प्रहरीले बुधबार धरान उपहानगरपालिका–६ पानमाराबाट एम-१६ र एलएमजी राइफलसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता देवकुमार लिम्बूलाई पक्राउ गर्यो।
उनी चढेको मे ५ प ७५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा तन्नाले बेरेर राखेको अवस्थामा एलएमजी, त्यसको स्टेन्ड, म्यागजिन दुई थान र एम-१६ राइफल र त्यसको म्यागजिन फेला परेको थियो।
प्रहरी अनुसन्धानबाट मोरङ केराबारी गाउँपालिका-१० बाहुनी बस्ने ४२ वर्षीय लिम्बू विप्लव माओवादीको कोसी ब्युरो सदस्य तथा मोरङ–धनकुटा जिल्लाका इञ्चार्ज रहेको खुलेको छ।
उनको पक्राउसँगै महत्वपूर्ण अर्को पाटो पनि खुलेको छ- प्रहरी उच्च स्रोतका अनुसार लिम्बूबाट बरामद दुबै हतियार सशस्त्र युद्धताका प्रचण्ड नेतृत्वको माओवादीले सेनाको ब्यारेकबाट लुटेका हतियार हुन्।
‘कहाँ-कहिले र कुन ब्यारेकबाट लुटिएका हतियार हुन् भन्ने कुराको अनुसन्धान सेना आफैंले पनि गरिरहेको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘रोल्पाबाट माओवादीले लुटेको हतियार भएको प्रारम्भिक सूचना सेनाबाट आएको छ।’
एम-१६ अमेरिकी सेनाले चलाउने अत्याधुनिक राइफल हो भने एलएमजी भारतमा निर्मित राइफल हो। एलएमजी सेनाबाहेक सशस्त्र प्रहरीले पनि बोक्ने गर्छ। तर एम-१६ राइफल नेपालमा सेनाले मात्र चलाउँछ।
एम-१६ ले पाँच सय पचास मिटरसम्म फायर क्षमता राख्छ। यसमा स्वचालित र अर्धस्वचालित फायर सिस्टम छन्। स्वचालित र अर्धस्वचालित गोली ‘लोडेड’ दुबैमा यो हतियारले लामो दूरीमा असर गर्छ। यसले स्वचालितमा मिनेटमा ७००-९५० र अर्धस्वचालितमा ४५-६० गोली फायर गर्छ। एलएमजीले स्वचालितमा ६००–६५० राउन्ड मिनेट फायर क्षमता राख्छ। अर्धस्वचालित अवस्थामा यसमा २०–३० गोली फायर गर्छ। यसले ६०० मिटरसम्म असर गर्छ। स्टेन्डसमेत भएको हुनाले यो राइफलबाट घुमाइ–घुमाइ फायर गर्न सकिन्छ।
यी हतियार बरामद पछि मोरङका उत्तरी क्षेत्रमा माओवादी गतिविधि बुझ्न र हतियारबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयको ‘इन्टेलिजेन्स’ ब्युरोबाट टोली खटाएको छ।
डिएसपीको नेतृत्वमा खटिएको उक्त टोलीले सेनासँग मिलेर हतियारको अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।
अनुसन्धानमा प्रतिआतंकवाद निर्देशन कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश-१ प्रहरी कार्यालय, संघीय इकाइ प्रहरी सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, मोरङ, इलाका प्रहरी कार्यालय धरानलगायत धेरै युनिटहरूले अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बतायो।
‘अहिले एउटा कटुवा पेस्तोल बरामद हुँदा पनि सेनाले चासो राखेर अनुसन्धान गरिरहेको अवस्था हो, सेना आफैंले चलाउने गरेको हतियार बरामद भएको अवस्थामा उसले अनुसन्धान नगर्ने कुरै आउँदैन,’ प्रहरी उच्च स्रोतले भन्यो।
धरानबाट बरामद दुबै हतियारबारे नेपाली सेनाले पनि अनुसन्धान गरिरहेको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले बताए।
‘कुन नम्बरको हतियार कहाँबाट हराएको थियो, हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ,’ ढकालले सेतोपाटीसँग भने, ‘दुबै हतियार सेनाले नै बढी प्रयोग गरेको हुनाले प्रहरीसँग पनि सहयोग लिएर अनुसन्धान गरिरहेका छौं।’
२०६३ चैत २७ गते राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) ले माओवादी लडाकुसँग भएका हतियारको तथ्यांक सार्वजनिक गरेको थियो। कन्टेनरमा २ हजार ८५५ हतियार, शिविर पेरिमिटर सुरक्षामा ५२४ हतियार र माओवादी नेतृत्वको सुरक्षाका लागि ९६ वटा हतियार रहेको अनमिनले बताएको थियो।
अनमिनले सार्वजनिक गरेको हतियार सूची सत्य नभएको भन्दै त्यतिबेला नै सेनाले हतियार लुकाइएको शंका गरेको थियो। सेना, प्रहरी, सशस्त्र प्रहरीसँग युद्धको समयमा ३ हजार ४३० हतियार माओवादीले लुटेको जनाइएको थियो। त्यसबाहेक पनि माओवादीसँग विभिन्न अत्याधुनिक हतियार रहेको आशंका गरिएको थियो। तीमध्ये २ हजार ८२४ थान हतियारमात्र कन्टेनरमा राखिएको थियो।
‘बाँकी हतियार कहाँ गए?’
तत्कालीन माओवादी नेतृत्वमा रहेका पुष्पकमल दाहालले अरू हतियार ‘खोलाले बगायो’ भनी प्रतिक्रिया दिएका थिए।
सेनाको ‘इन्टेलिजेन्स’ ले त्यो बेला हराएका वा माओवादीले लुकाएर राखेका धेरै हतियार विप्लव माओवादीको कब्जामा गएको आशंका गरेको छ।
विप्लवका कार्यकर्ताबाट अत्याधुनिक अतियार बरामद हुँदा सेनाको त्यो आशंकालाई बल पुगेको एक प्रहरी अधिकृतले बताए।
‘माओवादीले पुरै हतियार बुझाएको थिएन भन्ने पुष्टि यस्ता घटनाले गरिरहेका छन्,’ उनले भने।
प्रचण्ड माओवादीको युद्ध उद्गम रोल्पाबाट जसरी भएको थियो, त्यस्तै तौरमा विप्लव माओवादीले मोरङमा गतिविधि बढाएको प्रहरी प्रधान कार्यालयको भनाइ छ।
प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार मोरङ केराबारीका जंगलमा माओवादीले हतियार भण्डारणको स्थान बनाएको सूचना छ।
‘यस्ता अत्याधुनिक हतियारको ओसारपसार, भण्डारण, बम बिस्फोट लगायतका घटनाले युद्धको पूर्वअभ्यास देखाउँछ,’ प्रवक्ता सुवेदीले भने।
यो पनि पढ्नुस् :
मोरङ प्रहरीका अनुसार पानमारादेखि केराबारीसम्म जंगलैजंगल बाटो छ। जहाँ सेना, प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति शून्यप्रायः छ।
‘यो बाटो भएर विप्लव माओवादीले गतिविधि गरिरहेको जानकारी आएपछि हामीले उपस्थिति बढाएका छौं,’ मोरङका प्रहरी उपरीक्षक मनोज केसीले भने।
केराबारी पूर्व-पश्चिम राजमार्गको उत्तरी क्षेत्र हो। राजमार्ग उत्तरको अधिकांश भूभाग जंगल छ।
केराबारीमात्र नभएर लेटाङ, जाँते, जेफाले, सिंहदेवी जंगल क्षेत्रमा प्रहरी, सशस्त्र र सेनाको उपस्थिति निकै न्यून छ। सेना र सशस्त्र प्रहरीका ब्यारेक भए पनि उनीहरूको गतिविधि सीमित छन्। न्यून जनशक्ति रहेको नेपाल प्रहरीले यी क्षेत्रमा काठ तस्करी नियन्त्रण गर्न पनि नसकेको गुनासो छ।
लेटाङ र सिंहदेवीबाट पाँचथरको छ नम्बर बुधबारे हुँदै धनकुटाको राजारानी क्षेत्र जोडिन्छ। यी इलाका सशस्त्र युद्धताका माओवादीलाई ‘सुरक्षित’ मानिन्थे। माओवादीहरू यी इलाकाबाट हतियार, बम तथा बन्दोबस्तीका सामान ओसार्थे, लडाकु सेनालाई तालिम दिन्थे।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसी भन्छन्, ‘राजमार्ग उत्तरका जंगलमा हतियार ओसारपसार र भण्डारण छ भन्ने सूचना आइरहेको छ, हामीले हेरिरहका छौं। केराबारी, लेटाङ, जाँते, जेफाले र सिंहदेवी क्षेत्रमा शंका र सम्भावनालाई विश्लेषण गरेर प्रहरी परिचालन गरिरहेका छौं।’
प्रहरीले सक्रियता बढाएर विप्लव माओवादीको मोरङ उत्तरी क्षेत्र हेर्ने नेता जितेन्द्र महरालाई ११ फागुनमा पक्राउ गरेको छ। महराको घर जाँते हो। मलाया रोडस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय परिसरमा बम बिस्फोट गराएको अभियोगमा उनी पक्राउ परेका थिए।
