राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधिन रूपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र व्यवस्थापनमा जर्मनीले इच्छा देखाएको छ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग आईतबार भेट गरी जर्मनीका राजदूत रोल्याण्ड स्याफरले उक्त इच्छा व्यक्त गरेका हुन्।
भेटघाटमा मुख्यमन्त्री पोखरेलले यो प्रदेशमा जर्मनीका लगानीकर्ता इच्छुक भए स्वागत गर्न तयार रहेको बताएपछि राजदूत रोल्याण्डले यस्तो इच्छा व्यक्त गरेका हुन् ।
जर्मन राजदूतको जवाफमा मुख्यमन्त्री पोखरेलले विमानस्थलन सञ्चालन र व्यवस्थापनको लागि संघीय सरकारको समन्वयमा अगाडि बढ्न सकिने बताएका थिए।
फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी फागुन १७ गते जर्मनीमा गौतमबुद्ध विमानस्थल सञ्चालन र व्यवस्थापनकै विषयमा छलफल गर्न जाने कार्यक्रम तय भएको थियो।
दिवंगत मन्त्री अधिकारीले गौतमबुद्ध विमानस्थल व्यवस्थापनको जिम्मा जर्मन सरकारलाई दिने विषयमा धेरै पटक छलफल चलाइसकेकाले जर्मनी टोलीले यो विषय अघि सारेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले सेतोपाटीलाई जानकारी दिए।
आइतबारको भेटमा टोलीले प्रदेश ५ सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको थियो। मुख्यमन्त्री शंकर पोखरेलले संघीयता कार्यान्वयनको पहिलो वर्षमा रहेकोले प्रदेश सरकारले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा संघीय संरचना अनुसार सांगठनिक संरचना तयार भएको जानकारी दिए।
पोखरेलले संघीयता कार्यान्वयनका क्रममा विश्वका अनुभव अध्ययन गर्ने क्रममा जर्मनीको अनुभव पनि अध्ययन गरेको र नेपालको संघीयता मौलिक चरित्रको भएको बताए।
उनले प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको र यो प्रदेशलाई नमूना प्रदेश बनाउन खोजेको जानकारी दिए ।
मुख्यमन्त्री पोखरेलले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेकोप्रति प्रशंसा गर्दै प्रदेशको विकास प्रयासमा पनि जर्मनीको सहयोगको अपेक्षा गरेको बताए । उनले जर्मनीका लगानीकर्ता इच्छुक भए स्वागत गर्न तयार रहेको बताए ।
भेटमा राजदूत स्केफरले प्रदेशको प्राथमिकताका आधारमा जर्मन सहयोग र लगानी गर्न चाहेको बताए । उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकुल कानुनी वातावरण, तालिमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
भेटमा जर्मन संसदका सदस्य टोविया पीफुगर, बेटिना स्टर्क, गबिइले कट्मार्क, संसदका प्रमुख मोनिका हेइन लगायत सहभागी थिए । भेटमा टोलीले केही दिनअघि हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहितको निधन भएकोमा स्तब्ध भएको भन्दै सहानुभूति व्यक्त गरेको छ ।