प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन्। कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोतसाधन र जनशक्तिको सदुपयोग गरेर समृद्ध मुलुक बनाइने दाबी गरे।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणघाट सडक खण्डको स्तरउन्नतीको शुक्रबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल उर्वरभूमि भएको देश हो, यहांको धर्तीमा वन, जंगल, फलाम, तामाखानी, खोलानाला, खनिज, पेट्रोल, सुन जस्ता धातुका खानी प्रशस्तै छन् कसैसँग मागेर खानुपर्दैन ।’
प्रधानमन्त्री ओलीले मागेको सहयोगले दिगो विकास नहुने भन्दै नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको तर्क गरे। ‘हाम्रा कलाकारहरुले उहिल्यै पनि मागेको रोटीले मेरो पेट भरिन्न भन्ने गीत गाउँथे, हामी मगन्ते होईनौं, मागेको भरमा होईन कुनै साथीभाइ/ मित्रहरुले सहयोग गर्छन् भने गर्छन्, होईन भने गौरवपूर्ण पूर्खाका सन्तान हामी आफै मिलेर देश बनाउँछौं।’
प्रधानमन्त्री ओलीले अब देशमा अशान्तिको युग समाप्त भई सुशासनको युग शुरू भएको बताए। उनले देशमा आतंक सिर्जना गर्नेलाई निषेध गरेको बताउँदै अब देश सुशासन र विकासको बाटोमा अगाडि बढ्ने समेत बताए। ‘अब विखण्डन र अशान्तिको अवस्था छैन कसैले बम पड्काउन, अशान्ति मच्चाउन, मान्छे मार्न, उत्पात मच्चाउन पाईदैन प्रतिबन्ध लगाईएको छ अटेर गरे कारबाही हुन्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले २०७५ सालदेखि २०८० साल सम्मलाई सडक युगको रुपमा बनाईने दावी गरे। आगामी ५ वर्ष देशभरका नयाँ पुराना सडकको निर्माण र स्तरउन्नतीलाई व्यापक बनाईने बताउँदै उनले २०८० देखि २०८५ साललाई फेरि सुरूङमार्गको युगको रुपमा बनाईने बताए।
प्रधानमन्त्री ओलीले बुटवल नारायणघाट सडकसँगै बुटवलदेखि पश्चिमको सडक पनि यसैगरी विस्तार गरिने बताए। प्रधानमन्त्री ओलीले निर्माण सामाग्रीको अभावको कारण कुनै पनि निर्माण कार्यमा अवरोध नहुने भन्दै समयमा निर्माण कार्य पुरा गर्न पनि आग्रह गरे। ‘प्राकृतिक श्रोत साधनले भरिपूर्ण देशमा निर्माणका काममा निर्माण सामग्रीको अभाव हुन दिँदैनौ, पहाड काटेर भए पनि पुरा गर्छौं,’ उनले भने ।
उनले विकास र वातावरणको सन्तुलन मिलाउँदै विकासका कामलाई अगाडि बढाउन स्थानीय तहहरुलाई आग्रह गरे। ‘तपाईंहरु वातावरणको सुरक्षा पनि गर्नुस् विकास निर्माणका काम पनि गर्नुहोस्, एकातिर ध्यान दिँदा अर्कोतिर अप्ठ्यारो नपरोस्,’ उनले भने ।
कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पूर्व पश्चिम राजमार्गसँगै सिद्धार्थ राजमार्गको स्तरउन्नतीको लागि पनि सरकारले योजना बनाउनुपर्ने बताए। मुख्यमन्त्री पोखरेलले बुटवलदेखि पूर्वको सडकसँगै पश्चिमतर्फको सडक विस्तार गर्न पनि आग्रह गरे ।
पूर्व अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीलाई विकासको रोलमोडलको रूपमा विकास गरिने बताए। उनले यो सडक तोकिएको समयमा पुरा गर्नेसँगै गुणस्तरमा ध्यान दिन निर्माण कम्पनीलाई आग्रह गरे।
भौतिक पूर्वाधार तथा विकास मन्त्री रघुविर महासेठले तोकिएको ४२ महिनाको अवधिमै सडक निर्माण हुने दाबी गरे।
सडक स्तरउन्नतीका लागि एशियाली विकास बैंक सडक निर्देशनालयले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता गरी निर्माणको जिम्मा दिएको छ।
सहरी क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेन तथा कतिपय क्षेत्रमा ३ लेन सम्म गरी स्तरउन्नती गर्न लागिएको बुटवल–नारायणगढ खण्डको निर्माण कार्य अन्तरगत पहिलो चरणको विस्तारको काम २०८० साउन २२ मा सम्पन्न हुनेछ।
उक्त सडक निर्माण सम्पन्न भएपछिको ४ वर्ष अर्थात २०८४ साउन २१ सम्मको मर्मत सम्भारको काम निर्माण कम्पनीले गर्ने गरी सम्झौता भएको छ।
बुटवलबाट नारायणगढसम्म १ सय १३ किलोमिटर दुरी रहेको सडक एशियाली विकास बैंकको ३२ वर्षे ऋण सहयोगमा विस्तार हुन थालेको हो। सडक निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ रहेको छ। त्यसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ।
एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको एडीबीको आयोजना निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार उक्त सडकको निर्माणलाई सहज बनाउन गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर र दाउन्नेदेखि बुटवल चौराहासम्म ४८ किलोमिटर गरी दुई खण्डमा विभाजन गरिएको छ।
पहिलो खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको बुटवल–नारायणगढ सडक सुधार आयोजनाले जनाएको छ ।
अहिले दुई लेनको रहेको बुटवल–नारायणगढ सडकको २ लेनको बीचमा तीन मिटरको ‘ग्रिनरी’ भाग रहनेछ भने दायाँबायाँ रहने मुख्य सडक ७–७ मिटरको बन्नेछ। जोखिमपूर्ण पहाडी क्षेत्र रहेको दाउन्ने खण्डको १२ किलोमिटरमा भने ३ लेनको मात्र सडक हुनेछ।
बुटवलदेखि गैंडाकोटसम्म सडकको दुवै किनारामा रहेका झन्डै ११ हजार रुख काट्नुपर्ने भएकाले त्यसको प्रक्रियासमेत अघि बढेको आयोजनाले जनाएको छ।