एघार वर्षकी सुष्मा बैगार आफूभन्दा ५ वर्ष साना बहिनीलाई हात समातेर डोर्याउँदै स्कुल लगिरहेकी थिइन्।
सुर्खेतको वीरेन्द्रनगर–११, बालुवाटारका यी नानीहरूलाई स्कुल पुग्न कम्तिमा डेढ घन्टा हिँड्नुपर्छ। बस्तीमा बालविकास केन्द्र मात्र छ। कक्षा १ देखि नै उनीहरू बस्तीभन्दा माथि धुलियाबीटमा रहेको विद्यालय जान्छन्।
सडक नपुगेको यो बस्तीमा स्कुलका विद्यार्थीदेखि ज्याला मजदुरी गर्नेहरू हरेक दिन घन्टौं हिँड्नुको विकल्प छैन।
बालुवाटारकै रंगवीर गन्दर्भ वीरेन्द्रनगरको पिपीरामा निर्माणाधीन निजी घर प्लास्टर गर्छन्। उनी बिहान ८ बजे नै काममा जान उकालो चढ्छन्।
बालुवाटार गन्दर्भ समुदाय बहुल बस्ती हो। पहिले उनीहरूका पुर्खा गाउँभरि सारंगी रेटेर जीवनयापन गर्थे। अहिले सारंगीको धून सुनाएर छाक टर्ने दिन छैन। यहाँका प्राय: बासिन्दा नजिकको झुप्रा खोलाबाट बालुवा निकालेर बेच्ने गर्छन्। बालुवाकै भरमा गुजारा गर्ने भएकाले बस्तीलाई ‘बालुवाटार’ भनिएको हो।
सडक नभएका कारण बालुवा संकलन गरेर सम्बन्धित ठाउँसम्म पुर्याउन गाह्रो छ। गाडी आउने ठाउँसम्म पुग्न मात्र एक घन्टा हिँड्नुपर्छ। उनीहरू त्यहाँसम्म बालुवा बोकेरै लैजान्छन्।
‘बालुवा चालेर परिवारको पेट भर्ने हामीलाई सडक भइदिए काम गर्न सजिलो हुन्थ्यो,’ बस्तीका चन्द्र विश्वकर्माले भने, ‘उसबेला भोट दिए सबै पुर्याइदिन्छौं भन्नेहरू सम्झँदा पनि रिस उठ्छ। आश्वासन दिने पूरा गर्न नसक्ने?’
बालुवाटार सामुदायिक वनभित्र पर्ने भएकाले यहाँ सडक र बिजुलीबत्ति नपुगेको हो। बस्ती जोड्ने सडक बनाउन र बिजुलीबत्ति जडान गर्न पहल गर्दा सामुदायिक वनले रोकेको स्थानीय बताउँछन्।
यो बस्ती २०५३ सालमा बसेको हो। राजनीतिक दलको समेत खासै आँखा नपरेको गन्दर्भ बस्तीमा २०७४ को स्थानीय निर्वाचन बेला बल्ल उम्मेदवार र कार्यकर्ता लर्को लागेर पुगेका थिए।
दिनदिनै आउने फरकफरक राजनीतिक दलका नेताहरूले बालुवाटारलाई ‘सूर्यटार’ बनाइदिने बाचा गरे। सडक र बिजुलीबत्ती पुर्याइदिन्छु भने। त्यसपछि पनि प्रत्येकचोटि चुनाव हुँदा नेताहरू यस्तै बाचा लिएर गाउँ पस्ने गरेको स्थानीय बताउँछन्।
‘चुनाव बेला हामीलाई भोट देऊ, हामी तिमीहरूका लागि घर बनाइदिन्छौं, बालुवाटारलाई सूर्यटार बनाइदिन्छौं भन्दै आउँछन्,' बस्तीकी तुलसा गन्दर्भले भनिन्, 'हामीले भोट दिएकाहरूले नै चुनाव जितेका छन्। सूर्यटार बनाइदिने बाचा गरेका उहाँहरूसँग त्यसपछि भेटै भएको छैन।’
रंगवीर गन्दर्भलाई बस्तीमा कोही मानिस अपर्झट बिरामी परे उपचार नपाएरै मर्छन् भन्ने लाग्छ।
‘दैनिक छाक त जसोतसो टर्छ, बिरामी भए उपचार गर्ने पैसा भने हुँदैन,' उनले भने, 'अपर्झट बिरामी भयौँ भने बाचौंलाजस्तो लाग्दैन। एक त उपचार गर्ने पैसा हुँदैन, अर्को बस्तीबाट बोकेर अस्पताल लग्दा लग्दै सास नरहन के बेर!’
कुनै दिन सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण निम्ति बस्ती नै उठाइदेला कि भन्ने पनि उनीहरूलाई चिन्ता छ। बस्ती उठाइदियो भने कहाँ जाने भन्ने यी गन्दर्भ समुदायलाई टुंगो छैन।
‘सडक र बत्तिको सुविधा त त्यस्तै हो, वन उपभोक्ता समितिले उठाइदेला कि भनेर पो मनमा चिसो पस्छ,' रंगवीरले भने, ‘बरू हामीलाई कतै बारी लगाउन पुग्ने थोरै जग्गा दिएर बस्ने वातावरण मिलाइदिओस्, नभए यही ठाउँमा स्थायी रूपले ढुक्क भएर बस्न पाइयोस्।'
बस्ती खोलाको नजिक हुँदा बाढीको पनि उत्तिकै डर छ। बर्खामा उर्लिएर खोला बग्ने हुँदा त्रासमै समय जाने चन्द्र गन्दर्भले बताए।
वीरेन्द्रनगर–११ का वडाध्यक्ष नन्दलाल शर्मा बालुवाटारलाई सूर्यटार बनाउन पहल गरिरहेको दाबी गर्छन्। नीति निर्माणमा केही समय बिते पनि अब कार्यान्वयनको बेला भएको उनले बताए।
‘हामीले चुनाव बेला भनेकै हौं, सूर्यटार त बनाउने नै हो। यो हाम्रा लागि चुनौती पनि हो,’ उनले भने, ‘यो बस्ती असुरक्षित छ, यसलाई सुरक्षित बनाउन पहल गर्दैछौं।’