'टुँडिखेलमा यसपटक सेना दिवस मनाइएन? समाचारमा देख्दिनँ त!'
हामीलाई भेट्नेबित्तिकै उनले यही सोधिन्।
त्यसपछि लगालग दुइटा अरू जिज्ञासा राखिन्।
'हेलिकप्टर दुर्घटनामा को को परेका हुन्?'
जवाफ सुनेपछि सोधिन्, 'मन्त्रीको निर्वाचन क्षेत्र हो त्यो?
कमल राणा नेपालको पहिलो माथिल्लो सदन (महासभा) की उपाध्यक्ष हुन्। उमेरले ९० वर्ष पुगिन्। तै उनको बोल्ने क्षमता कम छैन। हालैको एक मध्याह्न हामी विशालनगरस्थित उनको अपार्टमेन्ट पुग्दा उनी एक अंग्रेजी दैनिक पढिरहेकी थिइन्।
यो उमेरमा पनि दैनिक घटनाबारे सोधिखोजी गर्ने जाँगर कम छैन। पछिल्ला घटनाहरू चाँडो बिर्सिन्छिन्, पुरानो स्मरणशक्ति भने लोभलाग्दो छ।
हामीले उनीसँग पहिलो संसदको अनुभव र महिला क्षेत्रमा भएका प्रगतिबारे कुराकानी गर्यौं।
राजाको कोटाबाट उपाध्यक्ष
पहिलो संसदको माथिल्लो सदनमा ३६ जना सांसद थिए। तीमध्ये १८ जना राजाबाट मनोनीत हुन्थे। म पनि एक थिएँ।
म जुद्धशमशेरकी बुहारी। दरबारसँग पारिवारिक सम्बन्ध थियो। मैले महिला संगठनहरूमा पनि काम गरेको थिएँ। त्यही भएर दरबारले सांसद बनायो।
महासभा अध्यक्षमा डम्बरबहादुर सिंह निर्विरोध हुनुभएको थियो। मैले भने चुनाव लड्नुपर्यो।
मलाई विश्वबन्धु थापाले कांग्रेसको सदस्यता लिन आग्रह गर्नुभएको थियो। 'तपाईंलाई कम्युनिस्टले भोट दिँदैनन्,' उहाँले भन्नुभयो, 'हाम्रो पार्टीको सदस्यता लिएर उपाध्यक्ष बन्नुस्।'
मैले मानिनँ।
त्यति बेला बिपीले 'अध्यक्ष निर्विरोध छाडेपछि उपाध्यक्षमा पनि महिलालाई निर्विरोध छाडौं' भन्नुभएको थियो। खै किन हो, उहाँको कुरा चलेन।
ब्रह्मशमशेर राणाले मेरो उमेर नपुगेको भन्दै उजुरी हाले। बिपीले त्यतातिर नलागौं भन्नुभयो। कांग्रेसले ब्रह्मशमशेरलाई उम्मेदवार बनाउन खोजेको थियो।
मैले कम्युनिस्ट नेताहरूसँग सोधेँ। उनीहरूले 'हाम्रो उम्मेदवार छैन, भोट तपाईंलाइ नै हो' भने।
चुनाव भयो। ब्रह्मशमशेर नराम्ररी पराजित भए। पछि बिपी आएर माथिल्लो सदनमा भाषण गर्नुभयो। मेरो प्रशंसा गर्नुभयो। उहाँको साथले मलाई उपाध्यक्ष बन्न सजिलो भयो। बिपीले तल्लो सदन र माथिल्लो सदन भनेर कहिल्यै विभेद गर्नुभएन।
