नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेकपा, नेपाली कांग्रेस र राप्रपा बाहेकका अरु राजनीतिक शक्तिहरुसंगका विचमा ध्रुवीकरण आवश्यक रहेको बताएका छन् ।
राजनीतिक शक्तिका रुपमा गैर नेपाली कांग्रेस, गैर नेकपा र गैर राप्रपा बाहेकका अरु सम्पूर्ण शक्तिसंग वार्ता, तालमेल र सहकार्य गर्दै ध्रुवीकरण गर्दै जाने बताए ।
शनिवार बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता भट्टराईले विभिन्न क्षेत्रका जाति समुदायका समस्या, नागरिकताको समस्या, भ्रष्टाचार जस्ता तत्कालिन मुद्धाहरुमा साना राजनीतिक शक्तिहरुको विचमा सहकार्य हुने र विचार मिल्ने शक्तिहरुसंग ध्रुवीकरण गर्दै जाने बताए ।
‘हाम्रो वैज्ञानिक नयाँ विचार छ र यसलाई भौतिक शक्तिका रुपमा रुपान्तरण गर्ने ढंगले नयां राजनीतिक शक्ति खडा गर्नुपर्छ भन्ने अभियानका साथ हामी अगाडी बढेका छौं’, उनले भने ।
पुराना शक्तिहरुबाट परिवर्तन सम्भव छैन र दुईतिहाई मत प्राप्त सरकारले आगामी दिनमा पनि ठोस परिणाम दिन सक्दैन भन्ने विश्वास जनतालाई परिसकेको भन्दै उनले समृद्धीका लागि नयां विचार र लक्ष्य बोकेको शक्तिको आवश्यकता रहेको बताए ।
सरकारले एकवर्षको कार्यकाल पुरा गर्दा पूर्ण रुपमा असफल भएको भन्दै उनले यो अवधिमा जनतामा सरकारप्रति निराशा पैदा भएको बताए ।
‘आफ्नो मूल्यांकन आफैले गर्दा पनि सरकार असफल भएको स्वीकार गरेको छ, एकवर्षका आर्थिक सूचकांकहरु कुनैपनि सकारात्मक भएनन्, उनले भने ‘आफैले घोषणा गरेको बजेटका लक्ष्य प्राप्त हुन सक्दैनन् भनेर सरकारले राजश्वको लक्ष्य र विकासको खर्चपनि घटाएको छ ।’
यसअघि भैरहवामा आयोजित अन्तरकृयामा बोल्दै नेता भट्टराईले भ्रष्टाचार गरी छोटो अवधिमै केही नेताहरु रातारात अर्बपति भएको आरोप लगाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले हिजोको अवस्थामा जनतासँग मागेर खाने, लत्ताकपडा लगाउने नेताहरु दश पन्ध्र वर्षको अवधिमा चिल्लो कारमा हिँड्ने, ठूला महलमा बस्ने र सामान्य हाछ्यू आएपनि सिंगापुर, अमेरिका लगायतका देशमा उपचार गर्न जाने हैसियतमा पुगेको बताए ।
कसैको पनि नाम उल्लेख नगरेका भट्टराईले आम्दानी नै नभएका नेता एकाएक अर्बपति हुनु केही न केही गडबडी भएको दावी गरे । राजनीति भनेको नीजि व्यवसाय नभएको उनले बताए ।
अब व्यवस्था परिवर्तनका लागि जेल जानुपर्ने अवस्था नरहेको बताउँदै भट्टराईले सबै सदाचारी र विधिको शासनअनुसार चल्नु पर्ने बताए । समृद्धिका कुरा मात्रै गरेर नहुने जनाउँदै उनले त्यसका लागि भ्रष्टाचार रोक्नुपर्ने, उद्योगमैत्री नीति र कानून बनाउने, विदेशी लगानी भित्र्याउनु पर्ने जनाए । मुलुकमै भएको साधनस्रोतको सही परिचालन गर्ने, राजश्स परिचालन सही ढंगले गर्ने र निर्यातमुखी नीति बनाएमा समृद्धि हासिल गर्न सकिने भट्टराईको भनाई छ ।