तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) हुँदै पछिल्लो पटक विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले कब्जामा राखेको बुटवलको रातो घर (वाणिज्य बैंकको भवन) १२ वर्षपछि प्रहरीले खाली गराएको छ।
राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वको उक्त भवन २०६३ साल वैशाख २९ गते तत्कालीन नेकपा माओवादीले शान्ति प्रक्रियामा आएपछि कार्यालय राख्ने भन्दै कब्जामा लिएको थियो।
युद्धकालबाट शान्ति प्रकृयामा आएपछि २०६९ सालमा माओवादी पार्टी फुटेपछि उक्त भवनलाई वैद्य नेतृत्वको माओवादीले प्रयोग गर्दै आएको थियो। वैद्य माओवादी पनि २०७४ सालमा फुटेपछि उक्त भवन फेरि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो कब्जामा राखेको थियो।
तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि राज्यले कब्जा गरिएका घरजग्गा फिर्ता लिने भनिए पनि आफ्नो स्वामित्वमा रहेको रातो घरलाई भने सरकारले फिर्ता ल्याउन सकेको थिएन।
शान्ति प्रकृयामा आएको माओवादीले कब्जा गरेर कार्यालयको रूपमा प्रयोग गर्दै आएको यो भवनलाई उसैबाट फुट्दै गएका पार्टीहरूले शक्तिको भरमा कब्जा गरेर आफू अनुकूल प्रयोग गर्दै आएका थिए।
विप्लव नेतृत्वको नेकपाका हरेक कार्यक्रमहरुलाई सरकारले प्रतिबन्ध लगाएको केही दिनमै कार्यालयमा राखिएका बोर्ड, झन्डा र ब्यानर हटाउन प्रहरीलाई पनि बल पुगेको हो।
सरकारी स्वामित्वको उक्त भवनमा विप्लव नेतृत्वको नेकपाको पार्टीको नाममा झन्डा, ब्यानर, बोर्ड राखेर पार्टीका कार्यक्रम सञ्चालन गरिएको थियो। सोमबार भवनमा टांगिएका झण्डा, बोर्ड र ब्यानर हटाएको प्रहरीले मंगलबार त्यहाँ लेखिएका नारा पनि मेटाएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको पाल्पा रोडमा रहेको उक्त भवनमा २०६१ सालसम्म राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय कार्यालय सञ्चालनमा रहेको थियो। २०६१ सालमा तत्कालीन माओवादीले बम बिष्फोट गराई क्षति बनाएपछि राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय कार्यालय पोखरा स्थानान्तरण गरिएको थियो।
बुटवलको रातो घरको नामले परिचित उक्त भवन माओवादी आक्रमणबाट क्षतिग्रस्त भएपछि दुई वर्षसम्म खाली थियो।
वर्षौंदेखि आफ्नो नियन्त्रणमा रहेको सरकारी घर खाली गर्न दबाब आइरहँदा सो पार्टीका स्थानीय नेताले जग्गा छोड्नु परे त्यहाँको आधा हिस्सा दिनु पर्ने माग राख्दै आएका थिए।
प्रदेश ५ सरकारको लागि बुटवलका अन्य सरकारी तथा संघसंस्थाका भवन तथा जग्गामा विभिन्न कार्यालय र मन्त्रालय स्थापना गरिए पछि रातो घरसमेत खाली गर्न दबाब बढ्दै गएको थियो ।
यसअघि राष्ट्रिय वाणिज्य बैंकले उक्त स्थानमा भवन निर्माण गर्ने भन्दै घरको नाप नक्सा र डिजाइन तयार गरी २ करोड रूपैयाँ निकासा गरिसकेको थियो।
राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखा प्रमुख विनोद पाण्डेले उक्त भवन र जग्गा खाली गराउन भन्दै बैंकको केन्द्रीय कार्यालयले एक महिना पहिले नै सूचना टाँस गरेको र सोमबार प्रहरीले त्यहाँ रहेका बोर्ड, झण्डा र ब्यानर हटाएपछि आफूहरूले ताला लगाएको सेतोपाटीलाई बताए।
बम विस्फोटबाट क्षतिग्रस्त भएको उक्त भवन भत्काएर नयाँ भवन निर्माण गर्न केन्द्रीय कार्यालयले ४ महिनाअघि नै टेण्डर गरिसकेको उनले बताए।
‘केन्द्रीय कार्यालयले अरू दर्जन शाखाजस्तै बुटवल शाखा कार्यालय पनि १५ करोडको लागतमा निर्माण गर्ने गरी ४ महिना पहिले नै टेन्डर प्रक्रियामा लगिसकेको छ। अब प्रहरीले खाली गराए पछि भवन निर्माणको काम पनि केन्द्रीय कार्यालयले नै सुरू गर्छ,’ उनले भने।
बुटवलको मुटुमा ११ कट्टामा रहेको करोडौं मूल्यको सरकारी सम्पत्ति विप्लव नेतृत्वको नेकपाले कब्जामा लिए पनि भवनको प्रवेशद्धार खुल्ला रहँदाभित्र लागुऔषधका दुर्व्यसनीको अखडा बनेको थियो।
भवनको गेट बाहिर टायर मर्मत गरिदै आएको थियो भने भित्र पुराना र थोत्रा टायर राख्ने गरिएको थियो। तत्कालीन नेकपा माओवादी विभाजन नहुँदासम्म पार्टीको भेला तथा बैठक यही भवनमा सञ्चालन गरिए पनि वैद्य माओवादी र विप्लव माओवादी विभाजन भए पछि भने भवनमा पार्टीको बोर्ड र झण्डामात्र टांगिएको थियो।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले राष्ट्रिय वाणिज्य बैंकको दायित्वमा रहेको उक्त भवनमा टाँगिएका कुनै पार्टीका झण्डा र बोर्ड हटाएर वाणिज्य बैंकलाई नै जिम्मा लगाइएको बताए।
‘हामीले त्यहाँ टाँगिएका बोर्ड र झण्डालाई हटाएर सो भवन राष्ट्रिय वाणिज्य बैंकलाई हस्तान्तरण गरेका छौं, अब त्यसको संरक्षणको जिम्मा वाणिज्य बैंकको हो बैंकले सुरक्षाको आवश्यकता महशुस गरेको खण्डमा प्रशासनले सुरक्षाकर्मी उपलब्ध गराउँछ,’प्रजिअ रानामगर सेतोपाटीसँग भने।
यता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले आफ्नो कार्यालय रहेको रातो घर प्रहरीले खाली गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उक्त पार्टीका जिल्ला ईन्चार्ज र सेक्रेटरीद्वारा जारी विज्ञप्तिमा कार्यालयको ताल्चा फोडेर पार्टीको झण्डा, ब्यानर साइन बोर्डलगायत महत्वपूर्ण सामग्री प्रहरीले कब्जा लिएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाइएको छ।
जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटरी अमर आरसीद्वारा जारी विज्ञप्तिमा वाणिज्य बैंकले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत रहेको जनाईएको छ ।
यस विषयमा बुझ्न विप्लव नेतृत्वको नेकपाका जिल्ला तथा केन्द्रीय तहका नेता सबैका मोबाइल स्वीच अफ रहेकाले सम्पर्क गर्ने सेतोपाटीको प्रयास सफल हुन सकेन।