नेपाली कांग्रेसकी सांसद डिला संग्रौला प्रतिनिधि सभाकी सबैभन्दा सक्रिय सांसदमध्ये पर्छिन्। संसदमा प्रश्नोत्तर सुरू भएयता उनले राष्ट्रिय महत्वका धेरै विषयमा मन्त्रीहरूलाई प्रश्न गरेकी छन्।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या र मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको कम्पनी सिएमसीसँग ठेक्का तोडिएको विषयमा उनले संसदमा मन्त्रीलाई प्रश्न राखेकी थिइन्।
नेपाली कांग्रेसले संसदमा प्रमुख प्रतिपक्षीको रूपमा प्रभावकारी भूमिका देखाउन नसकेको आरोप लाग्ने गरेको छ। तर संग्रौला भने सरकारका मन्त्रीहरूलाई बारम्बार प्रश्न गर्छिन् र जवाफ दिन बाध्य पार्छिन्।
उनले बढ्दो सडक दुर्घटनाबारे सार्वजनिक महत्वको प्रस्ताव राखेर भौतिक पूर्वाधार मन्त्रीलाई जवाफ दिन लगाइन्। संग्रौलाका प्रस्ताव र प्रश्नले संसदमा बहससमेत सिर्जना गर्छ।
नेपाली कांग्रेसले सरकारलाई चुनौती दिन छायाँ सरकार गठन गर्नु पर्ने प्रस्ताव उनले संसदीय दलको बैठकमा राखेकी थिइन्। जसमा उनले आफूलाई गृहमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेकी थिइन्।
तर मन्त्रीहरूले दिने जवाफमा भने उनी सन्तुष्ट छैनन्। 'मन्त्रीले जवाफ दिन्छन्', संग्रौला भन्छिन्, 'उत्तर दिन्छन् तर हरेक प्रश्नको उत्तर पहिला नै तयार हुन्छ। कागजी घोडाका रुपमा आउँछन्। तर त्यसले हाम्रो मन छोएको छैन।’
हेर्नुस् भिडिओ-