गृहमन्त्री रामबहादुर थापाले केही शक्तिले मुलुकको शान्ति, सुरक्षा र देशको प्रगति हुन नदिन सुरक्षा खतरा सिर्जना गरेको दाबी गरेका छन्।
तर शान्ति सुरक्षा विरोधी तत्वलाई निस्तेज र नियन्त्रण गर्न सरकार कटिबद्ध रहेको उनले बताए।
भैरहवामा सम्पन्न प्रदेश नम्बर ५ स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले शान्ति, सुरक्षा विरोधी तत्वलाई सरकारले नियन्त्रण गर्ने बताए।
सिके राउत र नेकपा विप्लव समूहलाई इंगित गर्दै गृहमन्त्री थापाले केही तत्वहरूलाई आधारभूत रूपमा नियन्त्रण गरिएको र बाँकीलाई पनि सफलतापूर्वक नियन्त्रण गर्ने प्रक्रिया अघि बढाइएको जनाए।
विप्लव समूहलाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन उनले आग्रह गरे। सिके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री थापाले अन्तिम विदाइ कार्यक्रम भएको दाबी गरे।
स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह नभई जनअभिमत भन्ने सम्झौता भएको उनले स्पष्ट पारे।
मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएकाले सरकारले त्यस्तो गर्नै नसक्ने उनको भनाइ छ।
सरकारले एक वर्षमा मित्रराष्ट्रहरूसँग सम्बन्ध सुधार, शान्ति सुरक्षा कायम राख्न र विकास निर्माणमा धेरै काम गरेको उनको दाबी छ।
एक वर्षलाई सरकारले सफलताको वर्षका रूपमा लिएको उनले बताए।
समृद्धिका लागि सरकार कटिवद्ध रहेको गृहमन्त्री थापाको भनाइ छ। सुरक्षा गोष्ठीमा प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसी, गृहसचिव प्रेमकुमार राई, प्रदेश ५ का प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सरकारका सुरक्षा सल्लाहकार लगायत उच्च अधिकारीको सहभागिता थियो। गोष्ठीले प्रदेशस्तरीय सुरक्षा रणनीति बनाउने जनाइएको छ।