नेपाली कांग्रसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार र सिके राउतबीच भएको सम्झौताको स्पष्ट व्याख्या गर्न सरकार र सिके राउत दुवै पक्षलाई आग्रह गरेका छन्।
सम्झौताको कतिपय बुँदामा उल्लेख गरिएका शब्दले आशंका उब्जाएको भन्दै उनले दुवै पक्षबाट एउटै व्याख्या र धारणा आउनुपर्ने बताए।
रुपन्देहीले शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले मुलुकलाई खण्डित गर्ने विषयमा कसैले पनि सम्झौता गर्न नसक्ने भन्दै सम्झौताको दोस्रो बुँदामा उल्लेख गरिएको जनअभिमत शब्दको व्याख्या दुवै पक्षबाट एउटै आउनुपर्ने बताए।
‘नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौकिताको विषयमा कसैले पनि सम्झौता गर्न सक्दैन, यो विषयमा सम्झौतापछि दुवै पक्षबाट एउटै धारणा आउनु पर्छ,’ उनले भने।
नेता खाँणले संविधानको रक्षा र कार्यान्वयन गर्ने दायित्वसँगै राष्ट्रिय मूलधारमा नआएका दल तथा समूहलाई वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने दायित्व पनि सरकारको भएको बताए। उनले संविधानविपरीत गएर कसैसँग पनि सम्झौता गरिन्छ भने त्यसले पार्ने असर दूरगामी हुने भएकोले यसतर्फ सचेत हुन पनि सरकारलाई आग्रह गरे।
पूर्वमन्त्री समेत रहेका नेता खाँणले अब मुलुकले हिंसात्मक गतिविधिलाई थेग्न नसक्ने भन्दै विप्लव नेतृत्वको नेकपालाई हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिको बाटो रोज्न आग्रह गरे। सरकारको व्यवहारले द्वन्द्वरत पक्षलाई आक्रामक गराएको दाबी गर्दै उनले राज्यपक्षले द्वन्द्वरत पक्षलाई वार्ता र संवादको माध्यमबाट शान्ति प्रक्रियामा ल्याउनुपर्ने बताए।
मुलुक सबैको साझा भएको र यसलाई जोगाउने दायित्व पनि सबैको साझा भएको उल्लेख गर्दै हिंसा र निषेधको राजनीति त्यागेर वार्तामार्फत् समाधानको बाटो खोज्न सरकार र विप्लव माओवादी दुवै पक्षलाई आग्रह गरे।
‘अब हुने विद्रोहलाई नेपाली जनताले थेग्न सक्दैनन् जनताको पक्षमा काम गरेको भन्नुहुन्छ भने मूलधारमा आउनुस्, जनताको विश्वास जित्ने गरी राजनीति गर्नुस्, सरकारले पनि ढोका बन्द गरेर बाहिर पठाउनुभन्दा छलफल र वार्तामा बोलाउनुपर्छ,’ उनले भने।
उनले संसदीय व्यवस्था नै उपयुक्त पद्दति भएको दाबी गर्दै नेपाली कांग्रेसले संसदीय व्यवस्था अनुरूप नरम र रचनात्मक भूमिका निर्वाह गरेको दाबी गरे। संसदीय व्यवस्था राजनीतिक दल र जनताको लागि भरोसायोग्य रहेको भन्दै उनले यसैको महत्वलाई बुझेर कांग्रेसले आफ्नो भूमिका प्रस्तुत गरेको बताए।
‘नेपाली कांग्रेस संसदीय व्यवस्थामा अलि नरम बन्यो, अलि आक्रामक बन्नु पर्यो भन्ने कतिपयको चाहना छ तर कांग्रेसले प्रतिपक्षसँगै समन्वयात्मक भूमिका समेत निर्वाह गरेको छ,’ उनले भने।
नेता खाँणले पूर्ववर्ती सरकारले गरेको निर्णयप्रति ध्यान दिँदै छिटोभन्दा छिटो प्रदेश नं. ५ को नामाकरण र स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेश सरकारलाई आग्रह गरे।
बुटवलको भौगोलिक अवस्था, यहाँको भौतिक पूर्वाधार विकास अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी, नेपालकै दोस्रो ठूलो भन्सार नाका लगायतका संरचनाहरू यही क्षेत्रमै रहेकोले प्रदेशको राजधानी रुपन्देही नै हुनुपर्ने दाबी गरे।