प्रवाह गर्ने गरेका कारण यसबाट समस्या निम्तिने गरेको उनको भनाइ छ।
‘पहिले हुलाकबाट चिठी पठाउँदा पुग्न महिनौं लाग्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सञ्जालका कारण विश्वको खबर मिनेटभित्र प्राप्त हुन्छ,’ उनले भने, ‘यो फाइदा त छँदै छ, तर प्रयोगकर्ताले जथाभावी पोष्ट गर्ने गरेका विषयहरूले समस्या निम्त्याइरहेको छ। यसमा नियमनको व्यवस्था गरिनु अनिवार्य छ।’
सांसद देवी वलीले सामाजिक सञ्जालमा बेथिति निम्त्याउने व्यक्तिलाई उचित कारबाहीको व्यवस्था पनि विधेयकमा समावेश गर्नुपर्ने बताइन्।
‘सामाजिक सञ्जालले अहिले विश्वलाई एकै गाउँजस्तो बनाइदिएको छ,’ उनले भनिन्, ‘यतिमात्र होइन यसको दुरूपयोगका कारण सामाजिक सद्भाव खलबलिने अवस्था पनि सृजना भएको छ। यसको नियमन पनि यही विधेयकमा गर्नु आवश्यक छ।’
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘कर्णाली प्रदेश सार्वजनिक प्रसारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गरेको छ। प्रदेशमा सञ्चालित विभिन्न सञ्चार माध्यमहरूको निगरानी राख्ने विधेयकमा उल्लेख छ।
‘महिलालाई विज्ञापनका रूपमा प्रयोग गरियो’
कर्णाली प्रदेशका महिला सांसदहरूले प्राय:जसो विज्ञापनहरूमा महिलाको प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।
विभिन्न सामग्रीको विज्ञापन बनाउँदा महिलालाई मात्र धेरै राख्ने गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।
‘प्रकाशन, प्रसारण हुने धेरैजसो विज्ञापनहरूमा महिलाहरूलाई राख्ने चलन छ,’ शनिबार सदनमा बोल्दै सांसद सिता नेपालीले भनिन्, ‘महिलाहरूलाई विज्ञापनका रूपमा प्रयोग गर्ने जुन चलन छ, यो आपत्तिजनक छ।’
सांसद देवी वलीले पनि महिलाको प्रयोग विज्ञापनमा धेरै गरिनु गलत भएको बताइन्।