कालिका मानवज्ञान माविको कक्षा १२ मा कानुन संकाय अध्ययनरत बबिता अर्याललाई प्रदेशसभा बैठकमा पनि सांसदहरू अनुशासित भएर बसेको देख्दा अचम्म लाग्यो।
मिडियामा संसद बैठकका समाचार हेर्दा एकअर्काप्रति घोचपेच, अवरोध र तोडफोड समेत देखेकी बबितालाई प्रदेशसभा बैठकमा पनि सधैं त्यस्तै हुन्छ होला भन्ने लागेको थियो।
तर बुधबार प्रदेश नं. को प्रदेशसभा बैठकबाट बाहिरिएपछि भने उनले प्रदेशसभा धेरै अनुशासित पाएको प्रतिक्रिया दिइन्।
‘प्रदेशसभाबारे सैद्धान्तिक जानकारी थियो तर प्रदेशसभामा के-के हुन्छ भन्ने थाहा थिएन, बैठक यति अनुशासित हुँदो रहेछ, मैले कल्पना गरेको संसद र आफैंले देखेको संसदमा धेरै फरक पाएँ,’ उनले भनिन्।
कक्षा १२ कै अमर पाण्डेलाई भने प्रदेशसभा बैठकमा सबै सांसदहरूलाई उपस्थित भएको नदेख्दा मन खिन्न बनायो।
‘हामीले असाध्यै आशा र भरोसा गरेर मत दिएर सांसदलाई पठाएका हौं, तर बैठकजस्तो महत्वपूर्ण काममा पनि उहाँहरूको उपस्थिति नहुने हो भने हाम्रो मत किन चाहियो ?’ उनले प्रश्न गरे।
कतिपय ऐन कानुन नबन्दा जनताका कामहरू हुन नसकेको भन्दै उनले ती ऐन कानुन बनाएर जनताको कामलाई सहज बनाउन पनि सांसदहरूको उपस्थिति धेरै हुनुपर्ने उनको सुझाव छ।
कालिका मानवज्ञान माविले कानुन संकायमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यास स्वरूप पहिलोपटक प्रदेशसभा बैठकमा सहभागी गराएको थियो।
पूर्वअनुमतिसहित झण्डै एक घण्टा प्रदेशसभा बैठकमा बसेका विद्यार्थीहरूले आफूले सुन्दै र हेर्दै आएको संसदभन्दा प्रत्यक्ष हेर्न पाउँदा धेरै फरक पाएको बताए।
कक्षा १२ की शिवाना थापा क्षेत्रीले सांसदहरूलाई प्रत्यक्ष रूपमा भेटेर बैठक अवलोकन गर्न पाउँदा रमाइलोसँगै धेरै कुराहरू सिक्न पाएको बताइन्।
‘हामीलाई कक्षामा प्रदेशसभाबारे सैद्धान्तिक ज्ञानमात्र दिइएको थियो, ऐन, कानुन, विधेयक कसरी पारित हुन्छन्, थाहा थिएन त्यो बुझ्ने मौका पायौं,’ उनले भनिन्।
अर्चना कार्कीले पनि संसदमा विधेयक कसरी दर्ता हुन्छन्?, कसरी पास हुन्छन्?, विधेयकहरूले कसरी ऐनको रूप लिन्छन् र कार्यान्वयनमा जान्छन्? भन्ने कुरा समेत एकैदिनको प्रदेशसभा बैठकले सिकाएको बताइन्।
कक्षा कोठामा मात्र दिएको सैद्धान्तिक ज्ञानले विद्यार्थीहरूले परीक्षामा राम्रो अंक ल्याए पनि व्यवहारिक र प्रयोगात्मक ज्ञान नहुँदा पछि काम गर्न जाँदा अप्ठ्यारो पर्ने भएकोले कानुनसँग जोडिएका विभिन्न स्थानहरूको अवलोकन गराउने गरिएको विषय शिक्षक दामोदर घिमिरेले जानकारी दिए।
यसअघि प्रहरी कार्यालय, कारागार, अदालत, वडा कार्यालय, पालिका लगायतका विभिन्न कार्यालयहरूमा अवलोकन तथा अध्ययनको लागि लगे पनि प्रदेशसभामा लगेको भने बुधबार पहिलो पटक भएको विद्यालयका प्राचार्य घनश्याम पाठकले बताए।
‘विद्यालयबाट निस्किँदा हाम्रा विद्यार्थीहरू किताबका सैद्धान्तिक ज्ञानमा मात्र होइन व्यवहारिक ज्ञानमा पनि खारिएर जाउन् भन्ने हाम्रो उद्देश्य हो। सोही अनुरूप विभिन्न कार्यालयहरूमा प्रयोगात्मक अभ्यासको लागि लैजाने गरेका छौं,’ उनले भने।
कालिका मानवज्ञान माविमा कक्षा ११ र १२ मा गरी १ सय २८ जना विद्यार्थीहरू अध्ययनरत छन्। तीमध्ये ६० जनाले बुधबारको प्रदेशसभा बैठकमा अवलोकन गरेको र बाँकी विद्यार्थीलाई अर्को कुनै बैठकमा अवलोकनको लागि लगिने अर्का शिक्षक युवराज कँडेलले जानकारी दिए।