सीके (चन्द्रकान्त) राउत गत असोज २१ गते रौतहटबाट पक्राउ परेका थिए। नियमित तारेख लिन गएका राउतलाई रौतहट प्रहरीले पक्राउ गरी सांगठनिक अपराध आरोपमा मुद्दा चलाएको थियो।
राउतमाथि मुद्दा चल्ने, पक्रने र छुट्ने क्रम २०७१ सालयता चलिरहेकै थियो। गत पुसमा जिल्ला अदालत गौरले पुर्पक्षका लागि कारागार राख्ने आदेश दिएपछि उनी जेलमा थिए। सांगठनिक अपराध गरेको आरोपमा उनलाई कारागार राख्ने आदेश अदालतले दिएको थियो।
सर्वोच्च अदालतको आदेशबाट बिहीबार थुनामुक्त भएका राउतले तराईमा चलाइरहेको पृथकतावादी अभियान ‘स्वतन्त्र मधेस’ छाड्ने शुक्रबार घोषणा गरेका छन्।
प्रहरी स्रोतका अनुसार राउत तराईमा भूमिगत रहेर हिंसात्मक गतिविधि गर्ने सशस्त्र समूहसँग निकट थिए। भ्रष्टाचार मुद्दामा जेलसजाय भोगेर तराई–मधेस राष्ट्रिय अभियान चलाएका जयप्रकाश गुप्तादेखि सशस्त्र समूह नाइकेहरूसँग उनको ‘सुमधुर सम्बन्ध’ रहेको प्रहरी स्रोत बताउँछ।
राउत सन् २०११ देखि तराई राजनीतिका ‘की फ्याक्टर’ (मुख्य पक्ष) हुन्। राउतले सशस्त्र समूह र सरकारबीच वार्ताको रणनीति बनाउने, भूमिगत गतिविधि गर्न सिकाउने (प्राविधिक ज्ञान) गर्थे।
‘तराईका सबै सशस्त्र समूहलाई भूमिगत राजनीतिको प्राविधिक ज्ञान राउतले दिने गरेका थिए,’ सशस्त्र समूहबारे अनुसन्धान गरेका एक जना प्रहरी अधिकृत भन्छन्, ‘तराईको सुरक्षा चुनौतीको मुख्य मान्छे राउत नै हुन्।’
राजन मुक्ति, जयकृष्ण गोइत, ज्वाला सिंहहरूको भूमिगत गतिविधिमा राउतको ‘विशेष सहयोग’ रहेको प्रहरी अनुसन्धान बताउँछ। ‘तराईमा सशस्त्र समूहबाट हुने सुरक्षा चुनौतीबारे हरेक ब्रिफिङमा सीके राउतको नाम अगाडि आउँथ्यो,’ ती अधिकृत भन्छन्।
दोस्रो संविधानसभा निर्वाचन बेला सशस्त्र समूहबाट हुनसक्ने हिंसात्मक गतिविधिको मुख्य नाइकेको रूपमा राउतलाई प्रहरीले प्रस्तुत गरेको थियो।
उनी सप्तरी, महादेवा गाविसका स्थायी बासिन्दा हुन्। बेलायतको क्याम्ब्रियज युनिभर्सिटीबाट पिएचडी गरेका राउत २०६८ सालयता मधेस फर्केका हुन्। त्यसअघि उनी अमेरिकी अन्तरिक्ष संस्था नासामा कार्यरत थिए।
राउत पहिले सप्तरी महादेवा गाविस ८ बस्थे। अहिले राजविराज–१ स्थित राजदेवी टोलमा बस्छन्।
जेपी गुप्ता जेलमुक्त भएपछि राउतको गतिविधि सतहमा आएको प्रहरीको अनुसन्धानमा खुलेको छ। राउत २०७१ भदौ २८ गते तराई टुक्रयाउने अभियानमा हिँडिरहेका बेला मोरङको साबिक दर्वेसा गाविसबाट पहिलोपटक पक्राउ परेका थिए। त्यसबेला उनीविरूद्व राज्यद्रोहको मुद्दा चलाइएको थियो। तर, उनी अदालतबाट छुटेका थिए।
प्रहरीका अनुसार उनलाई ज्वाला सिंह र गोइतसमेतको सहयोग थियो। जयप्रकाश गुप्ता जेलमुक्त भएपछि मधेस जागरण अभियान सुरू गरेका थिए। त्यो अभियान अस्तित्वमा आएसँगै डा. राउतले मधेस टुक्र्याउने अभियान लिएर तराईमा गतिविधि गरिरहेको दाबी प्रहरीको छ।
राउतको सम्बन्ध सप्तरी धनपुरीका प्रफुल्ल बहरखेरसँग पनि थियो। प्रफुल्ल राजनप्रताप नामको समूहमा रहेर तराईमा हिंसात्मक गतिविधि गर्थे।
राउतसँग सम्बन्ध रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका नाइके राजन मुक्ति जेलमै छन्। अखिल तराई मुक्ति मोर्चा गोइत समूहका नाइके जयकृष्ण गोइत भारतमा छन्। जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंहका नाइके नागेन्द्र पासवान अहिले भारत बिहारमा छन्।
