नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘हदैसम्मको’ कारबाही गर्न माग गर्दै पार्टीको अनुशासन समितिमा उजुरी परेको छ।
पार्टी हितविपरीत सभापति देउवाले काम गर्दै आएको दाबी गर्दै महासमिति सदस्य राजेन्द्र बजगाईंले बिहीबार पार्टी कार्यालयमा उजुरी दर्ता गराएका हुन्।
बजगाईं गोरखाबाट तीन पटकसम्म महासमिति सदस्य जितेका तथा गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र १ को ‘ख’ बाट पराजित भएका थिए।
अनुशासन समितिका संयोजक कांग्रेस केन्द्रीय समिति सदस्य भीष्मराज आङ्दम्वेलाई सम्बोधन गर्दै लेखिएको उजुरी अनुशासन समितिले ११५ नम्बरमा दर्ता गरेको छ।
‘पार्टीको दस्तावेजमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गरेर गौरवमय इतिहास कायम गरेको छु भनी उल्लेख गरिनु पार्टीको सिंगो इतिहास बंग्याउनु हो। निर्वाचन गराउनुलाई इतिहासको रुपमा पार्टीमा दर्ज गराउनु प्रधानमन्त्री र पार्टी सभापति भइसकेको व्यक्तिका लागि शोभनीय होइन,’ बजगाईंले उजुरीमा लेखेका छन्।
सभापति देउवाले विगतमा सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिको प्रचुर दुरुपयोग गरेको बजगाईंको आरोप छ।
‘तमाम अलोकप्रिय कदमले पार्टीदेखि जनपंक्ति निराश छन्,’ बजगाईंले भनेका छन्, ‘दोस्रो संविधानसभाबाट पहिलो बनेको पार्टीलाई हार गराउनु भएको छदैँछ।’
पूर्वसभापति सुशील कोइरालाको 'स्पिरिट'अनुसार देउवाले काम गर्न नसकेको पनि उनले उल्लेख गरेका छन्।
केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका संसदीय दलका नेता देउवाले सर्वसम्मत किन पारित गरेको भनेर पनि बजगाईंले प्रश्न गरेका छन्।
‘प्रतिपक्षले नीति तथा कार्यक्रम पारित गरेर संसदीय मर्यादामा चोट मात्र पुगेन कि सिंगो पार्टीको साख गिरेको छ,’ बजगाईंले भनेका छन्, ‘यसकारण सभापति देउवालाई कांग्रेसको विधानअनुसार हदैसम्मको कारबाही गरियोस् भनी माग गर्छु।’
गोरखाको मसेल घर भएका बजगाईं पर्यटन व्यवसायी समेत हुन्। उनी महामन्त्री शशांक कोइराला निकट मानिन्छन्। कांग्रेस अनुशासन समितिले पार्टी हितविपरीत काम गर्नेविरुद्ध चैतभित्र निवेदन दिन आह्वान गरेपछि बजगाईंले सभापति देउवाविरुद्ध नै उजुरी दिएका हुन्।