प्रदेश ५ सरकारले बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।
बैठकले क्यान्सर रोगको उपचार गराइरहेका प्रदेश सभाका विपक्षी दलका नेता ८२ वर्षीय बलदेव शर्मा पोखरेललाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बैठकले प्रदेशसभा सदस्यहरूको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने प्रदेश सरकारको नीतिलाई तत्कालै कार्यान्वयनमा ल्याउने निर्णय गरेको प्रवक्ता चौधरीले बताए।
स्वास्थ्य बीमापछि भविष्यमा प्रदेशसभा सदस्य र मन्त्रीहरू बिरामी हुँदा १० लाख रुपैयाँसम्म उपचारमा सरकारले सहयोग गर्नुपर्ने छैन ।
मन्त्रिपरिषद् बैठकले प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत गरेको छ । यस्तै, बाँकेको खजुरा गाउँपालिकाको केन्द्र बागेश्वरी ३ बागमती नगरमा सार्ने निर्णय भई आएकाले कार्यान्वयनका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सरकारले प्रदेश सभामा दर्ता गरेको लोकसेवा आयोगसम्बन्धी विधेयक फिर्ता लिएर संघीय सरकारको लोकसेवासम्बन्धी कानुनअनुसारकै विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृत प्रदान गरेको छ ।
बैठकले सरकारले गाउं सभा, नगरसभा कार्य सञ्चालन व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृति प्रदान गरेको छ ।