२०७० सालमा संविधान सभाको दोस्रो चुनावको रिपोर्टिङ गर्न सेतोपाटी टिम मधेस गएको थियो।
स्वाभाविक रूपमा मधेसलाई चुनाव लागेको थियो। होटल, चिया पसल, चोकमा चुनावको चर्चा र बहस तातिएको थियो।
बर्दिवासको गौतम होटलमा पनि यस्तै बहस चलिरहेको थियो।
होटलमा काम गर्ने एकजना कर्मचारीले भने, ‘तपाईंहरू सबैले दिएका भोट खेर गए। मैले झन्डै बीस वर्षअघि दिएको भोट मात्रै काम लाग्यो।’
उनले २०५१ सालको मध्यावधी निर्वाचनमा भोट दिएका रहेछन्।
‘त्यसपछि म काम गर्न भारत गएँ, यसपालि मात्र आएको।’
उनले धक्कु लगाउँदै प्रश्न गरे, ‘मैले दिएको भोटले मनमोहन अधिकारी प्रधानमन्त्री बने। उनले वृद्धवृद्धालाई भत्ता दिए। आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम ल्याए। त्यसपछि कुनै सरकारले त्यति राम्रो काम गरेको छ?'
एमालेको पहिलो सरकारले सुरू गरेको मासिक १०० रूपैयाँको वृद्ध भत्ता र प्रत्येक गाँउलाई ‘आफ्नो गाउँ आफैं बनाउँ’ मार्फत् वार्षिक तीन लाख रूपैयाँको आम मतदातामा कत्रो ठूलो प्रभाव थियो भन्ने यो एउटा उदाहरण हो।
बजेटमार्फत् एमालेका यी दुई ‘ट्रेडमार्क' कार्यक्रम घोषणा गर्ने अर्थमन्त्री थिए- भरतमोहन अधिकारी।
अधिकारीले सुरू गरेको एक सय रूपैयाँको वृद्धभत्ता अहिले २ हजार पुगेको छ। संघीयता पछि त सिधै गाँउ जाने पैसा करोडौं पुगेको छ।
वृद्धभत्ता र गाँउ/गाँउ जाने रकमले एमालेलाई ‘जनता'का पक्षमा काम गर्ने पार्टीका रूपमा स्थापित गर्यो। त्यसले मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसलाई दबाबमा पार्यो।
‘त्यतिबेला गाउँमा पैसा नै पुग्दैनथ्यो। काठमाडौंमा खर्च हुन्थ्यो’, अधिकारीसँगै राजनीति गरेका कमल कोइराला भन्छन्, ‘गाउँमा पैसा जान थालेपछि थोरै पैसा राखेर बाँकी श्रमदानबाट धेरै काम भए। गाउँमा २ लाखमा कुलो बन्यो। जनप्रतिनिधि आफैं खटेर श्रमदान गरे।’
कोइरालाले अर्को उदाहरण पनि दिए- पर्खाल लगाउन तारजाली किन्न बजेट छुट्टयाएपछि श्रमदानबाट ढुङ्गा बिछ्याइयो। यसरी गाउँमा सानो पैसाले ठूलो काम भयो।’
अर्थमन्त्री भएपछि अधिकारीले नै वृद्धलाई भत्ता दिन सुरू गरेका थिए।
‘त्यसले लोककल्याणकारी राज्यको जग बसाल्यो,’ कोइरालाले भने, ‘मान्छेको बजेटमा चासो नै हुँदैनथ्यो। त्यसपछि बजेटमा आममानिसको चासो बढ्यो।’
अधिकारीले बजेटमार्फत् आफ्नो गाउँ आफैं बनाउँ र वृद्धभत्ताको कार्यक्रम घोषणा गरे पनि त्यसमा पार्टीको सोच र स्वामित्व पनि रहेको जिकिर कोइरालाले गरे।