महासभामा म एक्लो सदस्य। तै मेरो भूमिका कमजोर थिएन। प्रतिनिधिसभामा पनि द्वारिकादेवी ठकुरानी मात्रै थिइन्।
महिला स्वयंसेवीका रूपमा काम गरेको अनुभवले मलाई संसदमा अप्ठ्यारो भएन। अध्यक्ष अलि बिरामी हुनुभएर हो कि, मैले महासभाका धेरै बैठक चलाउनुपर्थ्यो।
त्यति बेला घरघरमा फोन थिएन। बानेश्वरको ब्यारेकमा फोन गरेर 'अध्यक्षज्यूलाई सञ्चो छैन अरे, उपाध्यक्षज्यू चाडो संसद पुगिबक्सिन पर्यो अरे' भन्ने खबर आउँथ्यो।
म एउटा रमाइलो घटना सुनाउँछु। कुन पार्टीको सांसद हो सम्झना छैन। कांग्रेसकै हो कि जस्तो लाग्छ। उहाँ जोगीको भेसमा आउनुहुन्थ्यो। महिला संगठनमा उहाँको नराम्रो रिपोर्ट आइरहेको थियो। मैले कारबाही गरेको थिएँ। उहाँलाई त्यसमा रिस उठेको रहेछ।
उहाँलाइ यो संसद चल्नै दिन्नँ भन्ने लागेछ। सरासर आएर उभिनुभयो। केही भन्नुभएन। आफ्ना कुरा पनि राख्नुभएन।
मैले 'माननीय सदस्यज्यू आसन ग्रहण गर्नुहोला' भनेँ।
उहाँ भने टेबल ढप ढप गर्दै उभिएको उभियै।। सबै सांसदहरू मेरो मुख हेरिरहेका थिए।
झन्डै आधा घन्टा यसै बित्यो। अति भएपछि मैले भनेँ, 'माननीय सदस्यज्यू, अब पनि आसन ग्रहण गर्नुभएन भने मैले बाध्यतापूर्वक मार्सल प्रयोग गर्नुपर्नेछ।'
त्यसपछि उहाँ भागिहाल्नुभयो। संसदमा हाँसो गुञ्जियो।
मैले तुरुन्तै सांसदहरूलाई बोल्न समय दिइहालेँ।
ती सांसदको चरित्र खराब भएकाले हामीले कारबाही गरेका थियौं।
पढाइ र राजनीति
एसएलसी दिने बेला मेरो बिहे भएकाले पढ्न पाएको थिइनँ। सांसद भएपछि पद्मकन्या क्याम्पस भर्ना भएँ।
एकदिन गणेशमान सिंह सँगै भएको बेला ब्रह्मशमशेरले भने, 'के हो मुवा, तपाईं त झन्डावाला गाडी लिएर कलेज जानुहुन्छ रे।'
मैले जवाफ दिएँ, 'तपाईं भएको भए झन्डावाल गाडी लिएर भट्टी जानुहुन्थ्यो, म सरस्वतीको मन्दिर गएर के बिग्रियो?'
उनी बोल्नै सकेनन्।
पहिलो संसद जम्माजम्मी १५ महिना चल्यो। राजा महेन्द्र र प्रधानमन्त्री बिपी दुवै मुलुकलाई राम्रो गर्ने मान्छे हुनुहुन्थ्यो। तर, उहाँहरूबीच कुरा मिलेन। दुवैलाई तँभन्दा म के कम भन्ने भयो कि!
म जनताबाट निर्वाचित प्रधानमन्त्री, राजासँग किन डराउने भन्ने बिपीलाई लाग्यो होला। महेन्द्रलाई पनि आफू राजा भन्ने भयो होला।
बिपी त्यस्तो घमण्ड गर्ने मान्छे त होइन। महेन्द्र सरकारले पनि यसबारे केही कुरा बताइबक्सेन। उहाँसँग मेरो राजनीतिकभन्दा पारिवारिक कुरा नै बढी हुन्थ्यो।
संसद विघटनलगत्तै म पिएचडी गर्न जर्मन जाने सोचमा थिएँ। पछि गइनँ। नेपालबाटै राजनीतिशास्त्रमा एमए गरेँ। वर्गीय संगठनमा रहेर काम गरेँ।
महिला, युवा, किसान लगायत वर्गीय संगठनहरूबाट राष्ट्रिय पञ्चायतको चुनाव हुन्थ्यो। म एकपटक राष्ट्रिय पञ्चायत सदस्य भएँ। त्यसबारे धेरै सम्झना भने छैन।
त्यति बेला चुनावका लागि देशभरबाट मान्छे ल्याउनुपर्ने हुन्थ्यो। तीन महिनासम्म मतदाता पालेर राख्नुपर्थ्यो। एउटा जिल्लामा ११ जना मतदाता हुन्थे। जुम्ला, हुम्ला, मुसीकोटदेखि मान्छे आउँथे। मैले मुवाको घर कालिमाटीमा लगेर मतदातालाई राखेँ। रसुवाका मतदाताले त 'हजुरको मुवाले हामीलाई छोरी पालेजस्तो गर्नुभयो' भनेर भने।
मैले घोडा र गोडामा नेपालका धेरै जिल्ला घुमेको छु। हेलिकप्टरमा घुमेको होइन।
महिलाहरूको अवस्था जस्ताको तस्तै
राजनीतिक रूपले महिलाको अवस्थामा केही परिवर्तन आएको छैन। हुन त महिला राष्ट्रपति हुनुभएको छ। उहाँ आफ्नै संघर्षले बन्नुभएको हो। कसैले ल्याएर राखिदिएको होइन। भोजपुरदेखि यहाँसम्म आइपुग्न सानो संघर्ष परेको होला?
प्रधानन्यायाधीश र सभामुख पनि महिला भइसकेका छन्। यति हुँदा पनि महिलाको स्थितिमा खासै परिवर्तन आएको देख्दिनँ। घरव्यवहारदेखि जागिर र मन्त्री हुने ठाउँसम्म महिलाको अवस्था उस्तै छ। महिला नै प्रधानमन्त्री भइदिए बल्ल केही फरक पर्थ्यो कि जस्तो लाग्छ।
मैले देखेको परिवर्तन भनेको, महिलाहरूले पढ्नलेख्न पाए। जागिर खाएर आफ्नै खुट्टामा उभिन सक्ने भए। त्यत्ति हो। राजनीतिमा अघि बढ्ने मौका दिइएको छैन।
जति आएका छन्, ती पनि बाध्य भएर। हरेक पार्टीले संसदमा ३३ प्रतिशत महिला पठाउनैपर्ने प्रावधान छ। सरकारमा हेर्नुस् त, खोई महिला? अहिलेसम्म कुनै पार्टीले महिलालाई अध्यक्ष बनाउन सकेका छन्? के अध्यक्ष बन्न सक्ने महिला कोही छैनन्?
आमाको नामबाट नागरिकता
मलाई त आमाको नामबाट नागरिकता लिने व्यवस्था भइसक्यो होला भन्ने लागेको थियो। अझै पनि यसबारे बहस भइरहेको सुन्दा नमजा लाग्यो।
आमाको नामबाट नागरिकता दिन पनि किन अनावश्यक सर्त राख्न परेको होला!
हामीले यो कुरा उहिल्यै उठाएको। त्यतिबेला सम्भव भएन। अहिले पनि सहज नदेख्दा समाज जहाँको तहीँ छ जस्तो लाग्छ। बाबुको नामबाट जसरी नागरिकता दिइन्छ, आमाको नामबाट पनि त्यसरी नै दिनुपर्छ। आमा त जन्माउने मान्छे। उसको आफ्नै रगत।
आमाको स्वाभिमानको यस्तो मुद्दामा पनि महिला सांसदहरू के हेरिरहेका छन्? यिनको काम संसदमा जाने अनि मासिक तलब खाने मात्र हो। अहिले त झन् कति पढेलेखेका महिला संसदमा गएका छन्। उनीहरूले बोल्नुपर्ने होइन र?
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी