हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्नेहरूले विकास प्रेमी नेता गुमाएको भन्दै समवेदना प्रकट गरेका छन्।
रवीन्द्र अधिकारीको पोखरा ५ मालेपाटनमा रहेको घरमा उनका परिवारलाई समवेदना दिन हजारौं सहभागी भएका छन्।
गायिका हरिदेवी कोइराला, पदमराज ढकाल, मनकुमार श्रेष्ठ, नवराज बराल लगायतले समवेदना दिँदै लेखेका छन् – ‘युवाहरूका ढुकढुकी कलाकारहरूको प्रेरणा, विकासका पहरेदार रवीन्द्र अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं। तपाईंले देखाउनु भएको बाटोमा सधैं लाग्ने प्रण गर्दछौं।’
त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी कास्कीले पूर्व अध्यक्ष वामदेव ढुंगाना, उपाध्यक्ष डण्डराज पौडेल लगायतले ‘नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्री अति इमान्दार, छविका नेता, विगतमा जुनियर रेडक्रस सर्कलको नेतृत्व गरी रेडक्रस अभियानलाई सदैव उर्जा थप्ने माननीय रवीन्द्र अधिकारीको अपुरणीय क्षति भएको छ,’ समवेदनामा लेखेका छन्।
त्यसैगरि गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले अधिकारीकी धर्मपत्नी विद्या अधिकारी, छोरा स्वराजसँग छोटो कुराकानी गर्दै उनले शोकाकुल सबै परिवारजनलाई समवेदना प्रकट गरेका थिए। ‘रविन्द्र अर्थात रवि ९आदित्य० प्रज्वलित प्रकाश छर्ने वाला जसले आफ्नो राजनैतिक जीवनभर जनकल्याणको लागि काम गरे। बहालवाला मन्त्री छँदा अकालमै उहाँको निधन हुँदा म अत्यन्त मर्माहत भएको छु’, प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा लेखेका छन्,‘माता पिता तथा मातृभूमिले एउटा सुपुत्र गुमाएको छ। जनताले एउटा सुयोग्य नेता गुमाएको छ।’
‘मेरो भाइजस्तै मलाई सँधै दाजु बनेर बोलाउने स्नेही र सधैं प्रशन्न रहने उच्च व्यक्तित्व कहिलेकहीँ पवित्र कोखबाट जन्मने गर्छन्। धन्य छ त्यो पवित्र कोख जसले यस्तो ओजस्वी नागरिक, नेता मातृभूमिलाई दिएको थियो। बिडम्बना दैवको क्रुर प्रहार यस्तो व्यक्तित्वलाई हामीबाट चुडेर लग्यो’ प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा उल्लेख गरेका छन्।
समवेदना र श्रद्धाञ्जली दिन दैनिक हजारौं घरमा आएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले जानकारी दिए। उनले दैनिक १० हजारभन्दा बढी श्रद्धाञ्जली दिन आएको बताए। धेरैले विकास प्रेमी नेताका रूपमा अधिकारीको स्मरण गर्दै निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको बताएका छन्। विकासमा यो वा त्यो नभनी सबैलाई मिलाएर लैजान सक्ने क्षमता अधिकारीमा रहेको उल्लेख गरेका छन् ।