‘२०५१ सालको मन्त्रिपरिषदमा रहने सदस्यको नामसमेत केन्द्रीय समितिले अनुमोदन गरेको थियो’, कोइराला भन्छन्, ‘बजेटमा आउने कार्यक्रम अर्थमन्त्रीले पार्टीमा जानकारी गराउँथे। पार्टी सामूहिक नेतृत्वमा चल्थ्यो।’
भरतमोहनले सुरू गरेका यी लोकप्रिय कार्यक्रमले सत्ताबाट भर्खरै उत्रिएको कांग्रेसलाई दबाबमा पार्यो। सुरूमा उसले ‘कम्युनिष्टका पपुलिष्ट कार्यक्रम' भनेर विरोध गर्यो।
नेपाली कांग्रेसको २०४८ सालको सरकारले पनि गाउँमा पैसा नलगेको होइन। ग्रामीण भेगमा ७० प्रतिशत बजेट भन्ने उसको नारा नै थियो। गाउँका शिक्षा, स्वास्थ्य, खानेपानीमा प्रशस्त बजेट बढाएको थियो। यो क्षेत्रमा पूर्वाधार खडा गर्न त्यसले ठूलो भूमिका खेलेको छ।
तर एमालेको पालामा सिधै बूढाबूढीका हातमा पैसा र निर्वाचित स्थानीय निकायका हातमा पुगेको बजेटले कांग्रेसको कार्यक्रमलाई फिक्का बनायो।
एमालेका यी ट्रेडमार्क कार्यक्रमलाई सुरूमा विरोध गरेका कांग्रेस नेता रामशरण महतले नै पछि अर्थमन्त्री हुँदा वृद्धभत्ता बढाउने निर्णय गरे। गाउँमा थप बजेट पठाए।
भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीति सुरू गरेका अधिकारी भारतीय स्वतन्त्रता आन्दोलनमासमेत जेल परेका थिए।
आफ्नै सहोदार दाजु मनमोहन अधिकारी र कोइराला परिवारसँगै भरतमोहन विराटनगरको जुट मिल आन्दोलनमा समेत सहभागी थिए।
‘त्यतिबेला जुट मिल आन्दोलनमा कांग्रेस, बिहारको सोसलिस्ट पार्टी र कम्युनिष्टको झण्डा थियो। गिरिजाप्रसाद र मनमहोन अधिकारी आन्दोलनको नेतृत्वमा थिए’, कोइराला भन्छन्।
त्यो मजदुर आन्दोलनदेखि नै भरतमोहनमा समाजको तल्लो तप्काका मानिसका समसस्याप्रति गहिरो चासो र चेत विकास भएको देखिन्छ। दाजु मनमोहनको समाजवादी चेतना र विचारबाट भरतमोहन थप दीक्षित भए।
पहिलो पटक अर्थमन्त्री बन्दा मात्र होइन, त्यसपछि पनि उनले पैसा ग्रामीण भेग र आम मानिस जोडिने विकासमा खर्च गर्न खोजेको उनीसँग निकट रहेर काम गरेका नेकपा नेता सूर्य थापा सम्झिन्छन्।
२०६१ सालमा राजा ज्ञानेन्द्रले कूगर्नु अघि अधिकारी शेरबहादुर देउवा मन्त्रिपरिषदमा अर्थमन्त्री थिए। सरल स्वभावका अधिकारी सबैसँग सजिलै घुलमिल हुने खालका थिए।
‘सबैको कुरा सुन्ने, विनम्र। बजेट राम्रो बनाउने विषयमा सधैं चिन्तनशील हुनुहुन्थ्यो’, त्यतिबेला अधिकारीका सञ्चार सल्लाहकार रहेका थापा भन्छन्, ‘बजेटमा नयाँ नयाँ कार्यक्रम थपेर पपुलर बनाउनेमा गम्भीर भएर लाग्नुहुन्थ्यो।’
अर्थमन्त्रीका रूपमा अधिकारीले बजेटलाई सरकारी कार्यक्रमभन्दा बृहत जनताको सरोकारको विषय बनाउन भूमिका खेलेको थापाले बताए।
