ठेकेदारहरू कतिसम्म लापरबाही गर्न सक्छन् भन्ने सुर्खेतको एउटा घटनाले उजागर गरेको छ।
वीरेन्द्रनगरमा निर्माणाधीन सडकको नाला खन्ने क्रममा उपत्यकामा वितरण भइरहेको खानेपानीको पाइप फुट्यो। पाइपबाट निस्किएको पानीले भर्खरै खनेको नाला भरियो।
निर्माण जिम्मा पाएको ठेकेदार कम्पनीले केही समयपछि लेदो माटो सफै नगरी यसै ढलान गरिदियो।
धन्न नगरपालिकाले बेलैमा सुइँको पायो, नभए ढलान पूरा हुन नपाउँदै नाली भत्किन सक्थ्यो।
नगरपालिकाले खबर पाउनेबित्तिकै निर्माण क्षेत्र अनुगमन गरेको थियो। अनुगमन क्रममा गुणस्तर नभएको भेटेपछि ठेकेदार कम्पनी आशिष/श्याम एन्ड शंकर जेभीलाई उक्त संरचना भत्काएर नयाँ बनाउन पत्र काटिएको छ।
पत्र पाएलगत्तै निर्माण कम्पनीले ढलान भत्काएर फेरि बनाउन थालेको छ।
वीरेन्द्रनगर नगरपालिका र संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयले लेदो माटोमाथि गरिएको करिब २५ मिटर ढलान बिहीबार एक्स्काभेटरले भत्काइदिएको हो।
‘खानेपानी पाइप फुटेर पानी जमेको रहेछ, पानी जमेर लेदो बनेको माटोमाथि नै ढलान गरेको पाइयो,’ संघीय आयोजना कार्यान्वयन इकाईका सब–इञ्जिनियर चन्द खड्काले भने, ‘हामीले अनुगमनपछि फेरि बनाउन भनेका छौं।’
खड्काका अनुसार त्यही नालीअन्तर्गत इँटाको पर्खालसमेत भत्काएर नयाँ बनाउन निर्देशन दिइएको छ। अनुगमन क्रममा पर्खाल सोझो नदेखिएकाले भत्काएर सोझो बनाउन निर्देशन दिइएको उनले जानकारी दिए।
वीरेन्द्रगनर नगरपालिकामा बनिरहेको हटलाइन सडक चालू आर्थिक वर्षभित्र सक्ने गरी साढे ७ करोड रुपैयाँमा ठेक्का भएर नाला निर्माणको काम भइरहेको हो।
हटलाइनअन्तर्गत विमानस्थल नजिकदेखि कालिञ्चोक, धमलाचोक, जिल्ला प्रहरी कार्यालय हुँदै गणेशचोकसम्म दुई लेनको बाटो निर्माण हुँदै छ।
नगरभित्र बनिरहेका आयोजनालाई गुणस्तरीय बनाउन निरन्तर अनुगमन गर्ने वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए।
धेरै सडक निर्माण क्रममा रहेकाले ती आयोजनाको गुणस्तरका लागि जनगुनासो सम्बोधन गर्दै अघि बढ्ने उनले बताएका छन्। ‘यस्तो काममा लापरबाही हुन नदिन आगामी दिनमा पनि लागिपर्ने छौं,’ उनले भने।