एक साताको संवादहिनतापछि बुधबार एकै मञ्चमा देखिएका कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कार्यकर्तामाझ एकअर्कालाई पेचिलो घोचपेच गरेका छन्।
तीन वर्षअघि महाधिवेशनमा देउवालाई सभापतिमा सघाएका सिटौला भागबन्डामा कुरा नमिलेपछि बिच्किएका हुन्। कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठनको गृहकार्य थालेपछि नै सिटौला नेतृत्वसँग रुष्ट छन्।
उनन्तीस सदस्यीय कार्यसम्पादन समिति गठन गर्न लागेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ८ सदस्य दिने गरी भागबन्डा गरे, जुन सिटौलालाई चित्त बुझेन। उनी देउवाले बोलाएको शीर्ष नेताको बैठकमा पनि गएनन्। ‘बिरामी छु, जँचाउन अस्पताल जानुछ’ भन्दै टारिदिए।
आपसमा रूष्ट यिनै दुई नेतालाई काभ्रे क्षेत्रीय समितिले भकुण्डेबेशीमा आयोजित आमसभामा एउटै मञ्चमा उपस्थित गरायो।
यो आमसभा दुई कारणले चर्चामा थियो- चन्दा उठाएर दुई करोड लागतमा पार्टी कार्यालय भवन बनाउने र देउवा-सिटौलालाई एकै मञ्चमा उभ्याउने।
आमसभामा दुवै नेताले पार्टीमा एकता चाहिएको र गुट अन्त्य गरे मात्र कम्युनिस्टहरूसँग भिड्न सकिने धारणा राखेका थिए। यति भन्दाभन्दै आपसमा घोचपेच गर्न पनि उनीहरू पछि परेनन्।
‘म त बिरामी थिएँ। हिजोदेखि बल्ल कार्यक्रममा हिँड्न थालेको। सभापतिजीले के भन्नुहुन्छ, उहाँको कुरा सुन्न यहाँ आएको,’ सिटौलाले सुरुमै सभापति देउवालाई ब्यंग्य गर्दै भने, ‘पार्टीभित्र बृहत एकताको प्रस्ताव बनाउनुहोस्।’
सिटौलाले आफू नेतृत्वका लागि तयार रहेको भन्दै त्यसमा सघाउन कार्यकर्तालाई घुमाउरो ढंगले आग्रह गरे।
‘नयाँ चेत उचाइमा पुगे मात्र कम्युनिस्टसँग भिड्न सकिन्छ,’ उनले भने।
सिटौला मञ्चमा बोलिरहँदा देउवा भने प्रवक्ता विश्वप्रकाश शर्मासँग भलाकुसारी गर्नमै व्यस्त थिए।
‘तपाईंहरूलाई साक्षी राखेर म सभापतिजीलाई आग्रह गर्छु, पार्टीभित्र सिद्धान्त, नीति र कार्यक्रमका आधारमा बृहत एकता गरेर जानुस्। एकताको मार्गचित्र निर्माण गर्नुस्,’ सिटौलाले थपे, ‘सम्पूर्ण कांग्रेसजन एक हुन तयार छन्।’
सिटौलाले नेतृत्वको आलोचना गर्दै एउटै पार्टी नेकपाबाट सभामुख, उपसभामुख भए पनि कांग्रेसले दह्रोसँग आवाज उठान नगरेको, संवैधानिक निकायमा संविधानविपरीत नियुक्ति हुँदा र सत्ताले संविधानको मूल मर्ममाथि प्रहार गर्दा पनि मौन बसेको आरोप लगाए।
सिटौलालेपछि बोल्ने पालो सभापति देउवाको आयो। उनले गुट, उपगुट अन्त्य गर्दै पार्टीभित्र एकता गर्नमा आफ्नो ध्यान केन्द्रित रहेको बताए।
‘पार्टी एक हुन जरुरी छ भनेर सिटौलाजीले भन्नुभयो। म पार्टी सभापति हो। मेरो स्वार्थ, चाहना नै पार्टी एक हुनुपर्छ भन्ने हो। मैले चाहेर मात्र हुन्न, सबैको सहयोग भए पार्टी एक हुन्छ हुन्छ,’ सिटौलातिर हेर्दै देउवाले भने, ‘तपाईं पनि आउनुहोस् सहयोग गर्नुपर्छ, पार्टी एक बनाउनुपर्छ।’
देउवाले पार्टीमा एकता हुनुपर्ने भनिरहँदा कार्यकर्ताले ताली पिटे।
‘मलाई यो भन्न मन छैन तर पार्टी एकता नहुनु नै हाम्रो पार्टीको दुर्भाग्य हो,’ देउवाले भने, ‘हाम्रो पार्टी बलियो छ तर अरूसँग लड्नै सक्दैन। इतिहास नै त्यस्तै छ, पार्टी आफैंभित्र कमजोर।’
पार्टीभित्र नेताहरूको झगडाले बहुमत ल्याएका बेला पनि काम गर्न नसकेको उनले बताए।
‘पहिलेदेखिकै झगडाले पार्टी सुध्रिएन। झगडा नै दुर्भाग्य हो,’ देउवाले भने, ‘म सभापति भएका बेला वर्षौंदेखि पार्टीभित्रका झगडा अन्त्य गर्ने मेरो पनि चाहना छ।’
पार्टी एक गराउनु नै आफ्नो स्वार्थ रहेको उल्लेख गर्दै उनले भने, ‘म पार्टी एक गराउन दत्तचित्त छु। शेरबहादुरले पार्टी एक बनायो भन्ने हुन्छ नि। कम्युनिस्टले जनतालाई दु:ख दिन खोजिरहेको छ, उनीहरूसँग लड्न पनि एक हुनु जरुरी छ।’
आमसभामा बोलेका कांग्रेसका युवा नेताहरूले भने आन्तरिक विवादभन्दा सरकारको आलोचनामा समय खर्चिए।
प्रवक्ता शर्माले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताए। उनले एउटा निर्वाचन हारेर कांग्रेस कमजोर नहुने भएकाले प्रधानमन्त्रीलाई कांग्रेसको चिन्ता नलिन आग्रह गरे।
केन्द्रीय सदस्य प्रदीप पौडेल प्रधानमन्त्री केपी ओलीप्रति आक्रमक रूपमा प्रस्तुत भए। लगानी सम्मेलनमा रासायनिक मल कारखाना खोल्ने एजेन्डा राखेका ओलीले एक सातापछि ‘काँक्रो बहुला’ भन्ने अभिव्यक्ति दिएको उनले बताए।
‘प्रधानमन्त्रीजी रासायनिक मल कारखाना खोल्ने प्रस्ताव गर्नुहुन्छ अनि रासायनिक मल हालेका काँक्रो खान हुन्न, अस्वस्थ्य हुन्छ भन्नुहुन्छ,’ पौडेलले भने, ‘यस्तोमा समृद्धिको आशा गर्न सकिन्न।’
क्षेत्रीय सभापति तीर्थ लामाले पार्टी सदस्यको सहयोगबाटै भवन बनाउने जग्गा किनेको र भवन निर्माण गर्ने बताए।
सभापति देउवाले उक्त पार्टी कार्यालय भवनको बुधबार नै शिलान्यास गरेका छन्।