प्रदेश सभा ५ को सोमबारको बैठकमा रुपन्देहीका पत्रकार विन्दुकुमार चौहानकी छोरी अपहरणमा संलग्नहरूलाई कडा कारबाही गर्न माग गरिएको छ।
रुपन्देहीको लुम्बिनी क्षेत्रमा रही लामो सयमदेखि पत्रकारिता गर्दै आएका चौहानको १८ वर्षीया छोरी ममता चौहानको चैत २० गते राति अपहरण भएको थियो।
शारीरिक रूपमा अपांग रहेकी ममता राति अपहरण परेपछि २१ गते बिहान नेपाल-भारत सीमा क्षेत्रमा पल्टिएको अवस्थामा फेला परेकी थिइन्।
चौहानले केही समययता सीमा क्षेत्रबाट हुने गोरु तस्करीको समाचार लेखेको र सोही कारण उक्त समूहले छोरीको अपहरण गरेको किटानी जाहेरी दिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो।
प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सोही क्षेत्रकी सांसद सुनितादेवी ठठेरले पक्राउ परेको उक्त समूहलाई कडा कारबाही गर्न प्रदेश सभामार्फत् सरकारसँग माग गरेकी हुन्।
उनले समाचार लेखेकै कारण पत्रकारको अपांग अवस्थाकी छोरी अपहरण हुनु अत्यन्त निन्दनीय कार्य भएको भन्दै अपहरणमा संलग्नलाई कडा कारबाहीको माग गरेकी हुन्।
त्यस्तै, सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बैजनाथ कलवारले स्थानीय तहमा मौलाएको भ्रष्टाचारको कारण नागरिकमा संघीयताप्रति नै नैराश्यता उत्पन्न भएको भन्दै प्रदेश सरकारले भ्रष्टाचार रोक्न पहल गर्नुपर्ने बताए।
उनले समृद्ध प्रदेशको प्रमुख आधार नै कृषि क्षेत्र रहेको बताइरहँदा नवलपरासीका हजारौं उखु कृषकहरू पलायन हुने अवस्थामा पुगेको बताए।
सरकारले समयमै उखुको मूल्य निर्धारण गर्न नसक्दा किसानले लगाएको उखु खेतमै सुक्ने तथा चिनी मिलहरू बन्द हुने समस्या रहेको बताए।
सरकारले किसान र चिनी मिलका बीचको समस्या समाधान गर्नुपर्ने बताए।
त्यस्तै, शून्य समयमा बोल्दै सांसद दिनेश पन्थीले बजारमा उपभोग्य वस्तुको विक्री वितरण र कालोबजारी भइरहेको भन्दै बजारको अनुगमन गर्न सभामुखमार्फत् प्रदेश सरकारले आग्रह गरे।
बैठकमा सांसद दिपा विश्वकर्मा, रुन्धावती शर्मा, कुरमती ढेंगा र अमर बहादुर डांगीले शून्य समय लिएर समसामयिक विषयमा बोलेका थिए।
सोमबारको बैठकले प्रदेश नं. ५ तथ्यांक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं. ५ खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ।
प्रदेश ५ तथ्यांक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री शंकर पोखरेल र खानी अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले निर्णयार्थ प्रदेशसभामा पेश गरेका थिए।
प्रदेश नं. ५ प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने बैठकको कार्यसूचीबाट हटाइएको थियो।
अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ।