प्रमुख प्रतिपक्षी दलका सांसद विनोद चौधरी यही चैत १६ गते लगानी सम्मेलनको समापन समारोहमा बोल्न मञ्चमा गए।
सम्बोधन क्रममा उनले 'नीतिगत तथा व्यवस्थापकीय सुधार गरेर नेपालले लगानीको वातावरण छ भन्दै विश्वभर सकारात्मक सन्देश दिएको' बताए।
सम्बोधनको सुरुआतमै सरकारलाई धन्यवाद दिँदै भने, ‘लगानी सम्मेलन गर्न ठिक समय छानेकोमा म सरकारलाई धन्यवाद दिन चाहन्छु।’
चौधरीले २५ वर्ष लामो राजनीतिक संक्रमण पार गरेर यहाँसम्म आइपुगेको सन्देश संसारलाई दिनुपर्ने समय आएको उल्लेख गर्दै भने, ‘हामीसँग स्थिर सरकार छ। यो सरकार सन् १९९२ मा नेपालले सुरू गरेको आर्थिक सुधारको काम अघि बढाउन प्रतिबद्ध छ।’
सम्मेलनलाई सम्बोधन गर्दा चौधरी सबैभन्दा ठूलो लगानी सम्झौता आफ्नो समूहले गरेकोमा सबैभन्दा बढि उत्साही थियो।
चौधरी समूहमा आबद्ध कम्पनीले सम्मेलनमा एक खर्ब रूपैयाँभन्दा धेरैको लगानी सम्झौता गरेको छ। सौर्य ऊर्जा, लजिस्टिक पार्क, फाइनान्स र दूरसञ्चार क्षेत्रमा लगानी गर्न चौधरी समूहले उक्त सम्झौता गरेको हो।
त्यसमध्ये दूरसञ्चार क्षेत्रमा चौधरी समूहले भित्र्याएको लगानीको कथा रोचक छ।
चौधरी समूह नेपालको दूरसञ्चार क्षेत्रमा छिर्न लामो समयदेखि प्रयत्नरत थियो। धेरै वर्षअघि एउटा भारतीय कम्पनीसँगको साझेदारीमा उसले दूरसञ्चारमा हात हाल्ने प्रयास गरेको थियो। त्यो प्रयास धेरै अघि बढेन।
तैपनि चौधरी समूहका अध्यक्ष विनोद चौधरीले यो क्षेत्रमा छिर्ने सपना छाडेनन्।
२०७४ सालमा नेपाली कांग्रेस र नेकपा माओवादी नेतृत्वको संयुक्त सरकार बेला आधारभूत सेवा चलाउन उनको सिजी टेलिकमले लाइसेन्स लियो।
एमालेका पूर्व सांसद रहेका चौधरी कांग्रेस प्रवेश गरेपछि एमालेसँग उनको सम्बन्ध राम्रो थिएन। विशेषगरी चुनाव बेला नेपाली कांग्रेसका नेताहरूसँगै हेलिकप्टरमा विभिन्न जिल्लामा भाषण गर्न हिँडेपछि एमाले नेताहरू उनीसँग रिसाएका थिए।
चुनावमा बहुमत ल्याएर नेकपाको सरकार बनेपछि चौधरीले अघि बढाउन खोजेको दूरसञ्चार परियोजनाप्रति सरकार सकारात्मक बनेन। नेपालमा पनि भारतको जिओ टेलिकमले जस्तै आक्रामक रणनीति बनाएर अघि बढ्ने उनको योजना रोकियो।
चौधरीलाई नजिकैबाट चिनेका व्यवसायीहरू भन्छन्, ‘विनोद चौधरीको खासियत नै के हो भने, उनी कहिल्यै हार मान्दैनन्। आफूले देखेको सपना पछ्याउन कुनै न कुनै उपाय खोजिरहन्छन्।'
सिजी टेलिकमका लागि पनि उनी त्यस्तै उपायको खोजीमा थिए।
लगानी सम्मेलनमा उपाय निस्कियो।
सम्मेलन आयोजना गरेको सरकार विदेशी लगानी ल्याएको देखाउन आतुर थियो। विनोदले मौका छोपे।
उनले आफ्नो समूहका अरू तीन आयोजनासँगै दूरसञ्चार आयोजना पनि मिसाइदिए।
चौधरीले सिजी लाइफसेलका नाममा नेपालमा फाइभजी सेवा सञ्चालन गर्न टर्किस टेलिकम कम्पनी टर्कसेलसँग सम्झौता गरे। दुई कम्पनीबीच २५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ।
जुन कम्पनीबाट उनले फाइभजी सेवा चलाउने भनेका छन्, त्यसले लाइसेन्स नै पाएको छैन। वर्तमान सरकार गठनपछि उनको सिजी टेलिकमको काम पनि अघि बढ्न सकेको छैन।
सिजी टेलिकमको काम अघि बढेको भए पनि उनले टर्कसेलसँगै मिलेर गर्ने दुई कम्पनीबीचको समझदारी थियो।
लगानी सम्मेलनमा सिजी लाइभसेलका नाममा भएको सम्झौतालाई अघि बढाउन अब सरकार नैतिक दबाबमा हुनेछ। लगानी सम्मेलन गर्ने तर आएको लगानी दुरुत्साहित गर्न सरकारलाई सजिलो हुने छैन।
सम्मेलनमा साढे पाँच मिनेट बोलेका चौधरीले सम्बोधनको अन्तिममा अप्रत्यक्ष रूपले त्यस्तो नैतिक दबाब सिर्जना गरिसकेका छन्।
सम्बोधन अन्त्य गर्दै उनले भने, ‘उत्साहजनक सहभागिता, नीतिगत सुधार र राम्रो व्यवस्थापनले सम्मेलन त सफल भयो तर सरकारको वास्तविक काम बल्ल सुरू भयो।’
उनले थपे, 'यहाँ भएका समझदारीलाई कति छिटो र कसरी सहजीकरण गरिन्छ, यसले हाम्रो सफलताको मापन गर्छ।’
अहिले सम्मेलनमा आएका लगानीकर्ता नेपालका लागि संसारभर दूत हुने पनि उनले दोहोर्याए।
त्यसको तात्पर्य प्रस्ट थियो— उनीहरूको लगानीलाई सरकारले सहजीकरण गरेन र उनीहरूले बाधा व्यहोरे भने संसारभरका लगानीकर्तालाई त्यसको राम्रो सन्देश जाने छैन।
सत्तासीन पार्टीसँग सम्बन्ध बिग्रेका कारण अप्ठ्यारोमा परेको आफ्नो टेलिकम परियोजनालाई लगानी सम्मेलनमार्फत् चौधरीले चतुर्याइँपूर्वक 'सेफल्यान्डिङ' गराएका छन्।