न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनालाई सिफारिस गरेको छ। मंगलबार बिहान बसेको परिषद् बैठकले करियर न्यायाधीशबाट दुई जना र वकिलबाट तीन जनालाई न्यायाधीशमा सिफारिस गरेको हो।
परिषद्का सूचना अधिकृत टेकनाथ गौतमका अनुसार सिफारिस हुनेहरूमध्ये उच्च अदालत पाटनका मुख्यन्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्यन्यायाधीश सुष्मालता माथेमा छन् भने वकिलबाट बरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा छन्।
न्यायाधीश सिफारिस भएका अधिवक्ताहरूमध्ये रेग्मी नेपाली कांग्रेस निकट हुन् भने फुयाँल नेकपानिकट मानिन्छन्। फुयाँल केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भएका थिए। न्यायाधीश सिफारिस शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा हुन्। प्रधानन्यायाधीश हुँदा शर्माले मनोजलाई पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त गरेका थिए। २०७२ सालमा संविधान बनेपछि अतिरिक्त न्यायाधीशको पद नराखेकाले उनी पदमुक्त भएका थिए। त्यसयता उनी वकालतमा सक्रिय थिए।
सिफारिस भएकाहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि न्यायाधीश बन्नेछन्।
आजकै बैठकले १८ जनालाई विभिन्न उच्च अदालतमा न्यायाधीश सिफारिस पनि गरेको छ।
उच्च अदालतका न्यायाधीशमा सिफारिस हुनेहरूमा नायब महान्यायाधीवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल छन्।
त्यस्तै यसअघि पुनरावेदन अदालतमा अतिरक्त न्यायाधीश बनेकी निलम पौडेल, सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका मोहम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी, पर्साका नगेन्द्रलाल कर्ण उच्च अदालतका न्यायाधीशमा सिफारिस भएका छन्।
अधिवक्ताहरूबाट सात जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ। अधिवक्ताहरू जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया न्यायाधीश सिफारिस भएका छन्।
उच्च अदालतमा सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीशले पदमा नियुक्त गर्ने व्यवस्था छ।