राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका नेता महिन्द्र राय यादवले मधेसमा सिके राउतको कुनै स्थान नभएको दाबी गरेका छन्। राजपा पार्टी कार्यालय बबरमहलमा आइतबार सेतापाटीसँग कुरा गर्दै संयोजक यादवले सरकारले नै सिके राउतलाई आवश्यकताभन्दा बढी ठाउँ दिएको दाबी गरे।
‘जसको कुनै स्थान छैन भने त्यसको लागि किन चिन्ता गर्नुपर्यो। मधेसका जनता, आदिवासी जनजाति कोही पनि उनको एजेन्डामा सहमत छैन,’ यादवले भने, ‘नारा दिनसाथ कोही पछाडि लाग्दैन। हाम्रो आन्दोलनमा यति धेरैले शाहदत गर्दा त हामीलाई राजनीति गर्न गाह्रो भइरहेको छ।’
सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउन सहमति गर्नु सकारात्मक भए पनि सरकार आफैं अन्यौलमा रहेकाले आशंका गर्ने ठाउँ रहेको यादवले बताए।
‘सरकारले जनअभिमत भनिरहेको छ। राउतले जनमत संग्रहका रूपमा व्याख्या गरिरहेका छन्। गृहमन्त्री रामबहादुर थापाले संसदमा समेत यसलाई स्पष्ट पार्न सक्नु भएन। त्यसैले अझै आशंका बढिरहेको छ,’ यादवले भने, ‘हामीले अधिकार र पहिचान खोजेको यही संविधानभित्र हो। जनमत संग्रहलाई संविधानले पनि दिन्न र यो हुन पनि हुन्न। यसले विखण्डन निम्त्याउँछ।’
एउटा पृथकतावादीलाइ सम्बोधन जनमत संग्रह स्वीकार्ने हो भने भोलि देशको अन्य ठाँउमा पनि पृथकतावादी आन्दोलन हुन सक्ने यादवले बताए।
राजपा नेपाल क्षेत्रीय पार्टीबाट राष्ट्रिय स्वरूप भएको पार्टीमा गइसकेको ‘देशलाई विखण्डन गर्ने सोचले जनमत संकलनको माग गर्नेहरुको कुनै ठाँउ छैन।’
फागुन २४ गते सरकारले सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग ११ बुँदे सहमति गरेको थियो। सहमतिको दोश्रो बुँदामा तराई-मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गरिने उल्लेख छ।
यसलाई राउतले जनमत संग्रहका लागि सरकार तयार भएको भनेर ब्याख्या गरेका छन्। सकारले भने सिके राउतले पृथकतावादी आन्दोलन छोडेर मूलधारको राजनीति स्वीकारेको अर्थमा लिएको छ ।