अदालतले उनलाई धरौटीमा रिहा गरेलगत्तै फागुन १४ गते फेरि पक्राउ गरिएको छ। २०७४ चैत ११ गते पथरीस्थित हरियाली सामुदायिक वनमा बम बिस्फोट गराएको आरोपमा उनलाई पुनः पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। महरा अहिले अनुसन्धानकै क्रममा हिरासतमा रहेको प्रहरी उपरीक्षक केसीले बताए। मोरङमै तीन राउन्ड गोलीसहित पक्राउ परेका विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्रलाई भने अदालतले धरौटीमा छोडिसकेको छ।
प्रधान प्रधान कार्यालयका अनुसार २०७५ सालमा विप्लव माओवादीका ३७४ जना पक्राउ परेका छन्। तीमध्ये शंकास्पद मात्र रहेका १७ जना रिहा भइसकेका छन्। बाँकी सबै हिरासतमा छन्, अधिकांश चन्दा संकलनमा थुनिएका छन्।
प्रहरीले अरु जिल्लाबट पनि माओवादी कार्यकर्ता नियन्त्रमा लिइरहेको छ। सिन्धुपाल्चोकको चौताराबाट शनिबार मात्र जिल्ला तहका १७ जना माओवादी कार्यकर्ता पक्राउ परेका छन्। जिल्लामा चन्दा आतंक मच्चाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए।
प्रहरीका अनुसार विप्लव माओवादीको चन्दा–आतंक तीब्र छ। पुरानो माओवादीभन्दा आक्रामक शैलीमा विप्लव माओवादीले चन्दा उठाएको गुनासो र उजुरी रहेको प्रहरी प्रवक्ता एसएसपी सुवेदी बताउँछन्। ‘समातिएका बढीभन्दा बढी विप्लव कार्यकर्ता चन्दा आतंकमा छन्, विप्लव माओवादीको सबभन्दा ठूलो सफलता अहिले चन्दा उठाउनेमा देखिन्छ,’ सुवेदीले भने।
बम बिस्फोट तथा आगजनीका ठूला घटनामा प्रहरीले विप्लवका कार्यकर्ता खासै समातेको छैन। चितवन कालिका नगरपालिका–९ शक्तिखोरस्थित शिवम् सिमेन्टमा गत जेठ १९ गते विप्लव माओवादीले जनकारबाही भन्दै आगजनी गरेको थियो। त्यो घटनामा कोही पक्राउ परेका छैनन्।
एनसेलको मुख्यालय नख्खुमा गराइएको बिस्फोट घटनामा एक जना समातिएका छन्। अछामको ढकारी गाउँपालिका–३ चुहिने जंगलमा रहेको एनसेल टावरमा फागुन ११ गते आगलागी गराएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ परेका कतिपयलाई योजना बनाउने कार्यमा संलग्न भएको, चन्दा–आतंक लगायत गतिविधि गरेको भनी प्रहरीले मुद्दा चलाएको छ।
विप्लव माओवादीबाट दुई वर्षयता गराइएका बिस्फोटमा ललितपुरमा ३, दाङ र कैलालीमा एक–एक जना मारिएका छन्, ३४ जना घाइते छन्।
विप्लव माओवादीले प्रमुख रुपमा वैदेशिक लगानी भएका ठूला आयोजनाहरूलाई निशाना बनाएको छ। अरूण तेस्रो र माथिल्लो कर्णाली बन्द गराउने चेतावनी उसले दिइसकेको छ। यसबाहेक निशानामा परेको एनसेल हो। सरकारलाई तिर्नुपर्ने कर नतिरेको आरोपमा विप्लव माओवादीले एनसेलमा शृंखलावद्ध आक्रमण गरिरहेको छ।
प्रहरी प्रवक्ता सुवेदी भन्छन्, ‘पहिलेको माओवादीले युद्ध थाल्दा केही सकारात्मक कामहरू गर्न खोजेको देखिन्थ्यो, तर विप्लवको गतिविधि निकै आक्रामक छ, ठूला र वैदेशिक लगानी भएका योजनाहरूमा उनीहरूको गतिविधि आक्रामक छ।’