प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट तथा कार्यक्रम तयारीमा लाग्न मन्त्रालयको नेतृत्वलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री पोखरेलले तल्ला निकायलाई परिचालन गर्न नसक्दा बजेट कार्यान्वयन हुन नसकेको भन्दै बजेट कार्यान्वयनमा तल्लो निकायलाई परिचालनका लागि केन्द्रित हुन निर्देशन दिएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको मन्त्रालयगत दोस्रो चौमासिक समिक्षा कार्यक्रममा निर्देशन दिँदै मुख्यमन्त्रीले भने,‘अबको समय अलि मेहेनत गर्दा बजेट कार्यान्वयन राम्रो गर्न सकिन्छ, आगामी वर्षको बजेट राम्रो बनाउनका लागि अहिलेदेखि नै तयारीमा लाग्नोस्।’
मुख्यमन्त्री पोखरेलले वर्षा लाग्न थालेपछि बल्ल मर्मत सम्भारको काम गर्दा त्यतिकै बजेट मात्र खेर जाने भएकोले आगामी वर्ष वैशाख महिनापछि मर्मतको काम नगर्ने गरी योजना बनाउन निर्देशन दिए।
‘मर्मत सम्भारको काम वर्षा सकिएलगत्तै असोजदेखि मंसिरसम्म गर्ने हो, जेठ असारमा वर्षासँगै गरिएका मर्मत सम्भार टिकाउ हुँदैनन्,’ उनले भने,‘आगामी वर्षदेखि वैशाखपछि मर्मत सम्भारका काम नगर्ने नीतिमा जानुस्।’
मुख्यमन्त्री पोखरेलले मागका आधारमा नभइ प्रतिफल दिने आयोजनामा बजेट विनियोजन गर्ने गरी मन्त्रालयको नेतृत्वले बजेट र कार्यक्रम तयार गर्न निर्देशन दिए।
‘साना आयोजना स्थानीय तहले गर्ने हो, ठूलो आयोजना संघीय सरकारले गर्ने गरी सिफारिस गर्नुपर्छ, मझौला खालका र प्रतिफल दिने आयोजनाका लागि बजेट विनियोजन गर्ने गरी तयारी गरौं,’ मुख्यमन्त्री पोखरेलले भने।
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आयोजना प्रमुख र मातहतका कार्यालय प्रमुखसँग समय मिलाएर नियमित छलफल गर्न र अनुगमन गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिए।
‘नियमित छलफल गर्ने र अनुगमनमा जाँदा समस्या पहिचान गरी समाधान गर्न सजिलो हुन्छ, ‘त्यसो गर्दा पनि समस्या समाधान नभए मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी दिएर समाधानको लागि पहल गरौं।’
उनले मन्त्रालय र मातहतको कार्यालयमा चाहिने संगठन संरचना व्यवस्थापनका लागि अवधारणा तयार गरी मन्त्रिपरिषद्मा छलफलमा ल्याउन आग्रह गरे।
अहिले माथिबाट तयार गरी पठाएको संगठन संरचनाले कार्यालय व्यवस्थापन र बजेट कार्यान्वयनमा समस्या भएको मन्त्रालयहरूको गुनासो आएपछि मुख्यमन्त्रीले एक वर्षको अनुभवका आधारमा चाहिने संगठन संरचनाको अवधारणा तयार गर्न निर्देशन दिएका हुन्।
उनले मन्त्रालयगत प्रगति समिक्षा सुनेपछि प्रणालीले विधिलाई खोज्ने, कार्यालय र संगठन संरचना भए/नभएको नखोज्ने भएकाले सरकारको कामको जिम्मेवारी र अख्तियारी माथि हुने बताए।
‘तल संरचना नभएको अवस्थामा स्वतः जिम्मेवारी र अख्तियारीमाथि हुन्छ’, उनले भने,‘अनेक समस्या देखाएर बजेट कार्यान्वयनबाट पन्छिन मिल्दैन।’
समिक्षा कार्यक्रममा विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरूले कर्मचारी समायोजन समयमा हुन नसक्दा योजना कार्यान्वयनमा सबभन्दा बढी समस्या देखिएको बताए।
समायोजनमा कहाँ परिन्छ भन्ने कर्मचारीहरूको मनोवृत्तिका कारण चालू आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुँदा पनि योजना कार्यान्वयनमा उल्लेख्य प्रगति हुन नसकेको उनीहरूले बताए ।