तराईमा सशस्त्र गतिविधि सुरूमा जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा थालिएको हो। राजन मुक्ति सुरूका नाइके थिए। मुक्तिको नेतृत्वमा गोइत, पासवाल, प्रफुल्ल सबै एकैठाउँ थिए। पछि छिन्नभिन्न भएर यिनीहरूले अलग–अलग समूहमा हिंसात्मक गतिविधि गर्न थालेका थिए।
राउत पछिल्लो समय सशस्त्र समूहलाई वार्ताका निम्ति एकजुट गराउने, फेरि फुटाउने काममा क्रियाशील मानिन्थे। ‘राउत सबै समूहलाई एकठाउँ ल्याएर तराईमा विद्रोह गराउन सक्रिय थिए,’ प्रहरी स्रोतले भन्यो, ‘सशस्त्र समूहसँग वार्ताको रणनीति बनाउने, भूमिगत राजनीति गर्दा सुरक्षा संरचनाबाट कसरी बच्ने लगायत सबै प्राविधिक ज्ञान सीके राउतले दिने गर्थे।’
तराईमा छुट्टै प्रशासनिक संरचना स्थापित गर्ने, मानवशक्ति, भौतिक पूर्वाधार तयार गर्ने, युवा दस्ता स्थापना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध बनाउने, प्रहरी संरचना बनाउने, कूटनीतिक समर्थन हासिल गर्ने, तराईमा असहयोग आन्दोलन, नाकाबन्दी, सत्याग्रह, सिपाही विद्रोह, सैनिक विद्रोह, धार्मिक नैतिक क्रान्ति, सडक आन्दोलन, सीमाना बन्द, अत्यावश्यक वस्तुमा नाकाबन्दी गर्ने लगायत राउतका योजना थिए।
तराईमा छुट्टै राज्य बनाउने भनी अभियानै चलाएपछि उनलाई प्रहरीले सधैं निगरानी गरिरहन्थ्यो। पक्राउ गरी विभिन्न मुद्दा चलाउने गरेको थियो।
२०७१ मा मोरङमा पक्राउ पर्दा उनले बाँड्ने गरेको १८४ पृष्ठ लामो ‘मधेस स्वराज’ नामक किताब फेला परेको थियो। त्यसअनुसार ८–१२ वर्षसम्ममा नेपालबाट तराई अलग गराई ‘तराईमा नेपाली साम्राज्य अन्त्य गर्ने’ योजना छ।
यो योजनाअनुसार तराईमा छुट्टै प्रशासनिक संरचना स्थापित गर्ने, मानवशक्ति, भौतिक पूर्वाधार तयार गर्ने, युवा दस्ता स्थापना गर्ने, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सम्बन्ध बनाउने, प्रहरी संरचना बनाउने, कूटनीतिक समर्थन हासिल गर्नेलगायत छन्।
मधेसका सबै वर्गलाई सम्झाउने, विचार र प्रचारप्रसार तीब्र बनाउने र त्यसका लागि सञ्चारक्षेत्रको प्रयोग गर्ने पनि योजनामा उल्लेख छ। उक्त योजनामा स्वतन्त्र मधेसको छुट्टै राष्ट्रगान पनि राउतले प्रस्ताव गरेका थिए।
युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट राउत विभूषित भएका थिए। अमेरिकामा दर्ता गरिएको तथा मधेसी हक–हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैरआवासीय मधेसी संघका संस्थापक अध्यक्ष पनि हुन्।
यस्ता थिए सीके राउतका माग
– मधेसलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेस सरकार बनाउने। जसले राज्यको संक्रमणकालको व्यवस्थापन, प्रशासन निर्माण तथा निर्वाचन गरेर संविधानको मस्यौदा तयार पार्नेछ।
– नेपाली आधिपत्यसहितको प्रशासनिक संयन्त्र हटाएर मधेस प्रशासनको स्थापना गर्ने।
– नेपाली सेनालाई मधेसबाट हटाएर मधेसी सेनाको स्थापना गर्ने।
– सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हटाएर मधेसी प्रहरीको स्थापना गर्ने।
– नेपाल सरकारले मधेसबाट उठाउने गरेका सबै कर बन्द गराउने।
– मधेसीबाट लिएको भूमि फिर्ता गराउने।
– मधेशमा रहेको जमिन, पानी, वन तथा अन्य प्राकृतिक स्रोतमाथिको नेपाल सरकारको नियन्त्रण हटाउने।
– संयुक्त राष्ट्र संघ तथा विश्वका अन्य सार्वभौम मुलुकहरुमा कूटनीतिक तथा कन्सुलर कार्यालय सञ्चालनका लागि पहल गर्ने।
हेर्नुहोस् आइ भइरहेको कार्यक्रमको प्रत्यक्षप्रशारण