नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले मुलुक विखण्डनको पक्षमा गतिविधि गरिरहेको सिके राउतलाई मूल प्रवाहीकरणमा ल्याएर सरकारले पोलिटीकल म्याचमा जित हासिल गरेको दाबी गरेका छन्।
उनले स्वतन्त्र मधेशको नाममा देश विखण्डनको गतिविधि गरिरहेको सिके राउतलाई वार्ता र सम्वादको माध्यमबाट मूल प्रवाहीकरणमा फर्काउन सक्नु सरकारको सफलता भएको दाबी गरेका हुन् ।
बुटवलमा निर्मित देवीनगर लन टेनिस कम्प्लेक्सको उद्घाटन गर्दै नेता पौडेलले राउतसँग भएको वार्ता र सहमतिले विकास र समृद्धिका लागि वातावरण अनुकूल बन्दै गएको बताए ।
‘नेपाल स्वतन्त्र, स्वाधिन, सार्वभौम राष्ट्र हो भन्ने कुरा नमान्ने, यसको एकता र अविभाज्य अस्तित्वलाई स्वीकार गर्न नसक्ने र विखण्डनको पक्षमा पैरवी गर्ने गतिविधि गर्ने सिके राउतले नेतृत्व गरेको प्रवृत्तिलाई अन्त्य गर्दै सरकारले पोलिटीकल म्याच जितेको छ,’ उनले भने।
उनले नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको भन्दै सरकारले मुलुकको शान्ति, समृद्धि र विकासका निम्ति बलिया आधार तयार गर्दै लगेको बताए ।
पूर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले खेलकुद क्षेत्र राष्ट्रको स्वाभिमानसँग जोडिएको भन्दै खेलकुदको विकासका लागि सरकारले पूर्वाधारमा लगानी बढाउँदै लगेको बताए।
‘नेपाललाई विश्वसामू चिनाउने लुम्बिनी र सगरमाथासँगै खेलकुद क्षेत्रले पनि हो, यसर्थ खेलकुदको विकासको लागि सरकारले प्रयाप्त लगानी गर्न जरुरी छ,’ उनले भने ।
रुपन्देहीबाटै प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका पौडेलले बुटवललाई विकास र समृद्धिको दृष्टिले एउटा आकर्षणको केन्द्रका रूपमा अघि बढाउन चाहेको बताए।
उनले विकासका लागि सबै एकतावद्ध रूपले लाग्न जरूरी रहेको भन्दै निर्वाचनका बेला गरिने राजनीति विकासमा गर्न नहुने बताए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले खेलकुद क्षेत्रमा साफ र आठौं राष्ट्रिय खेलकुद गरी दुई ठूला प्रतियोगिता आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाँच नं. प्रदेशलाई भएको बताए।
काठमाडौं केन्द्रित राष्ट्रिय प्रतियोगिताको आठौं संस्करणको जिम्मेवारीसँगै पाँच नम्बर प्रदेशमा पूर्वाधारका लागि समेत एक अर्ब बजेट छुट्याइएको बताए।
उनले नेपालगञ्जलाई केन्द्र बनाएर चैत २३ गतेदेखि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरू हुने भन्दै पाँच नं. प्रदेशको पहिचान दिने गरी खेलकुद प्रतियोगिता सम्पन्न गर्न आग्रह गरे।
‘पाँच नम्बर प्रदेशमा पूर्वाधारको लागि मात्र अहिले १ अर्ब बराबर पूर्वाधारमा लगानी भएको छ’, उनले भने, ‘यो पूर्वाधार निमार्णसँगै आगामी वर्षमा अरू पूर्वाधारको काम समेत अघि बढ्ने छ ।’
स्थानीय सरकारबाट आवश्यक जग्गा उपलब्ध भए बास्केट बल र भलिबल कोर्टसमेत निर्माणको लागि समेत पहल गर्ने उनले प्रतिवद्धता जनाए ।
लन टेनिस कम्प्लेक्स निर्माण समितिका अध्यक्ष केशव थापाले रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङलाई कोर्ट निर्माणको हरहिसाब हस्तान्तरण गरेका थिए।
राष्ट्रिय खेलकुद परिषद् मातहत जिल्ला खेलकुद विकास समिति रुपन्देहीबाट उपभोक्ता समिति गठन गरी करिब ८५ लाख रुपैयाँको लागतमा अत्याधुनिक लन टेनिस कम्प्लेक्सको निर्माण गरिएको हो ।
बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमी पछाडिको करिब ७ कट्ठा क्षेत्रमा कोर्ट निर्माण गरिएको हो। यसअघि दुइटा कोर्ट रहेकोमा अहिले दुइटा कोर्ट थप गरिएपछि ४ वटा पुर्याइएको छ।
उद्घाटन गरिएका कोर्टमा आठौं राष्ट्रिय खेलकुद अन्तर्गत लन र सर्ट गरी दुइटा खेल हुने छन्। त्यसैगरी आठौं खेलकुदमा हुने ३५ खेलमध्ये ५ वटा खेल रुपन्देहीमा र त्यसमध्ये तीनवटा बुटवलमा हुने छन्। जसमा एन्फा टेक्निकल खेल मैदानमा महिला फुटबल हुने छ भने भैरहवामा तेक्वाण्डो र क्रिकेट खेल हुने छन्।