नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका सांसदसमेत रहेका केन्द्रीय सदस्य संसद बैठकमा भाग लिन गएपछि बैठक अनिश्चित भएको छ।
सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालाले पार्टी कार्यालयभित्रै ‘गोप्य’ बैठक गरिरहेकाले बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ बजेसम्म बस्न सकेको छैन।
सांसद तथा कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिनिधिसभा बैठकमा भाग लिन आफूहरू संसद गएको बताए।
‘हामी संसद जानुपर्ने छ। संसदमा महत्वपूर्ण विषयमा छलफल हुँदैछ,’ थापाले पार्टी कार्यालयमा पत्रकारहरुसँग भने।
प्रधानमन्त्रीले नेपाली सेना खटाउन सक्ने अधिकारसहित सरकारले राष्ट्रिय सुरक्षा विधेयक तयार गरेकोमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध गर्दै आएको छ। प्रधानमन्त्रीले आफूमातहत शक्ति केन्द्रीत गरेर थप अधिनायकवादी बन्न खोजेको कांग्रेसको आरोप छ।
बैठकमा भाग लिन सानेपा पुगेकी केन्द्रीय सदस्य डिला संग्रौलाले संसद बैठकमा भाग लिन जानुपर्ने भएकोले आफूहरु संसद हिँडेको बताइन्।
‘सभापति, बरिष्ठ नेताहरु छुट्टै कोठामा बैठक गर्दै हुनुहुन्छ, त्यहाँ हामीलाई जान दिइएको छैन,’ उनले भनिन्।
सांसदसमेत रहेका केन्द्रीय सदस्य पार्टी कार्यालयबाट हिँडेपनि अन्य केन्द्रीय सदस्य भने कार्यालयमै छन्। अनुशासन समिति, निर्वाचन समिति र नेपाल विद्यार्थी संघको तदर्थ समिति सहमतिबाटै बनाउने गृहकार्य गर्दै सभापति देउवा र बरिष्ठ नेता छुट्टै कोठामा छलफलमा छन्।
कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले शीर्ष नेताहरूबीच छलफल चलिरहेकोले बैठक बस्न समय लाग्ने भएकोले आफूहरू संसद बैठकमा भाग लिन गएको बताए।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले २० भन्दा बढी सांसदसमेत रहेका केन्द्रीय सदस्य संसद गएकोले संसद बैठक सकेपछि आजै अपरान्ह केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिए।