श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम जसरी पनि कार्यान्वयन गर्ने बताएका छन्।
सरकारले ल्याएका कानुन तथा योजनाहरू फुर्सदमा काम नपाएर ल्याएका किताब मात्र नभएको भन्दै उनले सरकारले ल्याएका जुनसुकै कानुन पनि लागू हुनैपर्ने बताए।
रुपन्देही उद्योग संघले तिलोत्तमामा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले सरकारले ल्याएको योजना जतिसक्दो छिटो कार्यान्वयन भयो त्यति धेरै फाइदा उद्योगी व्यवसायीलाई नै हुने बताए।
कुनै पनि नयाँ कुरा आउँदा त्यसको चर्चा परिचर्चा हुनु स्वभाविक भएको भन्दै उनले कतिपय उद्योगी व्यवसायीहरूले नबुझेर विरोध गर्ने गरेको बताए।
उनले अहिले उद्योग व्यवसायमा काम गर्ने श्रमिकबाट सुरू भएको यो योजना विस्तारै सबै क्षेत्रमा लैजाने बताए।
‘सामाजिक सुरक्षा कार्यक्रम केबल औद्योगिक क्षेत्रमा मात्र होइन कलेज, स्कुल, अस्पताल, वस्तु उत्पादन गर्ने औद्योगिक क्षेत्रहरू, मिडिया हाउस, सरकारमार्फत् सञ्चालन भएका संस्थानहरू हरेक ठाउँमा लागू हुन्छ,’ उनले भने।
मन्त्री विष्टले यसलाई असंगठित क्षेत्रमा काम गर्ने मजदूरहरूका क्षेत्रमा पनि लागू गर्ने भन्दै घरमा काम गर्न राखेका श्रमिकहरूको समेत सूचिकृत गर्नुपर्ने नीति सरकारले ल्याउने योजना रहेको बताए।
‘घरमा काम गर्ने, भाडा माझ्ने, खेतमा हलो जोत्ने सबैको जिन्दगी हो, उनीहरूका पनि भावना हुन्छन्, इच्छा हुन्छन् सरकारले सबै प्रकारका नागरिकलाई मानव उचित जिन्दगी बाच्न पाउने गरी, राज्य छ, समाज छ भन्ने परिवर्तनको महशुस गर्ने गरी सामाजिक सुरक्षा कार्यक्रममा ल्याउँछ,’ उनले भने।
मन्त्री विष्टले सरकारले लागू गर्न खोजेको सामाजिक सुरक्षा योजनाले श्रमिक र रोजगारदाता बीचको सम्बन्धको दूरी कम हुने र यसले उद्योग व्यवसाय फस्टाउन मद्दत पुग्ने बताए।
यो कार्यक्रमले श्रमिक र रोजगारदाता बीचको सम्भावित द्वन्द्व र तनावलाई समेत कम गर्ने भन्दै रोजगारदाताले सानो लगानी गर्दा सरकारले सम्भावित जोखिमको ठूलो हिस्साको जिम्मा लिने बताए।
उनले सरकार नेपालको सम्भावना र विशेषतामा आधारित उद्योग व्यवसायलाई बलियो बनाउने खालको योजना बनाउँदै गएको बताए।
स्वदेशमा श्रमको उचित पारीश्रमिक नहुँदा युवाहरू विदेश पलायन हुने क्रमलाई रोक्न पनि सरकारको ल्याएको योजनाले कम गर्ने दाबी गरे।
मन्त्री विष्टले सरकारले ल्याएको यो योजनाले विदेशिने नेपालको जनशक्तिलाई स्वदेशमा काम गर्ने भावना जागृत गर्ने भन्दै यसले रोजगारदाताहरूलाई जनशक्तिको समेत अभाव नहुने बताए।
सरकारले ल्याएको योजना भएपनि यो रोजगारदाताकै योजना रहेको भन्दै मन्त्री विष्टले तत्कालको लागि कसलाई कति नाफा घाटा भन्नुभन्दा समग्र उद्योग क्षेत्रको फाइदालाई हेर्नुपर्ने बताए। आफूसँग धन भएर पनि गरिब देशका नागरिक भनेर विदेश जाँदा अपमानित हुनुभन्दा आफूसँग भएको रकम गरिब तथा निमुखाहरूको लागि खर्च गर्ने गरी मन फराकिलो बनाउन आग्रह गरे।
कार्यक्रममा सहभागी उद्योगीहरूले भने सरकारले लागू गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले उद्योगीहरूको समस्या बढाउने भन्दै चिन्ता व्यक्त गरेका थिए। उनीहरूले रोजगारदाताको समस्या नबुझी योजना ल्याइएकाले कार्यान्वयन हुन नसक्ने बताए।