‘०६१ सालमा चिनियाँ राजदूतसहित उहाँ कोशी- ल्हासा सडकका लागि संखुवासभा पुग्नुभयो। किमाथांका जोड्ने त्यो सडक १४ किलोमिटर ट्र्याक खोल्न बाँकी छ। उत्तर दक्षिण राजमार्ग निर्माण गर्नुपर्छ भन्ने उहाँको दीर्घकालीन सोच देखिन्छ,’ थापाले भने।
निर्माणाधीन मध्यपहाडी राजमार्गबारे २०५१ को बजेटमै अधिकारीले उल्लेख गरेका थिए। २०५२ को बजेटमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु पर्ने आवश्यकता औंल्याएका थिए।
चार पटक अर्थमन्त्री भए पनि काठमाडौंमा अधिकारी परिवार लामो समय कलंकीको सुनारगाउँको डेरामा बसेको थियो।
‘केही वर्षअघि अधिकारी सानेपाको कोलनीमा सर्नुभएको हो’, थापाले भने, ‘आफ्नै घरमा बस्नु भएको तीन/चार वर्षमात्र भयो।’
भरतमोहनसँगै विराटनगरमा पढेका समकक्षी कोइराला तत्कालीन एमालेको सामूहिक नेतृत्व प्रणालीका कारण उनको व्यक्तित्व बनेको बताउँछन्।
‘अहिले नेताहरू नै हाम्रो भूमिका हरायो। खै भूमिका भन्छन्’, कोइरालाले भने, ‘सबै शक्ति वालुवाटारमा केन्द्रीत भयो। अध्यक्ष शक्तिशाली भए। सामूहिक नेतृत्वमा भएका जति काम अहिले भएका छैनन्।’
‘आफ्नो गाउँ आफैं बनाउँजस्ता कार्यक्रममा श्रमदान हुन्थे। जनप्रतिनिधिका भूमिका थिए’, कोइराला भन्छन्, ‘संघीयतामा गएपछि जनप्रतिनिधिले विकासको काममा भूमिका खेल्न छाडेका छन्। ठेकेदार र कर्मचारीले काम गर्न थालेका छन्।’
भरतमोहनले सहज स्वभाव र सबैको कुरा सुन्ने व्यक्तित्व र सामूहिक नेतृत्वमा चल्ने स्वभावले उनको पहिचान बनेको कोइरालाको बुझाइ छ।
तत्कालीन एमालेले राजनीतिमा उमेर हद ७० वर्ष कायम गरेपछि २०७१ सालबाट उनी राजनीतिमा सक्रिय भएनन्। राजनीतिबाट निष्क्रिय हुनु अघिसम्म उनी स्थायी समिति सदस्य थिए।
राजनीतिमा नभए पनि उनी आर्थिक अवस्थाको विश्लेषण गरिरहन्थे। उनले २०६७ सालमा पार्टीको मुखपत्रमा आर्थिक विश्लेषण गर्दै लेखेका छन्- विगत ६० वर्षको अध्ययन गर्दा कुनै पनि आवधिक आर्थिक योजना धरातलीय यथार्थमा उभिएर निर्माण हुन सकेनन्। कसैले आर्थिक विकासको मोडल निर्माण गर्न सकेनन्। आर्थिक विकासको प्रस्ट दृष्टिकोण निर्माण हुन सकेन। अर्काको नक्कल गरी योजना निर्माण गरियो। आर्थिक विकासको सुस्पष्ट दीर्घकालीन सोच र तद्नुरूप राजनीतिक प्रतिवद्धता आउन सकेन। कार्यक्रमको कार्यान्वयन पक्ष ज्यादै कमजोर र फितलो रह्यो।’
चार पटक मुलुकका अर्थमन्त्री बनेका अधिकारीले मुलुकमा कृषि उपजकै आयात उच्चदरमा बढेकोमा चिन्ता प्रकट गरेका थिए। उनले नेपालको आर्थिक विकासको आधार ‘कृषि, जलश्रोत र पर्यटन’ रहेको धारणा राख्दै आएका थिए।
उनै अधिकारीको शनिबार ८३ वर्षको उमेरम निधन भएको छ। उनका श्रीमती र तीन छोरी छन्।