तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ। गत चैत १५ र १६ गते काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय लगानी सम्मेलनमा सहभागि भएपछि उत्साहित तिलोत्तमा नगरपालिकाले नेपाल सरकारपछि पहिलो पटक लगानी सम्मेलन गर्ने दाबी गरेको हो।
तिलोत्तमा व्यापार संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरक्षेत्रमा लगानीका क्षेत्रहरु पहिचान गरि आगामी जेठ महिना भित्रमा लगानी सम्मेलन गर्ने र त्यसको तयारी भईरहेको जानकारी गराए।
नगरप्रमुख घिमिरेले भारत र चीनलगायत राष्ट्रिय स्तरका लगानीकर्ता र तिलोत्तमा क्षेत्रमा रहेको पूँजिलाई समेत परिचालन गर्ने गरी १२ देखि १५ वटासम्म लगानीका क्षेत्रहरु पहिचान गर्न सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल भईरहेको जानकारी दिए।
‘हाम्रो धेरै ठूलो अपेक्षा होईन कम्तिमा भारत र चीनका केही लगानीकर्तासँगै राष्ट्रिय र स्थानीय पूँजिलाई परिचालित गरी क्षेत्रहरु पहिचान गर्दैछौं,’ उनले भने।
घिमिरेले फोहोरमैला व्यवस्थापन, मायाँदेवी वर्थिङ सेन्टर, फलफूलमा आधारित, कृषि, पशुपालन, होटल लगायतका क्षेत्रहरुमा व्यवसायीलाई आकर्षित गर्न सकिने उनले बताए ।
नगरप्रमुख घिमिरेले सकेसम्म जेठ महिनाभित्रै लगानी सम्मेलन गर्ने गरी अर्थ मन्त्रालय र लगानी बोर्डसँग छलफल भईरहेको जानकारी दिए। भारत, चीन तथा राष्ट्रिय र स्थानीय लगानीकर्ता गरी करिब ५ सयको सहभागितामा गरिने लगानी सम्मेलनको लागि स्थानीय राजनीतिक दल र व्यवसायीक संघसंस्थासँग छलफल गरिने उनले बताए ।
तिलोत्तमा रुपन्देहीको मध्यभागमा रहेको र प्रशस्त खाली जग्गा रहेकोले लगानीको सम्भावना रहेको भन्दै उद्योग व्यवसाय सञ्चालनको लागि विद्युत, खानेपानी, सडक जस्ता भौतिक पूर्वाधारमा सहयोग गर्ने नगरपालिकाले निर्णय गरेको उनले बताए। ‘यी सँगै यहाँ स्थापना गर्ने उद्योगहरुलाई १० वर्षसम्म कर छुट दिने होकि, नक्शापासमा छुट दिने होकी यसतर्फ पनि छलफल गरौं,’ उनले भने ।
तिलोत्तमा नगरपालिकाको पश्चिम तर्फ तिनाउ नदिको उकास क्षेत्रसँगै पूर्व तर्फको रोहिणी नदि आसपासमा सयौं विगाहा खाली जग्गामा विभिन्न योजनाहरू सञ्चालन गर्ने गरी नगरपालिकाले योजना बनाईरहेको उनले बताए।
कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेलले व्यवसाय प्रवर्धनसँगै नगरको विकासमा नगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए।
उनले तिलोत्तमा नगर क्षेत्रमा व्यवसायमा मात्र १२ अर्ब भन्दा बढी निजी क्षेत्रको लगानी रहेको भन्दै लगानीको सुरक्षा र व्यवस्थीत गर्ने गरी नगरपालिकाले नीति तथा कार्यक्रम बनाउनुपर्ने बताए।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्य टंक प्रसाद पोखरेल र रूपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले सरकारले बनाउने नीति तथा कार्यक्रमले व्यापार व्यवसायमा प्रभाव पार्ने भएकोले व्यवसायलाई प्रवद्र्धन गर्ने खालका नीति कार्यक्रम बनाउनुपर्नेमा सुझाव दिए।
कार्यक्रममा नेकपाका तिलोत्तमा अध्यक्ष मोहन चापागाईं, नगर सचिव लक्ष्मण खनाल, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरूङ, सैनामैनाका प्रथम उपाध्यक्ष गणेश गौतम, ढालानन्द चालिसे, खेमराज आचार्य, सल्लाहकारहरु रोहितराज क्षेत्री, यमदत्त सुवेदी, लोकहरी श्रेष्ठ, पूर्व सल्लाहकार कृष्ण प्रसाद नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।