विप्लव माओवादी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्षहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहँदा संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठक भने सरकारबाट उल्टै सम्मानति भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको पहिलो दिन पाठकलाई प्रवल जनसेवाश्री पदकबाट सम्मान गरेकी हुन्। पाठकलाई उक्त पदकबाट विभूषित गर्न सरकारले गएको वर्ष राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो।
विप्लव नेतृत्वको नेकपा सम्बद्ध शिक्षक संगठनका आवरणमा विभिन्न गतिविधि भइरिरहेको भन्दै प्रहरीले संगठनका नेताहरूलाई पक्राउ गरेको जनाएको छ।
अध्यक्ष पाठकले भने आफूहरूको संगठन पेशागत शिक्षक संगठन भएको र नेपाल सरकार श्रम विभागमा दर्ता भई कार्य सचालन गरिरहेको बताएका छन्।
सरकारले विप्लव नेतृत्वको नेकपासँग जोडेर संगठनका जिल्ला नेताहरूलाई पक्राउ गर्नु खेदजनक र असंवैधानिक रहेको टिप्पणी गर्दै उनले भने, ‘कुनै पनि शिक्षकले पेशागत र संगठनको आडमा गैरकानुनी र गैरसंवैधानिक कार्य गरेका छन् भने उनीहरूको वकालत गर्ने पक्षमा हामी छैनौं, तर संगठनमा आबद्ध भएकै आधारमा पक्राउ गर्नु सरकारको असंवैधानिक कार्य हो।’
पाठकले अखिल नेपाल शिक्षक संगठन कुनै दलनिकट नभई विशुद्ध पेशागत संगठन भएको दाबी गरे।
‘सरकारले हाम्रो संगठनलाई बुझ्न सकेन, व्यक्तिगत रूपमा कुन व्यक्ति कोसँग नजिक छ त्यो फरक विषय हो, तर हामी कुनै पनि राजनितिक दलको भ्रातृ संगठन होइनौं,’ उनले भने।
पाठक नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा रहेको रुपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्। उक्त विद्यालयमा ५ हजार ५ सय २९ जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ३ सय ७१ विद्यार्थीले गत चैत महिनामा एसइई परिक्षा दिएका छन्।
आगामी शैक्षिक सत्रका लागि केही विद्यार्थी भर्ना गरी विद्यालयले कुल ५ हजार ७ सय विद्यार्थी संख्या पुर्याउने जनाएको छ। उक्त विद्यालयबाट एसइई लगायत कक्षा ११ र १२ को परीक्षामा सहभागी विद्यार्थीहरूको हरेक वर्षको नतिजा उत्कृष्ट रहँदै आएको छ।
पाठकलाई दोस्रो संविधानसभा निर्वाचन बेला २०७० सालमा पनि पक्राउ गरेर केही दिन हिरासतमा राखिएको थियो। सर्वसाधारणले समेत सरकारको आलोचना गरेपछि रिहा गरिएको थियो।