प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कर्मचारीहरूका लागि प्रदेशमा अवसरै अवसर भएको बताएका छन्।
कर्मचारीहरूका लागि प्रदेशमा राजनीतिक नेतृत्व र जनतासँगको सम्बन्ध नजिक हुनेमात्र होइन नीति निर्माण गर्ने तहमा रहेर काम गर्न पाउँदा वृत्ति विकासमा समेत अवसर मिल्ने बताए।
प्रदेशमा समायोजन भएर आएका अधिकृतस्तरका कर्मचारीहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री पोखरेलले जहाँ बसेर जे काम गरे पनि त्यो राष्ट्रका लागि हो भन्ने हिसाबले काम गर्न सके १ वर्षभित्रमा काम हेर्नकै लागि केन्द्रबाट प्रदेशमा आउने वातावरण बनाउन सकिने बताए।
उनले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि ४ महिनामात्र बाँकी रहेकोले नतिजा देखाउने गरी काम गर्न आग्रह गरे।
‘४ महिनामात्र बाँकी रहे पनि बजेट कार्यान्वयनको प्रकृया सुरू गरेका छौं, तपाईहरूले मेहेनतका साथ काम गर्नुभयो भने यो वर्ष नै विकास बजेट कार्यान्वयनको राष्ट्रिय लक्ष्य भेट्ने छौं,’ उनले भने ।
मुख्यमन्त्री पोखरेलले प्रदेशले स्थापना भएको ५ महिना विकास प्रशासन बिना नै बिताएको भन्दै यसवर्ष राष्ट्रिय लक्ष्य पूरा गर्न सके अर्को वर्ष शतप्रतिशत बजेट कार्यान्वयन गर्न सकिने बताए। अबको चार वर्षमा संघीयतालाई कार्यान्वयन गर्ने र अनुभव हासिल गर्ने कुरामा प्रदेश ५ लाई नमुना बनाउने दाबी गरे।
मुख्यमन्त्री पोखरेलले एउटै राज्यभित्र प्रदेश र केन्द्रमा काम गर्ने कर्मचारीहरूका बीचमा कुनै पनि विभेद नहुने भन्दै प्रदेशमा भन्दा केन्द्रमा सुरक्षित भइन्छ भन्ने मनोविज्ञानलाई हटाउन आग्रह गरे।
केन्द्रमा मात्र सरकार हुँदा प्रशासनसँग जनताको सम्बन्ध टुटेको भन्दै उनले टुटेको प्रशासन प्रभावकारी नहुने भएकोले जनतासँगको सम्बन्धलाई जोडेर काम गर्न निर्देशन दिए ।
मुख्यमन्त्री पोखरेलले जिम्मेवारीप्रतिको सक्रियताले नै अस्तित्वको विकास गराउने भएकोले विधि र प्रकृया अन्तर्गत आफ्नो कामलाई प्रभावकारी बनाउन आग्रह गरे ।
प्रदेशका प्रमुख सचिव तीर्थ ढकालले बजेट कार्यान्वयनको लागि नतिजा देखिने गरी काम गर्न आग्रह गरे।
प्रमुख सचिव ढकालले प्रदेशमा हरेक क्षेत्रमा काम गर्ने अवसर रहेको भन्दै कुनै एउटा क्षेत्रको विशिष्टिकृत ज्ञानलाई बढाउन पनि आग्रह गरे । उनले कतिपय कार्यालयहरूको गलत छविलाई सुधार गर्ने गरी काम गर्न पनि निर्देशन दिए।
प्रदेश ५ का सातवटा मन्त्रालय अन्तर्गत १ सय ४५ वटा कार्यालयमा ३ हजार ५८ कर्मचारी आवश्यक रहेको मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारीले जानकारी दिए ।
जसमध्ये समायोजन भएर अहिलेसम्म पत्र तयार भएका अधिकृतस्तरका कर्मचारीलाई आफ्नो कार्यक्षेत्रको पत्र बुझाइएको हो। जसमध्ये ९१ जना अधिकृतमध्ये यसअघि २४ जना प्रदेश कार्यालयमै कार्यरत रहेकोमा समायोजन भएर ३९ जना थप भएका छन्। २८ जना अधिकृत आउन बाँकी रहेका छन्।
त्यस्तै २३ जना लेखाअधिकृत मध्ये १९ र ७७ जना लेखापालमध्ये ७६ जनाले समायोजनपछि आफ्नो कार्यक्षेत्रमा आइपुगेका हुन्।